कभर स्टोरी

वरिष्ठ डा. भन्छन्, ‘आँखामा मलाई पट्टी बाँध्न दिनुस्, अनि रवि लामिछानेको ‘शो’मा बालकलाई लैजानूस्’

वरिष्ठ डा. भन्छन्, ‘आँखामा मलाई पट्टी बाँध्न दिनुस्, अनि रवि लामिछानेको ‘शो’मा बालकलाई लैजानूस्’

काठमाडौं । न्युज ट्वान्टी फोर टेलिभिजनको चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का कार्यक्रम सञ्चालक रबि लामिछानेले ‘मिराकल ब्वाय’भनेर प्रस्तुत गरेका ११ वर्षका अबिरल पोख्रेलको मामिलालाई एक बरिष्ठ चिकित्सकले हावादारीको संज्ञा दिएका छन् । 

 

रबि लामिछानेले सीधा कुराकोे २५० औं भागमा अद्भूत र विलक्षण प्रतिभा भएका बालक भन्दै अविरललाई आफ्नो शोमा ल्याएका थिए । अविरलको आँखामा पट्टि बाँधेर उनलाई फरक फरक रङका वस्तु चिन्न लगाइयो । उनले पट्टी बाँधेकै अवस्थामा ती वस्तुका रङ भनिदिए । मोबाइलको स्क्रिन छामेको भरमा उनले फोटो कसको हो भन्ने पत्ता लगाए । त्यति मात्रै होइन उनले कागजमा छापिएको अक्षर पनि छोएरै पढिदिए । 

 

आजसम्मको मेडिकल साइन्सको अध्ययनका क्रममा कहिल्यै यस्तो सेन्स भएका मानिस कतै भेटिएका छन् ? नेपालका वरिष्ठ चिकित्सक डा. जागेश्वर गौतम भन्छन्, ‘आजसम्म यस्तो कतै पनि भेटिएको छैन । दावी गर्नेहरु संसारमा छन् तर यस्तो मिराकल आजसम्म भएको रेकर्ड छैन । किनभने देख्ने भनेको आँखाले हो, औंलाले होइन । यदि ती बालकको आैंलाले देख्छ भने उसको औंलामा आँखामा हुने अंगहरु (नानी, रेटिना आदि) हुनुपर्छ । नत्र सम्भव छैन ।’

 

डा. गौतमका अनुसार कुनै पनि वस्तुबाट उत्पन्न हुने प्रकाश हाम्रो आँखासम्म आउँछ, आँखाले वस्तुको आकृति दिमागसम्म पुर्याउँछ, अनि दिमागले विश्लेषण गरेर वस्तु चिन्छ । उनी भन्छन्, ‘अब भन्नुस्, औंलाको भरमा कसरी वस्तु चिन्न सकिन्छ ?’


डा. गौतमले आफूले सो कार्यक्रम नहेरेको तर विज्ञानको दृष्टिले यस्तो सम्भव नरहेको उल्लेख गरे । उनले भने, ‘कसले के के नौटंकी गर्छन् त्यता नजाउँ । पट्टी बाँध्न मलाई दिनूस् अनि रवि लामिछानेको कार्यक्रममा बालकलाई लैजानूस् न । पर्दा खुलिहाल्छ ।’

 

डा. गौतमले बालबालिकालाई सिर्जनशील काममा लगाउनु पर्नेमा झुठो प्रचारबाजीमा उपयोग गर्ने उनका अभिभावक गलत रहेको टिप्पणी गरे । उनले भने, ‘यस्ता हावादारी काम गर्न आफ्ना बालबालिकालाई उक्साउने अभिभावक गलत हुन् । आमसंचार माध्यमले पनि राम्रो परीक्षण गरेर यस्ता विषयवस्तु  प्रशारण  गर्नु पर्छ । यो मेरो सुझाव हो ।’

 

कृष्णदासजी महाराजका सम्बन्धमा पनि डा. गौतमले टिप्पणी गरेका थिए । गौतमले त आफूले बनाएको खाल्डो र बाकसमा अन्नपानी बिना केही दिन बसेर देखाउन कृष्णदासलाई चुनौती दिएका थिए । कृष्णदासले डा. गौतमको चुनौती स्वीकार गर्न सकेनन् ।

 

यो मामिलामा कुरा गर्न नेपालआजले अविरलका बाबुको नम्बरमा फोन गरेको थियो । तर फोन उठेन ।

विशेष