विदेशी बीमाङ्कीको भरमा नेपाली बीमा उद्योग
काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरू भएको ७० वर्ष बितिसक्दा पनि अझै बीमाङ्की जनशक्तिको उत्पादन हुन सकेको छैन । बीमाबजारमा बीमाङ्कीको भूमिका अनिवार्य र अति महत्त्वपूर्ण हुन्छ । व्यावसायिक सम्भावना हुदाँहुँदै पनि बीमाङ्की जनशक्ति उत्पादन हुन नसक्नु दुःखद पक्ष भएको बीमा विज्ञ भोजराज शर्माले बताए ।
बीमाङ्कीले प्रिमियम निर्धारण, वित्तीय विवरणको परीक्षण र जोखीम मूल्याङ्कन गरेर बीमालेख विकास गर्ने काम गर्छ । नेपालीमा सञ्चालित जीवन बीमा कम्पनीले भारतलगायत विदेशी बीमाङ्कीमार्फत यस्तो सेवा लिर्दै आएका छन् । त्यसबाट वर्षेनि लाखौं रकम विदेशिने गरेको छ । बीमा समितिले यस्ता विषयलाई दृष्टिगत गर्दै बीमाङ्की जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बीमाविज्ञ रवीन्द्र घिमिरेको भनाइ छ ।
हालसम्म समितिले बीमाङ्की जनशक्ति उत्पादनका लागि प्रभावकारी कार्यक्रम ल्याएको पाइँदैन । यद्यपि, समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले अबका दिनमा बीमाङ्की जनशक्ति उत्पादनमा समितिबाट आवश्यक सहयोग हुने बताउँछन् । बीमाङ्की जनशक्ति उत्पादन गर्न समिति सकारात्मक रहेको बताउँदै उनले यस विषयमा छलफल भइरहेको बताए ।
समितिले केही वर्षअगाडि बीमाङ्की विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने विषय उठाएको थियो । तर, अध्ययनपश्चात् विद्यार्थीले नेपालमा नै आएर सेवासुविधा प्रदान गर्ने ग्यारेण्टी नभएपछि उक्त प्रस्तावलाई निर्णायक तहमा पुर्याइएन ।
यद्यपि, बीमाविज्ञ रवीन्द्र घिमिरेले बीमाङ्की अध्ययन गर्ने विद्यार्थीलाई समितिले छात्रावृत्तिको व्यवस्था गर्नुपर्ने बताए । साथै, बीमाङ्की अध्यापन गराउने कलेजलाई पनि समितिले आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘समितिले अध्ययनपश्चात् नेपालमा नै निश्चित समय काम गर्नुपर्ने मापदण्ड तोकेर विद्यार्थीलाई छात्रावृत्ति दिनुपर्छ । विदेशीने डरमा बीमाङ्की उत्पादमा समितिले ध्यान नदिए बीमाबजारले दक्ष जनशक्ति पाउन सक्दैन ।
अन्तरराष्ट्रिय बजारमा बीमाङ्की सबैभन्दा बढी पारिश्रमिक प्राप्त हुने पेशाका रूपमा स्थापित छ । यसकारण विदेश पढ्न गएका विद्यार्थी स्वदेश फर्कनै नखोज्ने समितिको भनाइ छ । समितिका अनुसार हाल नेपालमा बीमाङ्की जनशक्तिको अवस्था शून्य रहेको छ । यद्यपि, केही नेपाली विद्यार्थीले बीमाङ्की विज्ञान उत्तीर्ण गरेको अनौपचारिक जानकारी आएको समितिले बताएको छ ।
बीमा ऐन, २०४९ अनुसार जीवन बीमा कम्पनीहरूले अनिवार्य रूपमा बीमाङ्की जनशक्तिमार्फत बीमाङ्की मूल्याङ्कन गराउनुपर्ने हुन्छ । ऐनको दफा २६ अनुसार जीवन बीमा कम्पनीले प्रत्येक ३ वर्षमा एकपटक आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन बीमाङ्कीद्वारा गराउनु पर्नेछ ।
यस्तै, प्रस्तावित नयाँ बीमा ऐनमा निर्जीवन बीमा कम्पनीले पनि अनिवार्य रूपमा बीमाङ्की मूल्याङ्कन गराउनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले नेपालमा बीमाङ्कीको थप अवसर र व्यावसायिक सम्भावनाको वृद्धि हुने स्पष्ट छ ।
विज्ञ भोजराज शर्माले नेपालमा बीमाङ्कीको आवश्यकता उच्च भएको बताए । बीमाक्षेत्रलाई समृद्धिको आधार बनाउन बीमाङ्कीको महत्वपूर्ण भूमिका हुने भएकाले यसको उत्पादनमा विशेष जोड दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘बीमा बजारमा अत्याधुनिक प्रविधिको विकास भइसकेको छ, अब बीमाङ्की उत्पादन गर्नु हो ।’ बीमाङ्कीका लागि नेपालमा आवश्यक मात्रामा बजारको विकास भइसकेको उनको भनाइ छ ।
बीमा उद्योग