मुख्य समाचार स्वास्थ्य

डा. केसीको उपचारमा प्रशासन बाधक

डा. केसीको उपचारमा प्रशासन बाधक

जुम्ला । डा गोविन्द केसीको उपचारका लागि प्रशासनले अवरोध गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट अनशनस्थल पुगेको मेडिकल टोली फिर्ता भएको छ। स्वास्थ्य अवस्था खस्कँदै गएका केसीको उपचारमा स्थानीय प्रशासनले सहज वातावरण नबनाउँदा चिकित्सकको टोली फिर्ता भएको हो। अनशनस्थल उपचारका लागि अनुकूल नभएको चिकित्सकको भनाइ छ।

 

प्रहरीले शनिबार केसीलाई पक्राउ गरी कभर्ड हलमा लगेर राखेपछि उनी त्यहीं आमरण अनशन बसेका छन्। प्रशासनले उपचारका लागि केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मानेको छैन।

 

चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा संसद्बाट पारित गर्नुपर्नेलगायत माग राखेर शनिबारदेखि अनशन बसेका केसीका स्वास्थ्य अवस्था खस्किँदै गएको छ। सरकारले अध्यादेशका कडा प्रावधान हटाएर प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि केसीले त्यसलाई सच्याएर पुरानै स्वरुपमा पारित गर्नुपर्ने माग राखेका छन्। प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि असहमति जनाएपछि सरकारले प्रतिस्थापन विधेयक फिर्ता लिएको छ।

 

अव्यवस्थित कभर्ड हलमा उपचार दिन नसकिने भएकाले आफूहरु फिर्ता भएको प्रतिष्ठानबाट खटिएका डा. प्रवीणकुमार गिरीले बताए। उनले भने, ‘केही पनि पूर्वाधार नभएको स्थानमा डा. केसीको उपचार सम्भव छैन। यस्तो अवस्थामा हामीले जोखिम लिन सक्दैनौं । डा. केसीको स्वास्थ्य अवस्था खस्कँदै छ। अनशनस्थल उपचारका लागि प्रतिकूल छ ।’

 

डा. केसीमा मुटुको चाल बढ्नेदेखि छाती र टाउको दुख्नेसम्मका समस्या देखिन थालेका छन् । डा. गिरीले भने, ‘संक्रमणको डर र विद्युत् अभावका कारण उपचार गर्न सकिएन ।’ अनशनस्थल दुर्गन्धित भएकाले संक्रमणको डर छ । जुम्लाको मौसमका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । उनी राम्रोसँग बोल्न नसक्ने अवस्थामा पुगेका छन्।

 

प्रतिष्ठानका चिकित्सकले सम्पूर्ण मेडिकल सुविधा भएको ठाउँमा केसीलाई स्थानान्तरण गर्न आग्रह गरेका छन् । अनशनस्थलमा विद्युत्लगायत सुविधा अभावमा सामान्य मोनिटरिङ पनि गर्न सक्ने अवस्था छैन । डा. गिरीसहित तीनजनाको टोलीले डा. केसीको स्वास्थ्य अवस्था बिगिँ्रदै गएको भन्दै प्रतिष्ठानलाई आवश्यक व्यवस्था मिलाउन सुझाव दिएको छ ।

 

टोलीको सुझावका आधारमा प्रतिष्ठानले तत्काल सम्पूर्ण मेडिकल सुविधा भएको ठाउँमा केसीलाई स्थानान्तरण गर्न पहल गरिदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ। तर, प्रशासनले ‘माथिको आदेश छैन’ भन्दै अन्यत्र पठाउन अवरोध गरिरहेको छ।

 

‘तत्कालका लागि उपचार गर्न सकिन्छ तर विस्तारै खानेकुरा दिनुपर्ने अवस्था आउँछ, जुन सुविधा यहाँ छैन,’ डा. गिरीले भने, ‘काठमाडौं पठाउनुपर्ने अवस्था आउन सक्छ । काठमाडौं अहिले नै पठाउनुपर्ने व्यवस्था भए राम्रो हुने छ।’

 

अनशनको तेस्रो दिन सोमबार डा. केसीको अवस्था निकै नाजुक भएपछि प्रतिष्ठानबाट आकस्मिक उपचार टोली खटाइएको थियो। चिकित्सकका अनुसार सोमबार केसीको छातीमा असह्य पीडा भएको थियो। जाँचका क्रममा डा केसीको मुटुको चालमा उतारचढाव पाइएको थियो।

 

डा. गिरीका अनुसार यस्तो अवस्थामा मोनिटरसहितको बेडमा राख्नुपर्ने हुन्छ। तर केसीलाई प्रशासनले फोहर र चिसो भुइँमा बस्न बाध्य पारेको छ। यसबाट प्रशासन गैरजिम्मेवार बनेको देखिन्छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला डा गोविन्द केसी

विशेष