यी हुन् सीआईबीका तीन अपरेसन : यौन दुराचारीदेखि भीओआईपीसम्म
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन वटा अपराधमा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कारागारमा जैविक विषादी प्रयोग गरी हत्या, यौन दुराचार र अन्तर्राष्ट्रिय कल बाइपासका घटनाका अभियुक्तलाई मंगलबार सीआईबीले सार्वजनिक गरेको हो । सीआईबी निर्देशक डीआईजी नारायणसिंह खड्काले ती घटनालाई सुक्ष्म रूपमा केलाउन थप अनुसन्धान भइरहेको जानकारी दिए ।
घटना १- जैविक विषादी प्रयोग गरी हत्या
कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा २० वर्षको कैद भुक्तान गरिरहेका थिए, बर्दिया ठाकुरद्वारा-५ का भक्तबहादुर सुनार । उनले कारागारको बेथिति र अनियमितताबारे गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखे । पत्र पठाएकै दिन उनलाई जैविक विषादी मिसाइएको खाना खुवाइयो ।
तत्काल पाटन अस्पताल पुर्याएका सुनारको दुई दिनपछि उपचारकै क्रममा मृत्यु भयो । योजानाबद्ध रूपमा भएको रहस्यमय मृत्युबारे अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाइयो ।
अनुसन्धानका क्रममा मुख्य योजनाकार अभिषेकराज सिंह पक्राउ परे । सिंहले जैविक रसायन मिसाइएको खाना खुवाएर सुनारसहित हालसम्म तीन जनाको हत्या गरिसकेको खुलेको छ ।
सिंहका सहयोगी सप्तरी बैरवा-८ का मनोजकुमार चौरसिया र दोलखा बैतेश्वर-६ का ध्रुवकृष्ण शर्मा सीआईबीको नियन्त्रणमा छन् । चौरसिया बैंकिङ कसुरमा पाटन उच्च अदालतले पाँच वर्ष कैद र २८ करोड रुपैयाँ जरिवाना तोकेर नख्खु कारागारमा सजाय भोगिरहेका अभियुक्त हुन् । शर्मा चोरी मुद्दामा जेल सजाय भोगिरहेका अभियुक्त हुन् ।
घटना २- फ्रान्सेली यौन दुराचारी
यौन दुराचारमा संलग्न दुई फ्रान्सेली नागरिकलाई पनि सीआईबीले पक्राउ गरेको छ । पक्राउ परेकामा क्रिस्टोफ ग्युलक्स तथा मिसेल चुपाऊ छन् । मिसेलले आफ्नो नाम डेनिस र माथ्यु पनि बताउने गरेका छन् ।
एक वर्षदेखि नेपाल आउजाउ गर्दै आएका दुवै जना काठमाडौं मनोहरामा डेरा लिएर बस्थे । स्थानीय बालकहरूलाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको खुलेको छ । प्रहरीले खोजी गर्दै गरेको सुइँको पाएर भाग्दै गर्दा दुवै गौशालाबाट पक्राउ परेका हुन् ।
डेनिस सन् २००४ मा फ्रान्समा यौनजन्य क्रियाकलापमा संलग्न भई सजाय पाइसकेका व्यक्ति हुन् । यस्तै, क्रिस्टोफले विभिन्न समयमा नेपाल आई बालबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराउँदै आएका थिए । उनीहरूविरुद्ध हालसम्म पाँच जना पीडितका अभिभावकले उजुरी दिएका छन् ।
घटना ३- कल बाइपास
सीआईबीले स्थापनादेखि नै अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी)विरुद्ध अपरेसन सञ्चालन गर्दै आएको छ । त्यसको पछिल्लो घटना हो, ७ साउनमा चितवनको भरतपुर र काठमाडौं चन्द्रागिरि नगरपालिकाबाट ठूलो परिमाणमा बरामद भएका भीओआईपीका सामान ।
पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा-११ का विजय गुरुङ र भरतपुर-१६ का सुनिल अधिकारी छन् । उनीहरूले भरतपुर-१० चारतले चोकस्थित नारायण पौडेलको घरबाट भीओआईपीको धन्दा सञ्चालन गर्दै आएको खुलेको छ । अभियुक्त गुरुङले चन्द्रागिरि-५ हाइभिजन कोलोनीस्थित नारायण श्रेष्ठको घरबाट पनि भीओआईपी धन्दा चलाइरहेको फेला परेको छ ।
बंगलादेशी नागरिक मिर्जा शाहिर आलम तुर्जोले ढाकामा मुख्य सर्भर सञ्चालन गरी नेपालका चितवन, बुटवल र काठमाडौंका विभिन्न स्थानमा अवैध भीओआईपी सञ्चालन गरिरहेको अनुसन्धानका क्रममा खुलेको छ । बंगलादेशी नागरिक तुर्जो ढाकास्थित टिकियो स्क्वायरनजिक बस्ने गरेको प्रहरीले पत्ता लगाएको छ ।
पक्राउ परेका गुरुङ र अधिकारीको साथबाट भीओआईपीमा प्रयोग हुने १५ सय ६१ थान सामग्रीहरू बरामद भएका छन् । नेपाल टेलिकम र एनसेलका रिचार्ज कार्डहरू, राउटर, केबल, सिम कार्ड, इन्भर्टर, मोबाइल सेटलगायत सामग्री बरामद भएको सीआईबीले जनाएको छ ।