बेलायत भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टोलीकाे तेस्रो अभ्यास खेलमा सहज जित
काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज जित हातपारेको छ । तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११लाई २२३ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।
नेपालले दिएको ३३९ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन–११ले ३८.५ ओभरमा सबै विकेट गुमाँदै मात्र ११५ रन जोड्न सक्यो । सन्यासको घोषणा गरिसकेका नेपालकालागि शक्ति गौचनले ४ विकेट लिएका थिए भने करण केसी र ललित भण्डारीले समान २,२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अनिल कुमार साहको शतकीय इनिङ्समा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३३८ रन उच्च योगफल बनाएको थियो ।
अनिलले ११८ बलमा १९ चौका र ३ छक्काको मद्दतमा १ सय ३१ रन बनाए । यसैगरी शरद भेषावाकरले ९८ रन जोडे । कुनै समय ५८ रन जोड्दा तीन विकेट गुमाइसकेको नेपालका लागि अनिल र शरदले चौथो विकेटको लागि २१२ रनको साझेदारी गर्दै उच्च योगफल तयार पारे ।
क्रिकेट बेलायत भ्रमण