प्रधानमन्त्रीनिवासको भिड घटाउनै पर्छ
प्रधानमन्त्री निवास जाने अवसर धेरै दिनपछि मात्र केहिदिन अघि जुर्यो । मेरो आफ्नो निजी कामभन्दा पनि अहिलेको जल्दोबल्दो बिषय डा. गोबिन्द केसीको लामो समयसम्मको अनसनमा पनि वार्ता हुन नसकेको अवस्थामा आफैलाई साह्रै पीडा भएपछि केहि सुझावसहित बालुवाटार छिर्ने बिचार आयो । यहि सिलसिलामा झापा जिल्लाका राष्ट्रियसभाका सदस्य हरिचरण शिवाकोटीजीको सहयोगमा भित्र छिर्ने अबसर पाएँ । प्रधानमन्त्रीको निजी निवासमा पुग्दा त्यहाँका बैठक प्रायः सबै भरिभराउ थिए । करिब ३ घण्टासम्म बैठकमा प्रतीक्षा गरी सकेपछि प्रधानमन्त्रीले आफ्नो निजी सचिबमार्फत तल झरेर आगन्तुकहरु सँंग भेटघाट गर्न थाल्नुभयो ।
एकजना सभासदसहितको डेलिगेसनले आफ्नो क्षेत्रमा भएको सरकारी जग्गा मालपोत हाकिमसमेतको मिलेमतोमा व्यक्तिलाई बेचेको कुरा राखेर त्यसलाई सार्बजानिक पार्क बनाउने कुरा राख्नुभयो । त्यसपछि मैलेपनि आफुसँंग लगेको केहि महत्वपूर्ण बुँदासहितका सुझाब लेखेको कागज प्रधानमन्त्रीलाई दिएर डा. गोबिन्द केसीको मागका बिषयमा छलफल शीघ्र अघि बढाइयोस भने । त्यसकालागि सरकारले एक कदमपछि हटेर भएपनि संसदमा पेश गरेको स्वास्थ्य शिक्षा बिधेयक फिर्ता लिएर भए पनि गोबिन्द केसीको अनसन टुटाएर वार्ता अघि बढाउन अनुरोध गरेंँ । माथेमा आयोगको प्रतिवेदन लागू गर्दा जनता र सरकार दुबैलाई फाइदा हुनेछ । त्यसभित्रका केहि बुंँदा दुबै पक्षको छलफलद्वारा थपघट गर्न सकिन्छ भनेँ । अर्को एउटा बिषय थियो एपार्टमेन्टपीडितको लागि बनेको आयोगको अध्यक्षको पद लामो समयदेखि खाली थियो जसकोलागि सम्बन्धित मन्त्री र सचिबलाई भेटेर बारम्बार ताकेता गर्दा पनि काम अघि बढेको थिएन । त्यो बिषयमा पनि शिघ्र अध्यक्षको पदपूर्ति गरिदिन अनुरोध गरेको थिएँ ।
प्रधानमन्त्रीलाई भेट्न जानेमा झापाका सभासदसहितका डेलिगेसनको टिमले स्थानीय निकायले बिभिन्न कार्यमा धेरै बिषयमा जनतालाई मारमा पर्नेगरि बढाइएका कर सम्बन्धमा रहेछ । जुन बिषयमा संचार माध्ययमा पनि प्रसस्त आइरहेको थियो । त्यहि दिन भारतीय कलाकारसहितको टिम पनि प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमै पुगेको रहेछ ।
आजको प्रमुख बिषयबस्तु भनेको प्रधानमन्त्रीनिवासमा यस्ता भिड बढ्नुको कारण बारेमा मेरो लेख केन्द्रीत छ । हाम्रो सिस्टमले सहि तरिकाबाट काम नगरेकोले गर्दा पनि मन्त्रीनिवासदेखि प्रधानमन्त्रीनिवासमा पनि भिड लाग्ने गरेको छ । यदि सम्बन्धित मन्त्रालय र यसका कर्मचारीले नियमकानुनको सहि रुपमा सदुपयोग गर्दै जनताको काम गरिदिने हो भने जनता र जनताका प्रतिनिधिले मन्त्री तथा प्रधानमन्त्री निवास धाउनु पर्ने थिएन ।
