खेल मुख्य समाचार

विश्वकपमा घरेलु टिम कति बलिया ?

पहिलो च्याम्पियन नै घरेलु टिम

विश्वकपमा घरेलु टिम कति बलिया ?

सन् १९३० देखि विश्वकप फुटबल प्रतियोगिता सुरु भयो । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पहिलोपटक विश्वकप आयोजना ग-यो । केवल १३ राष्ट्रबीच मात्र प्रतिस्पर्धा भएको पहिलो विश्वकप प्रतियोगिता राउन्ड रोविनका आधारमा खेलाइएको थियो । शीर्ष दुई टिमबीच उपाधि भिडन्त भयो ।

अर्जेन्टिनाले स्थानीय हावापानीको फाइदा उठाउँदै फाइनल स्थान पक्का ग-यो । अर्कोतिर उरुग्वेले घरेलु मैदान र समर्थकको बलमा उपाधि भिडन्तमा आफूलाई उभ्यायो । त्यसवेला अर्जेन्टिनाले उरुग्वेलाई सहजै पाखा लगाउने अनुमान गरिएको थियो ।

तर, उरुग्वेले करिब ८० हजार दर्शकसामु यस्तो फुटबल खेल्यो कि अर्जेन्टिनी खेलाडीको फाइनलमा केही सीप लागेन । उरुग्वे अर्जेन्टिनालाई ४–२ ले हराउँदै पहिलो अवसरमै विश्व च्याम्पियन बन्यो ।


युरोपमा विश्वकप र इटाली विजेता

फिफाले दोस्रो संस्करण इटालीलाई आयोजना गर्न दियो । सन् १९३४ मा इटालीले घरेलु मैदानमा खेलेर विश्वकप ट्रफी बाहिर जान दिएन । यसपटक १६ टिमबीच प्रतिस्पर्धा भएको थियो । राउन्ड रोविन आधारमै खेल भयो । इटाली र चेकोस्लाभियाबीच फाइनल खेल भयो ।

निर्धारित समयमा दुवै टिमबीच १–१ को बराबरी भएको थियो । स्टाडियो नाजिनेट रंगशालामा इटालीले अतिरिक्त समयमा गोल गर्दै विश्वकप ट्रफी उचाल्यो ।


२० वर्षपछि पश्चिम 
जर्मनी घरमै विजेता

सन् १९५४ मा पश्चिम जर्मनी पहिलोपटक विश्व विजेता बन्यो । तर, त्यसपछि विश्वकप उपाधि उचाल्न जर्मनीले २० वर्ष प्रतीक्षा गर्नुप-यो । जर्मनीले यो सफलता घरमै आयोजना भएको विश्वकपमा प्राप्त गरेको थियो । सन् १९७४ मा जर्मनीले पहिलोपटक विश्वकप आयोजना ग-यो ।

योपटक पनि १६ टिमबीच मात्र प्रतिस्पर्धा भयो । जर्मनीले फाइनलमा नेदरल्यान्डको सामना ग-यो । नेदरल्यान्डले टोटल फुटबल खेलिरहेको थियो । उसको अगाडि कोही पनि टिक्न सकेको थिएन ।

फाइनलमा डच टिमले सहजै जर्मनीलाई हराउने अपेक्षा थियो । तर, जर्मनीले फाइनलमा घरेलु भूमिको फाइदा उठाउँदै नेदरल्यानडलाई म्युनिख रंगशालामा निर्धारित समयमै २–१ ले निराश पा-यो ।


इंग्ल्यान्डको उदय

सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप ग-यो । इंग्लिस टोलीमा राम्रा खेलाडी भए पनि अघिल्लो संस्करणमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । तर, पहिलोपटक विश्वकप आयोजक राष्ट्र बन्दा इंग्लिस खेलाडी चम्किए ।

उनीहरूले घरका दर्शक र माटोको सान राख्नुपर्ने मनमा लिँदै प्रत्येक खेलमा नसोचेको खेल खेले । यसपटक विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा भयो । फाइनलमा इंग्ल्यान्ड र पश्चिम जर्मनीबीच खेल भयो । अतिरिक्त समयमा इंग्ल्यान्डले पश्चिम जर्मनीलाई ४–२ ले हराउँदै विश्वकप ट्रफी उचाल्यो ।

त्यसयता इंग्ल्यान्डले विश्वकपमा गतिलो प्रदर्शन गर्न सकेको छैन । सन् १९९० को विश्वकपमा सेमिफाइनलमा पुग्नु नै सन् १९६६ पछि उत्कृष्ट प्रदर्शनका रूपमा रहेको छ ।


