खेल

उरुग्वेविरुद्ध फ्रान्स पहिलो हाफसम्म १–० गोलले अघि

उरुग्वेविरुद्ध फ्रान्स पहिलो हाफसम्म १–० गोलले अघि

काठमाडौं ।  रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलअन्तर्गत पहिलाे खेलमा फ्रान्सले उरुग्वेविरूद्ध पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको छ । खेलकाे ४० अाैं मिनेटमा पाएकाे फ्रि–किकमा भारानेले गाेल हान्दै फ्रान्सलार्इ सुरूवाति अग्रता दिलाएका हुन् ।

 

 निझ्नी नोभगोरोद रंगशालामा खेल भइरहेकाे छ । उरुग्वे २ पटकको विश्वकप विजेता हो भने फ्रान्स एक पटकको विश्वकप विजेता हो । उरुग्वेले सन् १९३० र १९५० को विश्वकपको उपाधि उचालेको थियो । यता, फ्रान्सले भने सन् १९९८ को विश्वकप जितेको थियो ।

 

 जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा उत्रने निश्चित भइसकेको छैन । उनको अनुपस्थितिमा पनि उरुग्वेसँग क्षमतावान खेलाडीको कुनै कमी छैन ।

 

यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहनेछ ।

 

काजन रंगशालामा दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।

 

 

फ्रान्स उरुग्वे

विशेष