सामन्तवादमाथि पहिलो प्रहार गरेको पृथ्वीनारायण शाहले हो
निर्भीकजङ्ग रायमाझी
नेतृत्वको दुर्दशा
मानिसले जिउने क्रममा अनेकौं परिस्थितिहरूको सामना गर्नुपर्दछ । दैनिक रुपमा पनि मानिसले विभिन्न परिस्थितिको सामना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । यसैक्रममा कतिपय परिस्थितिहरूको सामना गर्न मानिस एक्लैलाई गाह्रो पर्छ । त्यसक्रममा मानिससमूहमा सामेल भएर परिस्थिति सामना गर्नपट्टि लाग्छ । यसरी सामूहिक रूपमा काम गर्दा कुनै पनि समूहमा नेतृत्वको खाँचो पर्छ । र उक्त नेतृत्व प्रदान गर्ने मानिसलाई नै वास्तवमा नेता भनिन्छ ।
नेता यसरी राजनीतिक रूपमा मात्र नभई सामूहिक रूपमा गरिने जुनसुकै व्यवहारमा पनि आवश्यकता पर्दछ । परिवारमा पनि नेताको आवश्यकता पर्दछ । संस्था र समूहमा त यो पर्ने नै भयो । यसरी छानिएको, चुनिएको वा स्वतः नेताको रूपमा अग्रसर हुने व्यक्ति नै नेतृत्वको हकदार हुन्छ । फलस्वरुप उसलाई समूहले जिम्मेवारी सुम्पन्छ । संसारभरीको नेतृत्वको सामान्य चक्र यही हो । राज्य सञ्चालनका दौरानमा पनि विभिन्न तहमा नेतृत्वको आवश्यकता पर्छ । ‘राजा मरे पनि राज्य अड्कँदैन’ भनेझैँ नेतृत्व पनि एकछिन खाली हुने स्थितिमा पुग्दैन । कोही न कोहीले नेतृत्व लिइहाल्छ ।
अनुयायीहरू नभईकन कोही पनि व्यक्ति नेता बन्न सक्तैन । एक नेताले अनुयायीहरुबाट अख्तियार प्राप्त गर्दछ, जसले उसलाई नेताको रुपमा स्वीकार्दछन् । त्यसैले अनुयायीविना नेतृत्वको कल्पना पनि गर्न सकिँदैन । नेतृत्वमा नेता, अनुयायीहरू र परिस्थितिको घनिष्ठ सम्बन्ध हुन्छ । अनुयायी (समर्थक)हरू विनाको नेतृत्व कहीँ पनि टिक्न सक्तैन । असल नेताले समूहका सदस्यहरूलाई प्रभावित गर्ने, उनीहरुको विश्वास जित्ने, अनुयायीहरूको व्यवहार, सोचाइ र विश्वासमा प्रभाव पार्न सक्नुपर्दछ । अनुयायीहरूले नेताको इच्छा बुझ्ने र उसको सुझाव, पथप्रदर्शन स्वीकार गर्ने हुनुपर्दछ । नेतृत्व भनेको अनुयायीहरूको व्यवहार तथा प्रयासलाई प्रभाव पार्ने क्षमता हो ।
नेपालको विगतदेखि वर्तमानसम्मको परिस्थितिलाई मध्यनजर गर्ने हो भने पनि सधैँ नेतृत्वको संकट देखिन्छ । यो क्रम २००७सालको क्रान्तिदेखि नै चलिआएको छ । हामीले जसलाई नेताको संज्ञा दिन्छौ, उसलाई आँखा चिम्लेर नेतृत्वको जिम्मेवारी सुम्पन्छौँ जसले गर्दा हामीलाई अनेकौँ समस्याहरूले गाँजेको छ । नेता बन्न केकस्ता गुणहरूको आवश्यकता पर्छ ? र केके गुणहरू थपिँदै जानुपर्छ भन्ने कुरामा हामीले कहिले विचार पुर्याएकै छैनौँ । फलतः हामीलाई नेतृत्वको असक्षमताले गाँज्दै शिथिल बनाइरहेको छ ।
नेपाल लामो समयदेखि संयुक्त सरकारको अभ्यासमा रह्यो । संस्कार संयुक्त सरकारको विकास भने हुनसकेन । एउटै दलको बहुमत कसैलाई पनि फापेन । यो नेपाली राजनीतिको कटु यथार्थ बन्यो । बाध्यात्मक संयुक्त सरकार नेपालको विशेषता बन्न पुग्यो । सत्ता र स्वार्थकेन्द्रीत राजनीति अर्को नयाँ राजनीतिक संस्कार बन्यो । तालमेलको आधार पनि दर्शन, सिद्धान्त, आदर्श, मूल्य र मान्यता रहेन । जे गर्दा जितिन्छ, त्यही मान्यताका आधारमा तालमेल बन्यो । देशैभर कहीँ कसैसँग त, कहीँ कसैसँगको तालमेल यस पटकको अर्को अनौठो पक्ष बन्यो । यसर्थ अहिलेको एकताको पनि कुनै पक्षबाट भविष्य उज्वल देखिएको पाइँदैन ।
हामी केमा चुक्यौँ ?
