कभर स्टोरी

बोर्ड बैठकमा विद्यासुन्दर एक्लिए, रानीपोखरी सेनालाई नदिन उपमेयर हरिप्रभाले लिइन् अडान 

बोर्ड बैठकमा विद्यासुन्दर एक्लिए, रानीपोखरी सेनालाई नदिन उपमेयर हरिप्रभाले लिइन् अडान 

काठमाडौं । आफ्नो वाचाअनुसार काम गर्न नसकेको भनेर चौतर्फी आलोचनाको सिकार भएका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य महानगरको बोर्ड बैठकमा एक्लिएका छन् । 

 

रानीपोखरी र बागदरबारको पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारीमा रहेका विद्यासुन्दरको योजनामा उपमेयरसहित बोर्ड सदस्यहरुले चिसो पानी खन्याइदिएका छन् । महानगरपालिकाले गठन गरेको विज्ञसहितको टोलीले रानीपोखरीको पुनर्निर्माण मल्लकालीन शिखर शैलीमा हुनुपर्ने र परम्परागत विधि अपनाइनु पर्ने जस्ता सुझाव दिएको थियो । सो सुझावमा पुरातत्व विभागले असहमति जनाएको छ । जसका कारण रानीपोखरीको पुनर्निमाण अलपत्र अवस्थामा छ । 

 

रानीपोखरीलाई स्विमिङ पुल जस्तै बनाउने मेयर शाक्यको योजनाको चौतर्फीविरोध भएपछि विज्ञसहितको अध्ययन समिति गठन भएको थियो । 

 

शुक्रबारको बोर्ड बैठकमा उपमेयर हरिप्रभा खड्गीले भनिन्, ‘यति शक्तिशाली महानगरपालिका र जनताले छानेका जनप्रतिनिधि हुँदा हुँदै एउटा रानीपोखरीको पुनर्निर्माण हामीले बनाउन सक्दैनौं भने हामीलाई जनताले चुनेको के अर्थ ? यदि हामी पुनर्निर्माण गर्न सक्दैनौं भने पहिले आफैंले आफूलाई असक्षम घोषणा गरौं, अनि सेनाको जिम्मा लगाऔं । हैन भने सेनालाई काम जिम्मा दिने योजनाको म घोर विरोध गर्छु ।’

 

बोर्डका अधिकांश सदस्यले नेपाली सेनासँग पुराना सम्पदा पुनर्निर्माणको अनुभव नभएको र सेनासँग सम्बन्धित कामका विज्ञ पनि नभएको तर्क पेश गरेका थिए । 
बागदरबारका विषयमा पनि बोर्डमा जोडतोडका साथ कुरा उठेको छ । बागदरबार भत्काएर अर्को बनाउन तत्काल आवश्यक नरहेको मत अधिकांश सदस्यले राखेका छन् । उनीहरुले धेरै खर्च गरेर अर्को भवन बनाउनुको सट्टा रेट्रोफिटिङ गर्दा हुने सुझाव दिए । 

 

रानीपोखरी, बादरबार, वशन्तपुर क्षेत्रलगायतका सम्पदा संरक्षणका लागि काम गरिरहेको सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले भने, ‘हामीले निरन्तर पुरानो पहिचान कायम राखेर पुनर्निर्माण होस भन्ने माग गर्दै आएका छौं । तर महानगर वा भनौं विशेषगरी मेयरज्यु हाम्रो मागमा सकारात्मक हुन सक्नु भएको छैन ।’ 
 

विशेष