‘थर्ड क्लास’ चिनियाँ सामानलाई गुणस्तरीय भन्दै लुट्दै
काठमाडौं । काठमाडौंका केही स्थानहरुमा ‘मिनिसो’ नामका चिनियाँ सामानहरु पाइने मिनी मार्केट देख्नु भएको छ ? छैन भने ख्याल गर्नुहोला तपाईले अब देख्नु हुनेछ । दरबारमार्ग, केएल टावर, बानेश्वर, सिभिल मल आदि स्थानमा मिनिसो स्टोर खुलेका छन् । जापानी र चिनियाँ उद्यमीको लगानी रहेको चिनियाँ सामानको मिनिसो स्टोरहरु विश्वभर खुलेका छन् ।
नेपालमा पनि त्यही चेन बिजनेसका रुपमा स्थापना गरिएका छन् । तर फरक के छ भने अन्यत्र सस्ता चिनियाँ सामान बेच्ने स्टोरका रुपमा मिनिसो लोकप्रिय छ भने नेपालमा कमसल वस्तु महंगो मूल्यमा बिक्री गर्ने स्टोरका रुपमा बद्नाम हुँदैछ । स्थापनाको छोटो समयमै नेपाली उपभोक्ताको ध्यान तानेको मिनिसोका अधिकांश सामान गुणस्तरहिन छन् तर मूल्य चर्को रहेको उपभोक्ताहरुले नै गुनासो गरेका छन् ।
तीनकुने बस्ने रामेछापकी सम्झना श्रेष्ठले भनिन्, ‘मैले तीन वटा हेडफोन किनेँ । घर ल्याउँदा एउटाले काम गरेन । अर्को भाँचियो । ती सबै सामानको मूल्य बजारमा पाइने अरु चिनियाँ सामान भन्दा तेब्बर छन् । ’
नयाँ बानेश्वरका सुशान्त पौडेलले २४० रुपैयाँमा एक प्याकेट रेजर किने । एक प्याकेटमा ६ वटा रेजर थिए । ब्लेड फेर्न नमिल्ने ती रेजरहरुको प्रति एकको मूल्य रु.४० छ । पौडेलले भने, ‘जिलेटकै युज एन्ड थ्रो यस्तै किसिमका रेजरले ५–६ पटक दाह्री काट्छ । त्यसको मूल्य २० मात्रै छ । तर मिनिसोबाट किनेको रेजरले एक पटक पनि काटेन । दुखायो मात्रै । ’
उनले ती रेजर अझै आफूसँग सुरक्षित रहेको बताए । उनले भने, ‘यो मिनिसो लुटाहाहरुको ग्याङले चलाएको रहेछ जस्तो लाग्यो । प्राक्टिकल गरेरै मिनिसो गुणस्तरहीन सामान बिक्रेता हो भन्ने प्रमाणित गरिदिन सक्छु ।’
मिनिसोका अधिकांश सामान हेर्दा आकर्षक लाग्छन् । तर गुणस्तरमा भृकुटीमण्डमा पाइने भन्दा कुनै अर्थमा फरक नदेखिएको ठगिएका उपभोक्ताहरु सुनाउँछन् ।
पानी बोक्न स्कुले विद्यार्थी अक्षताले ३५० मा आधा लिटर अटाउने बोतल किनिन् । त्यो भन्दा राम्रो गुणस्तरको बोतल अन्यत्र नै ३ सय रुपैयाँमा भेटिएपछि अक्षताले ठगिएको महशुस गरिन् । भनिन्, ‘मामुले कराउनु भयो ।’
विदेशमा ख्याती कमाएको भए पनि नेपालमा मिनिसोका स्टोरहरु उपभोक्ता झुक्याउने थलो जस्तो भएका छन् । अधिकांश उत्पादन हेर्दा आकर्षक लाग्छन् । मूल्य पनि चर्को छ । तर गुणस्तर राम्रो नभएको आम उपभोक्ताको गुनासो छ ।
यस सम्बन्धमा बुझ्न मिनिसोका सञ्चालकसँग सम्पर्क गर्ने कोसिस गरिएको थियो तर सफल हुन सकेन ।