खेल मुख्य समाचार

फिफा विश्वकप २०१८: नेयमर सुध्रिने कहिले ?

फिफा विश्वकप २०१८: नेयमर सुध्रिने कहिले ?

मस्को । ‘मैले उनलाई खुसीका लागि सजाय दिएको होइन । मैले यस्तो गरेँ किनभने यो आवश्यकता थियो ।’

 

यो भनाइ सान्तोसका प्रशिक्षक डोरिभाल जुनियरको हो। प्रसंग सेप्टेम्बर २०१० को हो। जति बेला १८ वर्षे नेयमरले एट्लेटिको गोइनिन्सेविरुद्ध पेनाल्टी प्रहार गर्न नदिएको झोँकमा मैदानमै उपद्रो मच्चाए। उनलाई क्लबको पहिलो टिमबाट हटाइयो। उनको पारिश्रमिकको एकतिहाई काटिने निर्णय भयो।

 

त्यसको २४ घण्टापछि डोरिभाललाई उल्टै सान्तोसका बोर्डले हटाउने निर्णय गर्‍यो। बोर्ड प्रशिक्षकको सट्टा तीन किशोर खेलाडीको पक्षमा उभियो, जसले क्लबलाई आफूले खेलेका ६५ प्रतिशत खेल जिताउँथ्यो।

 

सन्देश सबैका लागि प्रस्ट थियो, खासमा महत्त्वपूर्ण नेयमर हुन्। अरु होइनन्। यी ब्राजिली खेलाडीको खेलजीवनमा अहिलेसम्म यस्तै भइरहेको छ।

 

उनलाई अनुबन्ध गर्न एक समय रियल म्याड्रिड र बार्सिलोनाबीच ठूलै झगडा भएको थियो। पेरिस सेन्ट जर्मेन (पीएसजी) आएयता पनि नेयमरले पेनाल्टी कसले प्रहार गर्ने हो भन्ने बारेमा एडिन्सन काभानीसँग मैदानमै झगडा गरे। तर जस्तै भए पनि नेयमरले जे चाहे त्यही भइरहेको छ।

 

तर आखिरमा आएर नेयमरले अलि बढी नै गरे कि? नेयमर सुध्रिने कहिले त? ‘नेयमरले ब्राजिली समर्थकलाई खुसी त बनाएका छन् तर बाँकी विश्वलाई उनले लज्जित तुल्याएका छन्,’ ग्लोबो पत्रिकाले आफ्नो बिहानी संस्करणमा लेखेको छ– मेक्सिकोमाथि २–० जित निकालेयता। यो जितयता ब्राजिल लगातार सातौँपल्ट विश्वकपको क्वाटरफाइनल पनि पुग्यो। पत्रिकाले १० नम्बर खेलाडीको तस्बिर पनि छापेको छ। त्यसमा उनी चोटको अथाह पीडामा देखिन्छन्।

 

फेरि मेक्सिकोका मिगुइल लायनले उनीमाथि जानीजानी फल गरेको देखिन्छ। तर कमैले मात्र नेयमरमाथि सान्त्वना देखाएका छन्। नेयमर पक्कै निकै राम्रा खेलाडी हुन् तर उनीबारे प्राय: दुईमत पाइन्छ जुनसुकै विषयमा पनि।

 

‘उनमा अझै केही न केही कमजोरी पाइन्छ तर उनी स्टार भने हुन्,’ डिएगो म्याराडोनाले नेयमरबारे भनेका छन्, ‘उनको दिमागलाई मर्मत गर्नुपर्छ।’‘नेयमरलाई मैदानमा कसरी चाँडै लड्छु भन्नेमा बढी ध्यान हुन्छ,’ लायनले खेलपछि भने, ‘उनलाई साँच्चै मैदानमा ढल्नु छ भने घरमा गएर सुते भइहाल्यो नि। नेयमरलाई जत्तिले चिन्छन् उनीहरू सबैलाई थाहा छ, उनी कस्ता खेलाडी हुन् भनेर। उनी नाटक बढी गर्छन्। उनको व्यक्तित्व नै यस्तै छ।’विपक्षी खेलाडी त्यसैले नेयमरप्रति बढी नै आक्रामक हुने गर्छन्।

 

तर नेयमर आफैँ पनि बढी चोट लागेको अभिनय गर्छन्। सानैदेखि उनले जे चाह्यो, त्यही पाएर पनि यस्तो भएको हो। ब्राजिलभित्र नै यस्तै धारणा छ।

 

प्रसिद्ध ब्राजिली कमेन्टेटर जुका केफोउरी पनि नेयमरबारे यस्तै धारणा राख्छन्। ब्राजिलले कोस्टारिकालाई हराएयता सबैको सामु नेयमरले रोएर देखाए। यसलाई जुका नाटक नै मान्छन्।

 

‘नेयमरलाई आफू विश्वको नम्बर एक खेलाडी बन्नु छ भने उनले आफ्नो व्यवहारमा परिवर्तन गर्नैपर्छ,’ केफोउरीले लेखेका छन्, ‘नेयमरले आफ्नो अनुहार ऐनामा हेर्न छाड्नुपर्छ। बरु यसको स्थानमा क्रिस्टियानो रोनाल्डोलाई हेरे पुग्छ। जतिबेला पोर्चुगाली खेलाडी प्रतिक्रिया दिन्छन् त्यो नक्कलीजस्तो देखिन्न। रोनाल्डोलाई हेरेपछि मात्र नेयमरले आफूलाई हेरे राम्रो।’

 

नेयमरलाई लिएर यो ठूलै समस्या हुन थालेको छ। उनको खेलजीवनलाई बुवा र एजेन्ट मिलेर खुबै सावधानीपूर्वक व्यवस्थापन गरेका छन्।

 

उनले के एक गोल गर्नुपर्छ। त्यसबारे धेरै चर्चा हुन्छ, जति अरूको हुने गर्दैन। उनको यसरी चित्रण गरिन्छ कि नेयमर विश्वकै सर्वाधिक उत्कृष्ट खेलाडी हुन्। तर स्थिति सधैँ यस्तो हुन्न। यो सबैले बुझ्नुपर्छ।

 

पछिल्लो समय नेयमर र मिडियाबीचको सम्बन्ध पनि बिग्रेको छ। पहिले मिडियासँग खेलेर बोल्ने उनी अचेल चुपचाप बस्छन्। बरु उनी सामाजिक सञ्जालमा खेल्न रूचाउँछन्, किनभने एक इन्स्ट्राग्राममा पोस्ट गर्दा उनी चार लाख युरो पाउने गर्छन्। फेरि उनका ९ करोड ८० लाख फलोअर पनि छन्। यसले पनि अर्थ त राख्छ नै।

 

मेक्सिकोविरुद्धको खेलमा नेयमरले सुधारिएको प्रदर्शन गरे। उनले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए।

सन् २०१६ मा ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक दिलाउँदा सर्वाधिक महत्त्वपूर्ण योगदान दिने पनि उनै हुन्। नेयमरलाई अनावश्यक रूपमा नाटक गर्नु नै आवश्यक छैन। बरु आलोचकलाई उनले उत्तर दिने भनेको मैदानमा राम्रो खेलेर नै त हो।
– द गार्डियन

नेयमर फिफा विश्वकप

विशेष