खेल

स्पेन लागि १ सय ३१ म्याच खेलेका इनिस्टाको संन्यास

स्पेन लागि १ सय ३१ म्याच खेलेका इनिस्टाको संन्यास

मस्को । स्पेनिस मिडफिल्डर आन्द्रेस इनिस्टाले संन्यास घोषणा गरेका छन् । स्पेन आइतबार राति विश्वकपको अन्तिम १६ मा १६ सँग पेनाल्टी शुटआउटमा पराजित भएलगत्तै भेट्रान इनिस्टाले यस्तो निर्णय गरेका हुन् ।

 

‘बिदाइ हुने यो राम्रो तरिका त होइन, तर फुटबल र जीवन भनेको यस्तै हो,’ आफ्नो राष्ट्रका लागि १ सय ३१ म्याच खेलेका इनिस्टाले भने, ‘म पीडासहित अन्तर्राष्ट्रिय फुटबल छाड्दै छु । यसको भागिदार हामी आफैं हौं किनभने हामीले माथि जाने हिसाबमा खेल्न सकेनौं ।’

 

स्पेनका प्रशिक्षक फर्नान्डो हिएरोले ३४ वर्षे इनिस्टालाई रुससँगको खेलमा बेन्चबाट सुरुआत गराएका थिए र दोस्रो हाफमा मात्र मैदान पठाएका थिए । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट १–१ को बराबरीमा टुंगिएको खेल रुसले पेनाल्टी शुटआउटमा ४–३ ले जितेको थियो ।

 

आठ वर्षअघि इनिस्टाले नेदरल्यान्ड्सविरुद्ध फाइनलमा गरेको गोलबाट स्पेनले दक्षिण अफ्रिकामा विश्वकप उपाधि उचालेको थियो । बार्सिलोनाका महान् हस्ती इनिस्टा अर्को सिजनदेखि जापानी क्लब भिसेल कोबेबाट खेल्दै छन् ।

विश्वकप फुटबवल आन्द्रेस इनिस्टा

विशेष