सरकारका योजनाहरुलाई सहि समयमा कार्यान्वयन गर्न सकेमा बिकासका कार्यहरु अघि बढ्नेछन् र रोजगारीका अबसरहरु पनि बढ्ने छन् । तर सरकार र यसका अंगहरु जनताका आधारभूत कुराहरुमा पर्ने गुणस्तरिय शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक यातायातमा प्राथमिकता दिनुपर्नेमा भविष्यमा बिस्तारै गर्न सकिने रेल, पानी जहाजमा जोड दिएर अलमालमा परेको देखिन्छ । शहरको फोहोर अहिलेसम्म ब्यबस्थापन गर्न सकेको छैन । जनता सबै कुराको शिघ्र प्रतिफल चाहन्छन् तर सरकार अझै पनि आश्वासन बाँडेरमात्र आत्मरसत लिने कार्य गर्दैछ ।
सबभन्दा पहिला महँगी र भ्रष्टाचारले अक्रान्त पारेको समाजलार्ई जनताले शीघ्र प्रतिफल पाउने गरी सरकारले कार्यन्वयन गरेर देखाउनु पर्यो । जनताले छिटो प्रत्यक्ष फल पाउने कार्य सरकारले नगरेको र डा. गोबिन्द केसीको मागलाई शुरुमै बेवास्ता गरेको कारणबाट सरकारको लोकप्रियता घट्दो छ ।
प्रधानमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्ने भनेकै मन्त्रीहरु तथा विशिष्टतहमा बसेका सचिबलगायतका प्रमुखहरु हुन् । सरकारमा बसेका नेताहरु भाषणमुखी होइन अब कार्यमुखी हुन अत्याबश्यक छ । यदि सम्बन्धित मन्त्री र सचिबमात्र इमान्दार, सक्रिय तथा जनताप्रति समर्पित हुने हो भने धेरै समस्या समाधान हुनेछ ।
प्रधानमन्त्रीले सबैतिर हेर्न र निगरानी गर्न भ्याउन सकिदैन र संभब पनि छैन । उहाँले खाली निर्देशन दिनेमात्र हो कार्यन्वयन गर्ने कर्मचारी नै हुन् । तर हाम्रा कर्मचारीतन्त्र अझैपनि पुरानै शैली र मानसिकतामा चलेका छन् । यसलाई पूरा रुपमा बदल्नै पर्छ । त्यस्का लागि राम्रो काम गर्नेलाई पुरुस्कार र काम नगर्ने र भ्रष्टचार गर्नेलाई तुरुन्त सजाय दिन सक्नुपर्छ ।
प्रधानमन्त्रीनिवासमा कुनै पनि बिदेशीलाई भेटघाट गर्न दिनु उचित हुंँदैन । त्यसका लागि परराष्ट्रमार्फत प्रधानमन्त्री कार्यालयमा मिलाउनु पर्छ । खासगरी भारतीय राजदूतलगायत भारतीयहरु सिधै प्रधानमन्त्रीनिवासमा जाने पुरानो प्रथा रोकिनु पर्छ । दलका सदस्यलाई पार्टी कार्यालय र अन्य अत्याबश्यक ब्यक्तिहरुलाई प्रधानमन्त्री कार्यालयमा भेट्न उचित हुनेछ । धेरै ब्यक्तिहरु जागिर र सबैधानिक निकायमा नियुक्तिको लागि आउने हुनाले यस्ता सबै पदहरुमा खुला प्रतिस्पर्धाको व्यवस्था गरिदिने हो भने पनि प्रधानमन्त्री क्वाटरको भिड घट्ने छ । सायद नेपालमात्र होला प्रधानमन्त्रीनिवासमा यसरी भिडभाड गराएर आफन्त, कार्यकर्तादेखि बिदेशीसम्मलाई सजिलै भेट्न दिने । यसरी निजी निवासमा भएका महत्वपूर्ण बोली र कार्यको रिकर्ड कस्ले कसरी राख्न संभव होला ? यसतर्फ प्रधानमन्त्री तथा सम्बन्धितले बेलैमा गम्भीर भएर सोचेमा भविष्यमा राम्रो परम्परा बस्नेछ ।
(लेखक नेपाली सेनाका पूवमहासेनानी हुन।)
इमेल : [email protected]