अर्जेन्टिना पनि घरमै च्याम्पियन

सन् १९३० को संस्करणमा फाइनल खेलेको अर्जेन्टिनाले दोस्रोपटक फाइनल सन् १९७८ मा खेल्यो । अर्जेन्टिनाले दोस्रोपटक उपाधि माथि दाबेदारी दिन घरमै आयोजना भएको विश्वकप नै कुर्नुपरेको थियो ।

अर्जेन्टिनाले यसअघि विश्वकप आयोजना गर्न दाबेदारी प्रस्तुत गर्दा पनि आयोजनाको अवसर प्राप्त गर्न सकेको थिएन । अर्जेन्टिनाले तत्काल साबिक उपविजेता नेदरल्यान्डलाई फाइनलमा पायो । अर्जेन्टिनाले अतिरिक्त समयमा नेदरल्यान्डलाई ३–१ ले हराउँदै पहिलोपटक विश्व च्याम्पियन बन्यो ।


फाइनलमा फ्रान्सको एकोहोरो गोल

सन् १९९८ को विश्वकप फ्रान्समा आयोजना भएको थियो । उक्त प्रतियोगितामा घरेलु टोली फ्रान्स आफ्नो मैदानको फाइदा भरपुर उठाउन सफल भयो । फ्रान्सको भूमिमा ब्राजिल, इटाली, जर्मनी र नेदरल्यान्डलाई सम्भावित विजेताका रूपमा हेरिएको थियो ।

फुटबल विश्लेषकको अनुमानअनुरूप ब्राजिलले फाइनलको स्थान पक्का ग¥यो । तर, ब्राजिल च्याम्पियन बन्न सकेन । च्याम्पियन बन्यो त घरेलु टिम फ्रान्स नै । फ्रान्सले पनि उापधि जित्न घरमै आयोजित विश्वकपलाई सदुपयोग गरेको थियो ।

हजारौँ दर्शकको आशा नतोडी फ्रान्सले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको थिगयो । ब्राजिललाई ३–० ले हराउँदै उसले पहिलोपटक विश्व च्याम्पियन ट्रफी उचाल्यो । वास्तवमा ब्राजिल त्यसवेला सबैभन्दा उत्कृष्ट र फर्ममा रहेको टिम थियो ।

फाइनलमा साबिक विजेता ब्राजिलमाथि एकोहोरो रूपमा गोल वर्षा गर्दा फ्रान्सका ‘प्ले मेकर’ जिनेदिन जिदानले निर्णायक भूमिका खेलेका थिए ।


दक्षिण कोरियाको 
सनसनीपूर्ण प्रदर्शन

२००२ को विश्वकप जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेका थिए । दक्षिण कोरियाले घरेलु मैदानमा उपस्थित ठूलो संख्याका समर्थकको अपार ‘हुटिङ’लाई खेर जान दिएन ।

बढीमा नकआउट चरणसम्म कोरियाली टिम पुग्न सक्ने फुटबल पण्डितहरूको पूर्वानुमानलाई गलत साबित गर्दै कोरिया सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

सेमिफाइनलसम्म पुग्न दक्षिण कोरियाले अमेरिका, पोल्यान्ड र स्पेनजस्ता शक्तिशाली टिमलाई पराजित गरेको थियो । प्रशिक्षक गुस हिडिकको प्रशिक्षण र घरेलु मैदानको मनोवैज्ञानिक ढाडसका कारण कोरियाली टिमले समूह चरणदेखि नै सेमिफाइनलसम्म विश्व फुटबललाई अचम्म पारेको थियो ।

सेमिफाइनलमा जर्मनीले दक्षिण कोरियालाई हराउन धेरै मिहिनेत गर्नुपरेको थियो । जर्मनीसँग १–० ले पराजित भएपछि कोरियाको यात्रा सेमिफाइनलसम्मै सीमित भयो । जर्मनीविरुद्ध कोरियाली खेलाडीको प्रदर्शन तारिफयोग्य थियो ।

अहिलेसम्म विश्वकप इतिहासमा एसियाली राष्ट्रमध्ये सेमिफाइनलसम्म पुग्ने एक मात्र राष्ट्र दक्षिण कोरिया नै हो । त्यसअघि सन् १९६६ को विश्वकपमा एसियाली राष्ट्र उत्तर कोरिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।

 (एजेन्सीको सहयोगमा)

विशेष