मेक्सिकाेविरूद्ध २–० काे जित निकाल्दै ब्राजिल क्वाटरफाइनलमा प्रवेश
काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ को प्रि–क्वाटर फाइनलमा सर्वाधिक विश्वविजेता ब्राजिलले मेक्सिकोमाथि २–० काे सानदार जित निकाल्न सफल भएकाे छ । जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।
सामारा एरिनामा भएकाे खेलमा नेइमारले ५१ अाैँ मिनेटमा गाेल गर्दै १–० काे अग्रता दिलाएका थिए । त्यस्तै ८८ अाैँ मिनेटमा नेइमारकाे असिस्टमा फर्मिनाेले गाेल गर्दै ब्राजिललार्इ २–० काे जित दिलाएका हुन् ।
पाँच पटकको विश्वविजेता ब्राजिल उपाधिको सबैभन्दा उच्च दावेदार हाे । सन् २०१४ मा जर्मनीसँग ७–१ को दर्दनाक हार व्यहाेरेकाे ब्राजिल चार वर्षपछि साविककाे विश्वविजेतालाई घर पठाएर समूह चरण पार गरेको मेक्सिकोसँग मैदानमा उत्रेकाे हाे ।
ब्राजिल भने पछिल्लो ६ वटा विश्वकपमा कम्तीमा अन्तिम आठसम्म पुगेको छ । तीमध्ये ३ वटाको फाइलन खेलेको छ भने २ पटक च्याम्पियन बनेको छ ।
म्याच फ्याक्ट्स
-ब्राजिल र मेक्सिको अहिलेसम्म ४१ पटक आमने सामने भइसकेका छन् । जसमा २४ खेलमा ब्राजिल विजयी भएको छ भने १० खेल मेक्सिकोले जितेको छ । ७ खेल बराबरीमा सकिएका थिए ।
-मेक्सिकोले विश्वकपमा ब्राजिलबिरुद्ध खेलेका पछिल्ला पाँच खेल जित्न सकेको छैन । १ बराबरी र ४ खेलमा पराजित भएको छ । साथै यी पाँच खेलमा उसले १३ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन ।
-ब्राजिल पछिल्लो पटक सन् १९९० को विश्वकपमा क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो ।