‘बुर्का लगाएका महिला देख्दा अचम्म मानेर किन हेर्ने ?’ (भिडियोसहित)
काठमाडौं । बुर्का अर्थात् पर्दा मुस्लिम समुदायका महिलाहरूले साधारण पहिरन हो । यो कपडा कालो रङको हुन्छ । यसको आफ्नै परम्परागत सामाजिक र धार्मिक मान्यता रहेको छ । बुर्का पक्कै पनि चर्चा र अचम्मको विषयवस्तु होइन । तर, नेपालमा अल्पसंख्यक मुस्लिम महिलाहरूले लगाउने गरिएको बुर्कालाई लिएर अनौठो र अचम्मको मानेर चर्चामा ल्याउने कोसिस गरिन्छ ।
जुन वास्तवमा सही चाहिँ होइनन् । बुर्का लगाएकी महिलाहरूलाई देख्ने बितिक्कै टोलाएर र अचम्म मानेर हेर्ने गरेको स्वयं मुस्लिम महिलाहरूले गुनासो गर्ने गरेका छन् । यस्तो किन हुन्छ, कसरी हुन्छ ? भन्ने विषयमा बुर्का र त्यसको परम्परागत मान्यतासम्बन्धी नेपाल आजले नेपाल मुस्लिम वुमेन वेलफेयर सोसाइटीकी अध्यक्ष सीमा खान र शिक्षिका गुड्डी परविनसँग कुराकानी गरेर बुर्का प्रथाको विषयमा विशेष प्रकाश पार्ने कोसिस गरेका छौं ।
नेपाल आजकी अर्कना खातुनसँग कुराकानी गर्दै सीमाले भनिन्, ‘पर्दा भनेको इस्लामको आदेश हो ।’
बुर्का भनेको के हो प्रश्न भन्ने गर्दा उनको भनाइ थियो, ‘बुर्का मुस्लिम महिलाको पहिचान हो, पर्दा हो । इस्लाममा यसलाई युनिफर्मको रूपमा बनाइएको छ । भन्ने हो भने मुस्लिम समुदायकी महिलाहरूले आफ्नो अनुहार र शरीर ढाक्ने ड्रेसलाई बुर्का भनिन्छ । इस्लाममा कसिलो लुगा लगाउनु हुँदैन् त्यसको विकल्पमा पर्दा स्वरूप निकालिएको हो ।’
कालै हुनुपर्ने हो त ?
खान भन्छिन्, ‘होइन, बुर्का कालै नै हुनुपर्छ भन्ने पनि छैन । जुन रङको लगाए पनि हुन्छ । खासमा प्रायः रङ्गीन लगाउँदैनन् । किनभने रङ्गीनले धेरै आकर्षण गर्छ । जस्ले गर्दा पुरुषहरूको आँखा गइहाल्छ । र, इस्लाममा महिलाहरूलाई अरू पुरुषको अगाडि आकर्षकको केन्द्र नबन्न भनेकाले महिलाहरूले कालो बुर्का लगाउँछन् । र, यो इस्लाम महिलाहरूले स्वईच्छा नै लगाउने गर्दछन् । कुनै किसिमको फोर्स गरिएको हुन्न् ।’
सीमा भन्छिन्, ‘मलाई त्यो बेला धेरै दुःख लाग्छ जब पढेलेखेका विज्ञहरूले बुर्का किन लगाउँछौँ भनेर प्रश्न गर्छन् । हाम्रो आँखा त खुल्ला हुन्छ नि र पढ्नको लागि आँखा चाहिन्छ । र, बोल्नलाई मुख खुलेकै हुन्छ । मुखबाधेको हुन्न नि । बुर्काले कसैलाई पछाडि पारेको छैन ।’