हामीले राजनीतिक संस्था मात्र अन्त्य ग¥र्यौँ तर निर्वाचन चाहिँ कुन जातिको भनेर गर्ने भयौँ । समानुपातिकमा जुन पार्टीले जति भोट पाएको हो, त्यसैको आधारमा सीट दिने हो। तर हामीले फलानो जातिलाई यति फलानोलाई उति भन्यौँ । साना पार्टीलाई ठूलो हुन प्रोत्साहन गरेनौँ । वास्तवमा सामन्तवादमाथि पहिलो प्रहार गरेको पृथ्वीनारायण शाहले हो। छरिएका बाईसे, चौबीसे सामन्ती राज्यहरूलाई एकीकरण गरेर ठूलो सामन्ती एकीकृत राज्य बन्यो। यस्तो अवस्थामा स्रोत–साधन एकीकृत हुन्छ, पूँजी सञ्चय र बचत पनि बढ्छ। उद्योग–धन्दा र विकासको बाटो खुल्छ । राजनीतिक रुपमा त्यो आधार सिर्जना गर्यो। जसले हामीलाई सामन्तवादी अर्थ व्यवस्थाविरुद्ध जान बाटो खोल्यो। अनि, सिंगो नेपाल तयार भयो।
पृथ्वीनारायणको सामन्ती एकीकरणले सामन्तवादलाई नै ढाल्ने काम गर्यो। त्रिचन्द्र कलेज र दरबार स्कूलको कुरा गर्दा पनि राणा शासकहरूले क्याम्पस खोलेपछि आफ्नो चिहान आफैं खने भनिन्थ्यो । आखिर राणा शासकलाई त्यस्तै भयो पनि । माक्र्सले पनि भनेका छन्– ‘पूँजीवादले आफ्नो चिहान आफैँ खन्छ।’अर्थात् हरेक शासकले सत्मार्ग निर्माण नगरी आफ्नो चिहान आफैँ खने ।
हामीले नेपाललाई समग्रतामा हेर्दा चिज के छ भनेर हेर्नुपर्छ । बहुसंख्यक के छ? केले प्रभाव पारेको छ? भनेर हेर्नुपर्छ । नेपालको संस्कृतिको मूल आधार के हो भन्ने हेर्नुपर्छ । भारतसँगको हाम्रो सम्बन्ध यस्तो छ जसले गर्दा हामीले आफ्ना सम्पूर्ण कठिनाइ भारतमा निर्यात गरिदिन्छौँ । बिरामी पर्यो, भारत जान्छौँ । पढ्न पाएनौं भारत गइदिन्छौंँ । हाम्रो बेरोजगारी भारत निर्यात गरिदिन्छौँ ।
राजनीतिक परिपक्वताको अभावमा विकासको मार्ग फराकिलो बन्न सक्तैन । अर्कोतर्फ नेपालमा आजसम्म मुलुकको सर्वांगीण विकासको लागि चाहिएको सही नेतृत्व कस्तो हो भन्ने सवालमा खासै बहस हुन सकेको छैन । इतिहासले भन्छ, नेपालको आजसम्मको शासकीय राजनीति सत्ता प्राप्तिको वरिपरि मात्रै केन्द्रीत रह्यो । नेतृत्व निर्माण वा विकासको सवालमा मनग्गे बहस हुनुपर्ने हो तर यस मुद्दामा न सार्वजनिक रूपमा न त राजनीतिक दलभित्र वा आन्तरिक रूपमै बहस भएका छन् ।
यो सत्य हो कि असल नेतृत्वबिना कुनै पनि राज्यको विकास सम्भव छैन । राज्यभित्रै पनि स्थानीय तहदेखि नै सक्षम नेतृत्वको तह भयो भने मात्र राष्ट्रिय नेतृत्व शक्तशाली हुन्छ । अन्यथा नेतृत्वमा दुर्बलता आई सडकमा गाडी चलाइरहेको डाइभ्ररले आँत्तिएर भीरतिर गाडी लगेजस्तै देश पनि असहज परिस्थितिको जन्जिरमा पर्दछ । यसपछि देशको आर्थिक, सामाजिक र मानवीय सञ्जालहरूमा नै खलबल पुग्दछ ।
यही लेख लख्दै गर्दा ट्विटर खोलेँ । नीलाम्बर आचार्यको ट्वीट देखेँ । संयोगले उहाँको ट्वीट पनि नेतृत्वकै बारेमा रहेछ । असाध्यै मन छोयो र यहाँ राखेँ –
‘नेतृत्व कुशल हुनुपर्छ। व्यवस्थापन दक्ष हुनुपर्छ । लक्ष्य प्रस्ट हुनुपर्छ । साधन र बाटो उपयुक्त अपनाउनुपर्छ। संस्था र पद्धति राम्रो र बलियो बनाउनुपर्छ । पद्धतिमा काम हुनुपर्छ । प्रक्रिया मिच्न हुँदैन। नियममा रहनुपर्छ– सफलता आउँछ ।’
हो, नेतृत्व नै राष्ट्रको सर्वोच्च भाग्यनिर्माता हो भन्नेमा कुनै दुईमत छैन ।