स्वार्थी मिडियाले बिगारेको देश
अहिले नेपालमा व्यक्तिपिच्छे, पार्टीपिच्छे मिडिया सञ्चालन गरेको पाइन्छ । नेपालमा जति मिडियाको विकास भयो उति नै मिडियामाथिको विश्वास हराउँदै गएको पाइन्छ । तर यो पक्कै पनि लोकतन्त्रका लागि सुखद विषय भने होइन ।
अहिले नेपालमा दैनिक रूपमा प्रकाशन हुने राष्ट्रिय स्तरका पत्रिका पनि त्यति विश्वासिला मानिएका छैनन् । कारण हो पार्टीगत कार्य सम्पादन अभ्यस्त हुनु र समाचारमा निजी तर्क अघि सार्नु । वर्तमान घटना तथा दुर्घटनामा आधारित समाचार हेर्दा सम्पादकहरू नै यो विषयमा मुछिएका छन् ।
एउटै समाचारमा पनि हेर्दा कतिपय मिडियाहरूमा हेडलाइनले प्रवाह गर्ने सूचना एक, समाचारको मूल विषयवस्तु अर्को हुन्छ भने कतिपय समाचारमा व्यक्तिगत पेटबोली मिसिएको पाइन्छ ।
अहिले मिडियाहरूले छापेका हरेक समाचारलाई स्वतन्त्र सूचना तथा सन्देशका रूपमा लिन नसकिने बनाइसकेका छन् । आफूअनुकुल एजेन्डा सेटिङ गरी राज्यसँग वार्गेनिङ् गर्ने र त्यसलाई जनस्वास्थ्यको दुहाई दिने सञ्चार माध्यमको प्रवृत्ति नागरिकका लागि निकै घातक बन्न थालेको छ ।
मिडियाको गल्ती
पत्रकारिताको धर्म जस्तोसुकै विषयवस्तुलाई पनि सकारात्मक ढंगले पाठकवर्गहरू समक्ष पु-याएर सुसूचित र जनचेतना जगाउनु हो । पत्रकारले लेखेको समाचार पाठकका लागि सूचनाको स्रोत, उत्प्रेरित गर्ने स्रोत र समाज विकास लक्षित हुनुपर्छ ।
अहिले सूचना त धेरै छिटो पुग्छ तर मूल विषयवस्तु हराएर मात्र । पत्रकार तथा मिडियाले आफू बिक्न उत्तेजित समाचार मात्र बनाउने काम गरिरहेकोे देखिन्छ । उदाहरणका लागि कुनै नेता तथा उच्चपदस्थ व्यक्तिले कुनै प्रसंग कोट्याइदिँदा त्यहाँ प्रत्येक मिडियाको फरक फरक समाचार बन्छ । त्यो कुन प्रसंगमा किन बोलियो भन्ने विषयवस्तु नै नसमेटेर उत्तेजित कुराहरूको मात्र समाचार बनाएर बजारमा बिकाउने मिडिया प्रवृत्तिले धेरै व्यक्तिको छवि नै धमिलिएका कैयौं उदाहरण छन् ।
त्यस्तै अरूको समाचार ‘कपि पेस्ट’ गर्दै बिकाउ गर्ने मिडियाहरूले समाजमा झन् आतंक नै मच्चाउन थालेका छन् । कतिपय मिडिया यस्ता छन् कि जनतालाई उत्तेजित पार्न फलानो ठाउँबाट आयो दुःख खबर, फलानो ठाउँबाट आयो खुसीको खबर जस्ता हेडलाइनमा नराखी समाचार नै बनाउँदैनन् । यसरी समाचारमा विज्ञापन जस्तो विकाउ शैली राखेर मिडियाको छवि बिगार्ने मिडिया नै हुन् ।
अर्को कुरा पार्टीगत र व्यक्तिगत अनलाइन तथा पत्रिकाले पनि पाठकमा ठूलो भ्रम फैलाइरहेका छन् । धेरैलाई थाहा भएकै कुरा हो । नेपालमा पार्टीले चलाएका नेपालका ठूला–ठूला समाचार एजेन्सी नै छन् । जसले अर्को व्यक्ति तथा पार्टीको छवि धमिल्याउन कुनै कसुर बाँकी राख्दैनन् ।
अहिले ट्रेन्डिङ कुरा के छ भने व्यक्ति–व्यक्तिको कुरा पार्टी–पार्टीको कुरा अनलाइन मिडियाबाट समाचारका रूपमा दोहोरी बनाइँदैछ । पाठकहरूमा भ्रम छर्ने काम विशेषगरी अनलाइन समाचार एजेन्सी र युट्युबबाट बढी भएको देखिन्छ ।
पाठकहरू सबैलाई पूरै समाचार वा भिडियो हेर्न समय नहुने, इन्टरनेट नहुने वा केही असहज वातावरण हुने जस्ता कारण हुन्छन् । तर मिडियाहरूले मेरो विषय वस्तु हेरोस्, सेयर गरोस् वा बिकोस भन्नेमात्र उद्देश्य बोकेर मात्र हेडलाइन, थम्बनेल बिगारेका हुन्छन् ।
