आफ्नै कर्मले घेरामा पर्दैछ सरकार
काठमाडौं । दुई तिहाई बहुमतसहितको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफ्नै कारण घेरामा पर्दै गएको छ ।
शक्तिशाली भनिएको वर्तमान सरकारप्रति जनअपेक्षा धेरै छन् । ती अपेक्षामा एकपछि अर्को गर्दै पहिरो जान थालेपछि सरकारविरोधी स्वरहरु बलियाँ हुँदै गएका छन् ।
सरकारले गरेका निर्णय र मन्त्रीहरुको गतिविधिका कारण आफ्नो चक्रव्युहमा सरकार आफै फस्न लागेको छ । वर्तमान सरकार निर्माण पछि सरकारले एकाध जनपक्षीय काम पनि गरेको छ । तर ती राम्रा कामको महशुस जनताले गर्न पाएका छैनन् ।
सरकारले गरेका केही राम्रा कामहरुः
– सरकारले सार्वजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेट प्रथा अन्त्य गरिदियो ।
– सुन तस्करीविरुद्ध निर्मम ढंगले सरकार उत्रियो ।
– जिम्मा लिएको काम समयमा नसक्ने कामचोर ठेकेदारहरुलाई कारबाही गर्ने संकेत देखायो ।
– वैदेशिक रोजगारी क्षेत्रका केही अवैध कर्म गर्नेहरुलाई पक्राउ गर्यो ।
सरकारको गलत काम/सार्वजनिक हित विपरीतका गतिविधि /विवादास्पद कार्यहरु
यो सरकारले अहिलेसम्म सार्वजनिक अहित हुने गरी कुनै काम गरिसकेको छैन । तर १० वटा राम्रा काम एकैपटक लडाउने गरी एउटा नराम्रो काम गर्नैैै लाग्दा अहिले ओली सरकार चक्रव्युहमा परेको छ ।
ओली सरकारले चिकित्सा शिक्षा सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न जुन विधेयक संसदमा लग्यो, त्यो पास भएको भए चिकित्सा शिक्षा क्षेत्रका लागि एक कलंक नै हुने थियो । त्यो विधेयकमा रहेका केही बुँदाहरु यस्ता थिएः
– आफ्नै अस्पताल नभए पनि मेडिकल कलेजको सम्बन्ध दिने ।
–काठमाडौंमा पाँच मेडिकल कलेज छन्, थप खोल्न बाटो खुला राख्ने ।
– सरकारी कलेजले ७५ प्रतिशत सिट छात्रवृत्तिकालागि छुट्याउनु नपर्ने ।
– सरकार आफैले मेडिकल कलेज सञ्चालन नगर्ने ।
सरकार चिकित्सा शिक्षा विधेयकमा झुकिसकेको छ । संशोधनसहित फेरि संसदमा लैजाने निर्णयमा पुगेको छ । सरकारले माइतीघर चौकमा पनि प्रदर्शन निषेध गर्यो । माइतीघरमा हुने अधिकाश प्रदर्शन शान्तिपूर्ण हुने गर्छन् । त्यहाँ प्रदर्शन गर्न रोक लगाएर पेप्सीकोलाको फुटबल मैदानमा प्रदर्शन गर्ने गरी सूचना जारी गरेपछि सरकार आलोचित बनेको छ । खेल मैदानमा त खेल नै पो खेलिनु पर्छ भन्दै विरोध भएको छ ।
सरकारको अर्को आलोचित कर्म भनेको चाबहिल जोरपाटीको सडक नबनाउनु हो । सो सडकमा कालोपत्रे नगर्नुको कुनै कारण छैन । तर भैसी बस्ने आहाल जस्तो सडकमा सर्वसाधारण हिलोमा खुट्टा गाडेर हिँडन विवस छन् । त्यही क्षेत्रमा विश्व सम्पदा सूचीमा परेको बौद्धनाथ स्तुप पनि छ । सरकारको यो खेलाँची सामान्य नभएर पराकाष्ठा नै हो । मिडिया र जनताले जति कराए पनि सरकार कानमा तेल हालेर बसेको छ ।
काठमाडौं महानगरमा अति धेरै धुलो र धुवा छ । यो न्यूनिकरण गर्न महानगरपालिकाले कुनै वास्ता गरेको छैन । एक महिनामा एक पटक पनि सडक बढारिँदैन । जसका कारण धुलोले सहर ढाकिएको छ । तर महानगरपालिकाको एउटै भनाइ छ–सडक बढार्ने ब्रुमर किन्न खोज्दैछौं । यस्तो जवाफ दिएको एक वर्ष भइसक्यो । महानगरमा मात्रै होइन प्रदेश ३ मा पनि नेकपाकै राज छ ।
गिरिराजमणि पोख्रेल अहिले पाँचौ पटक शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यसअघि उनी चार पटक शिक्षा मन्त्री भइसकेका थिए । त्यो बेला सिन्को भाँच्न सकेनन् । यस्तालाई प्रधानमन्त्री ओलीले नारायणकाजीको सिफारिसमा मन्त्री बनाए । नारायणकाजी र गिरिराज धेरै मिल्ने साथी पनि हुन् । दुवै अविवाहित छन् ।
ओलीको क्याबिनेटमा धेरै आश गरिएका लालबाबु पण्डीत, गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, मातृका यादवलगायतले कुनै गतिलो काम गर्न सकेनन् । रवीन्द्र अधिकारीले त झोले संस्थाहरुलाई करोडौं बाँडेर ओली सरकारलाई धब्बा नै लगाइदिए । यो सबै देखेर पनि प्रधानमन्त्री ओली मौन छन् । गिरिराजमणि पोख्रेल र बोलीमै उदण्डता झल्किने सञ्चारमन्त्री गोकुल बास्कोटालाई त तुरुन्तै हटाउनु पर्ने अवस्था छ । तर उनले कुनै निर्णय लिइसकेका छैनन् ।
देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भइसकेपछि नियुक्त गरेका सबैलाई हटाउने निर्णय सरकारले राति ११ बजे गर्यो । यस्तो निर्णय दिउँसो किन नगरेको ? कुनै काममा व्यस्त भएर होला त ? हो भने मन्त्रिपरिषद बस्न पनि नभ्याइने के काम दिउँसो गरेछन् त प्रधानमन्त्रीले ? खोज्दा पनि त्यस्तो कुनै काम भेटिन्न ।
(यो टिप्पणी हो ।)