विचार

डाक्टरी पढ्न बंगलादेश गएका छात्राहरुको करणी हुने गरेको आधार के ?

डाक्टरी पढ्न बंगलादेश गएका छात्राहरुको करणी हुने गरेको आधार के ?

काठमाडौं । कक्षा आठसम्मको मात्रै औपचारिक पढाए भए पनि माता लक्ष्मीको कृपादृष्टिमा परेका झापाका मेडिकल व्यापारी दुर्गा प्रसाईंले यसपटक भनिदिए, ‘बंगलादेश पढ्न गएका एमबिबिएसका छात्राहरुलाई त्यहाँका प्रोफोसरहरुले करणी गर्छन् ।’ मेडिकल व्यापारीको यो भनाइको तरंग अझै केही दिन चल्ने नै छ । त्यसअघि यिनै प्रसाईंले भनेका थिए, ‘अनसन बस्दा एकदुई मर्छन् कुन ठूलो कुरा हो ?’ डा. गोविन्द केसी मरे पनि फरक पर्दैन भन्ने विचार राख्ने प्रसाईं अस्पताल सञ्चालक हुन् ।

 

 अस्पतालका सञ्चालकले अरु सबै कुरा बोले पनि ‘मान्छे मर्दा फरक पर्दैन’ भन्ने वाक्य बोल्न हुँदैन थियो । उनको पेशाा र धन्दाका आधारमा उनमा अलिकति पनि जिम्मेवारीबोध भइदिएको भए उनले भन्न सक्नु पथ्र्यो, ‘बिना कारण कसैको पनि ज्यान जान हुँदैन ।’ त्यति मात्रै होइन, धन्दाको असूलअनुसार पनि प्रसाईले त मर्न लागेको बिरामीलाई पनि बचाउँछु भन्नु पथ्र्यो । यस्तो आसनमा बसेका प्रसाईले नेपाली छात्राले बंगलादेशमा करणी गराउनु पर्छ भन्न भ्याए, अर्कोतिर मान्छे बचाउने धन्दामा लागेका व्यक्तिले एकदुई मान्छे मर्दा फरक पर्दैन पनि भने ।

 

प्रचण्ड र ओलीलाई चरेसको थालमा मार्सी धानको भात खुवाएको भनेर गगन थापाले संसदमा गरेको पौने एक  मिनेटको भाषणपछि प्रसाईंलाई धेरैले चिन्ने मौका पाए । सम्बन्धनको पर्खाईमा रहेको बिर्तामोडको बि एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईं जति कडा बोल्दै गएका छन्, प्रधानमन्त्री केपी ओलीको लोकप्रियताको ग्राफ उति नै तल झर्दैै गएको छ । जग्गाको कारोबारबाट एकाएक मालामाल भएका प्रसाईंसँग माओवादीले लुटेको बैंकको पैसा पनि छ भन्ने गरिन्छ ।

 

झापाको नवधनाढ्यको लहरमा एक नम्बरमा आउने प्रसाईंले आफू बैंकको ऋणमा डुबेको बताएका छन् । उनले आफ्नो कलेजले सम्बन्धन पाउनु पर्ने माग राख्दै आएका छन् । 

 

उनका एक छोराले डाक्टरी सिध्याएको र अर्को छोरी डाक्टरी पढिरहेको आफैले जानकारी दिएका छन् । आफ्नै छोरी पनि डाक्टरी पढिरहेको अवस्थामा प्रसाईंले अरुका छोरीहरु बंगलादेशमा करणी गराईरहेको अभिव्यक्ति दिन सुहाउँदैन थियो । तर उनले त्यस्तै बोले । त्यति मात्रै होइन, डा. गोविन्द केसीले बंगलादेशमा पढेको र उनी त्यहाँ फेल भएपछि अनसन बसेर पास भएर आएको आरोप पनि लगाएका छन् । 

 

शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिने लगानी मूलतः सेवाको भावनाबाट हुनु पर्ने हो । प्रसाईं तिनै अगुवाहरुका पछुवा हुन् जसले शिक्षा र स्वास्थ्यमा लगानी गरेर रातारात करोडौं कमाएका छन् । चितवनस्थित चितवन मेडिकल कलेजले मेरिट लिस्टमा परेका एक विद्यार्थीलाई दुई वर्ष अगाडि भर्ना नै दिएन । कारण स्पष्ट थियो– मेरिट लिस्टमा पर्ने विद्यार्थीले भन्दा अरु विद्यार्थीले बढी पैसा तिर्न तयार भए । कलेजले पनि क्षमतावान विद्यार्थी होइन, माल राम्रो दिने विद्यार्थी छान्यो । डाक्टर हुन चाहने सामान्य परिवारको एक विद्यार्थीको भविष्य चितवन मेडिकल कलेजले ध्वस्त पारिदियो । 

 

डाक्टरी गरिबका लागि त हुँदै होइन नेपालमा । व्यापारको गतिलो यो माध्यममा प्रसाईं पनि नाफा जम्मा गर्न नै प्रवेश गर्न लागेका हुन् । सुन, चरेस अफिमको कारोबारमा भन्दा पनि आकर्षक कमाई हुने मेडिकल शिक्षाको व्यापारमा प्रसाईंको प्रवेश सेवा होइन, कमाउ नै हो । कमाउ धन्दाका लागि यो हद पार गर्ने प्रसाईंले आगामी दिनमा मेडिकल कलेज खोल्ने अवसर पाए भने, उनले ‘एकाध मान्छेको ज्यान जानुलाई सामान्य भन्दैनन् भन्ने के ग्यारेन्टी ?, बंगलादेशमा नेपाली छात्रामाथिको कथित करणी प्रकरण नदोहोर्याउलान् भन्ने के ग्यारेन्टी ? ’ 

–टिप्पणी । 
 

विशेष