एक उदाहरण डा. गोविन्द केसीको यो पटकको अनशनमा दुई साता पुग्दै थियो । नेपालका प्रायः जसो मिडियाहरूले आफ्नो गृहपृष्ठमा लगभग एउटै समाचार बनाए– डा. केसी बोल्न नसक्ने भए, मुटुमा समस्या देखियो ।
तसर्थ यी सबै मिडियामा प्रकाशित समाचारको पेटबोलीको सार थियो, गोविन्द केसी अन्तिम अवस्थामा पुगिसके, इसाराबाहेक चल्दैन, केसीले आँखाबाट मात्रै पुलुक्क हेर्न सक्छन् ।
केसीको स्वास्थ्यलाई नै ध्यानमा राखेर सरकारले स्वास्थ्यकर्मीको टोली पठायो, टोलीलाई केसी समर्थकले भेट्न र स्वास्थ्य परीक्षण गर्न दिएनन् । केसीको स्वास्थ्यलाई नै ध्यान दिएर सरकारले उनलाई काठमाडौं ल्यायो ।
जसलाई दैनिक अखबारहरूले ‘एउटा सत्याग्रहीको अपहरण’ शीर्षकमा सजाए । केसीलाई काठमाडौं ल्याउने क्रममा कर्णालीको अस्पतालमा के के भयो, त्यो देखिएकै छ र सञ्चारमाध्यमले के प्रस्तुत गरे, त्यो पनि देखिएकै छ । सरकारले के गर्नुपथ्र्याे वा के गर्नु हुँदैनथ्यो, त्यो बहसको अर्काे पाटो हो ।
तर, हाम्रा दैनिक अखबारका समाचारहरूको झूट त्यसको ५ दिनपछि गोविन्द केसीले नै ब्यवहारबाट प्रस्तुत गरिदिए । उनी बोल्न नसक्ने भएको भन्दै ५ दिन अगाडि पस्केका सूचना झूटा सावित गरिदिए । अनशनको १९ औं दिनमा झन्डै पाखुरा सुर्केको शैलीमा गोविन्द केसीका मुखबाट चर्काे स्वरमा निस्केका ‘टाउको काटेर आएको, हत्यारा, डनको नाइके’ जस्ता शब्दहरूले मिडियाका समाचारहरूलाई झूट सावित गरिरहेको थियो ।
त्यस्तै गायक टंक बुढाथोकी र असोक दर्जीको कुरा हेडलाइनबाटै बिग्रिएको छ । उता अलिक समय भयो नृत्य निर्देशक तथा कलाकार शंकर बिसी जस्ता कलाकारहरूले पनि मिडियाकै कारण दुःख पाए ।
देशमा भइरहेको राजनीतिक अस्थिरतामा पनि मिडियाहरूको ठूलो हात छ । मिडियाहरू सबैले यो कुरा सबैभन्दा ध्यान पु¥याउन आवश्यक छ कि हाम्रा पाठकहरू मिडियाभन्दा निकै अगाडि पनि छन् र पछाडि पनि छन् ।
जो मिडियादेखि अगाडि छन् । उनीहरू पढेर, बुझेर मात्र समाचारमाथि सही तर्क दिन्छन् । जो मिडियाभन्दा पछाडि छन् उनीहरू समाचार पढ्दै नपढी, बुझ्दै नबुझी प्रतिक्रिया दिन तम्सन्छन् । मिडियाको समाचार गलत सावित गरिदिन्छन् तर यसको असर गलत हुन जान्छ ।
पाठकको गल्ती
जे एस मिलको ‘मार्केट प्रेस अफ आइडिया’ ले सञ्चारमाध्यमलाई हाटबजारका रूपमा लिन्छ । जहाँ सबै वस्तुहरू हाटबजारमा हुन्छन् र कुन वस्तु किन्ने अधिकार ग्राहकको हुन्छ ।
ग्राहकले अब यति सचेत भइदिनु प-यो कि बाहिर छामेर मात्र होइन पूरै खाएर टेस्ट लिन जान्नु प-यो । मिडियाले लेखेको र बोलेको भरमा उत्तेजित भएर समाचारमा टिप्पणी गर्ने वा उत्तेजित हुँदै क्याप्सन राखेर सेयर गर्ने काम बन्द हुनुपर्छ ।
अहिले पाठकहरूको ठूलो गल्ती भने उत्तेजित हेडलाइनबिनाको समाचार पढ्दै नपढ्ने र सेयर नगर्ने । र, उत्तेजित समाचारकै भरमा तथानाम गाली गर्ने । पाठहरूबीचको मतान्तरले पनि मिडिया र समाचार स्रोतलाई अप्ठेरो परेको देखिन्छ । पूरा समाचार नपढी, नहेरी वा नसुनी बेकारमा अरूलाई गाली गर्ने, अरूको अपमान गर्ने काम पाठकवर्गबाट बन्द हुन आवश्यक छ ।
आफूअनुकूल समाचार दिने, सही समाचार प्रकाशन गर्ने वा सत्यतथ्य समाचार र सूचनाका लागि मेहिनेत गर्ने मिडिया छान्नु पाठकहरूका लागि राम्रो उपाय हो ।