नागपोखरी सुकाउने व्यापारीहरुलाई अदालतले ‘आफैं उपस्थित हुनू’ भनेर पत्र काट्यो
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वशन्तपुर दरबार क्षेत्रलाई असर पार्ने गरी निर्माणाधीन भवनका धनीहरुलाई सर्वोच्च अदालतले अदालतको मानहानी गरेको भन्ने रिटको सुनवाई गर्दै उपस्थित हुन पत्र काटेको छ ।
महर्जन बिजनेस एसोसिएट्सका प्रालीका कृष्णलाल महर्जनसहित १३ जनालाई सर्वोच्चका न्यायाधीश डा. आनन्द मोहन भट्टराईको इजलासले अदालत उपस्थित हुन पत्र काटेको हो ।
सम्पदा क्षेत्रमा तोकिएको मापदण्डविपरीत भवन निर्माण गरेको दावी गर्दै गत बैशाख १० गते सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठसहितले सर्वोच्चमा मुद्धा दर्ता गरेका थिए । सो मुद्धामाथि सुनवाई गर्दै अदालतले भवन निर्माण तत्कालका लागि रोक्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले सो मुद्धालाई अन्तरिम आदेश कायमै राखेर जेठ १४ मा पूर्ण इजलासमा बहस गर्ने निर्णय गरेको थियो । तर महर्जन बिजनेस एसोसिएट्सले अदालतको आदेश विपरीत भवनको तल्ला थप्ने र अन्य संरचना निर्माण गर्न थाले ।
सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक श्रेष्ठ भन्छन्, ‘अदालतको फैसला आउनु अघि नै उहाँहरुले भौतिक संरचना निर्माणमा लागेको रोक हट्यो भनेर फेरि उस्तै कर्म दोहोर्याउनु भयो । त्यही भएर हामी अदालतको मानहानीको उजुरी लिएर अदालतको ढोका ढक्ढक्याउन पुग्यौं ।’
पुरानाे क्रिस्टल हाेटल रहेकाे भवन मासेर अहिले सो क्षेत्रमा नयाँ भवन निर्माण भइरहेको छ । भवन काठमाडौं महानगरपालिका र सम्पदा क्षेत्रको मापदण्डविपरीत रहेको दाबी गरिएको छ ।
सम्पदा क्षेत्रका भवन ३५ फिट भन्दा अग्ला हुन हुँदैन । बेसमेन्ट पनि गहिरो बनाउन पाईँदैन । काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख इश्वरी पौडेल, नक्सा शाखाका हाकिम रवीन्द्र पौडेलले सो भवनमा बेसमेन्ट राख्न दिने, मापदण्डविपरीत संरचना बनाउन दिने निर्णय गरेका थिए ।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले नागरिकहरुले आफ्नो खुसीले भवन निर्माण गर्न पाउनु पक्षमा लविङ गर्दै आएका छन् । उनले व्यक्तिले घर बनाउँदा सम्पदाको कुरा झिक्न नमिल्ने भनेर सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका छन् ।
वशन्तपुरको भूधरातलको सीधा सम्बन्ध नागपोखरीसँग रहेको छ । वशन्तपुरमा गहिरा खाल्डा खनेर भवनहरु बनाउँदा नागपोखरीको पानी सुक्दै गएको छ । महर्जन बिजनेस एसोसिएट्स प्रालीले २५ फिट गहिरो बेसमेन्ट बनाएको छ । त्यसको १२ फिट दूरीमा मल्लकालीन ढुकुटी छ । यो बेसमेन्टले ढुकुटी पनि असुरक्षित बनेको छ ।