समाज

हेमानन्द गिरी तथाकथित शंकराचार्य हुन्ः काशी विद्वत् परिषद् 

हेमानन्द गिरी तथाकथित शंकराचार्य हुन्ः काशी विद्वत् परिषद् 

काठमाडौं । पशुपति मठको शंकराचार्यको भएको ठहर गरेर हेमानन्द गिरीलाई सम्मानपत्र दिने विश्व हिन्दु महासंघका कारण यसपटक धार्मिक क्षेत्र तरंगित भएको छ । वर्ल्ड हिन्दु फेडेरेसन नामक संस्थाले आफ्नो लेटरप्याडमा ‘हेमानन्द गिरीलाई प्रथम शंकराचार्यका रूपमा विभूषित गर्दछ’ भन्दै सम्मानपत्र प्रदान गरेको थियो । 

 

सोही सम्मानपत्रका आधारमा नेपालमा गिरीका शुभेच्छुक, यो विषयमा धेरै ज्ञान नभएका बुद्धिजीवीहरूलेसमेत पहिलो महिला शंकराचार्य नेपालबाट घोषणा भएको भन्दै प्रचार गर्न थालेका थिए । बद्री मठको मठाधीश रहेकी गिरी स्वयंले आफू शंकराचार्य रहेको दाबी गर्दै आएकी थिइन् । अहिलेको प्रचार भने ‘पहिलो महिला शंकराचार्य र पशुपति मठको मठाधीशका रूपमा सम्बोधन हुने’ भन्ने वर्ल्ड हिन्दु फेडेरेसनको सम्मानपत्रले गरिदियो । जसका कारण गलत सूचनाले बजार तताएको छ । 

 

पहिलो महिला शंकराचार्यका रूपमा प्रचार हुन थालेपछि काशी विद्वत् परिषद्ले जुलाई २३ मा एक सूचनापत्र जारी गर्दै प्रचलित परम्पराबमोजिम चार दिशाका चार शंकराचार्य मात्रै आधिकारिक रहेको स्पष्ट पारिदियो । 

 

परिषद्द्वारा जारी पत्रमा नेपालमा घोषित हेमानन्द गिरी तथाकथित शंकराचार्य हुन् । कुनै व्यक्तिलाई शंकाराचार्य छनोट गर्न स्पष्ट योग्यता र प्रक्रिया तोकिएको हुन्छ । काँची, द्वारका, पुरी र बद्रीमठबाहेक शंकराचार्यलाई मान्यता दिन मिल्दैन । 

 

परिषद्का अध्यक्ष रामयव शुक्ल, वरिष्ठ उपाध्यक्ष प्रो. वशिष्ठ त्रिपाठी र महामन्त्री प्रो. शिवजी उपाध्यायको हस्ताक्षरसहित ‘नेपालमा नियुक्त तथाकथित शंकराचार्यको सन्दर्भमा लेखिएको छ, ‘भगवतपाद आदि शंकराचार्यद्वारा भारत वर्षको चार दिशामा चार मठ स्थापित गरिएका छन् ।

 

ती मठहरूमा विधिवत अभिसिक्त वीरराग संन्यासीलाई मात्र शंकराचार्य पद हासिल हुन सक्छ । ती चार मठबाहेक अन्यत्र कुनै पनि मठमा अभिसिक्त संन्यासीलाई शंकराचार्य मान्न सकिन्न । शंकराचार्य हुनका लागि आवश्यक योग्यताबारे मठान्यायमा आदि शंकराचार्यद्वारा निर्देशन जारी गरिएको छ ।’

 

नेपाली कांगे्रेस हुँदै राप्रपाकी कार्यकर्ता रहेकी मोरङकी हेमानन्द गिरीलाई यसअघि शंकराचार्य छनोट सूचीमा राखिएको भन्दै प्रचार भएको थियो । खासमा त्यो बेला पनि उनलाई त्यस्तो सूचीमा राखिएको थिएन ।
 

विशेष