खेल

रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश

रसियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश

एजेन्सी । क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको हो ।

 

पेनाल्टी सुटआउटमा क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिक, लुका मोड्रिक, डोमागोज भिडा इभान रकिटिकले गोल गरे । त्यस्तै, क्रोएसियाका लागि माटेओ कोभाकिकले भने पेनाल्टी मिस गरेका थिए ।

 

रसियाका लागि पेनाल्टी सुटआउटमा एलन जागोएभ, सर्जेइ इग्नाशेभिक र  डेलर कुजियभले गोल गर्न सफल भए । त्यस्तै, फेडर स्मोलोभ, मारियो फेर्नान्डेजले गोल गर्न नसक्दा रसिया पेनाल्टी सुटआउटमा क्रोएसियासँग ४–३ गोलले पराजित भएको हो ।

 
दुबै टिमले निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म पनि २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा धकेलिएको थियो ।

 

डिबक्स बाहिरबाट प्रहार गरेको बललाई मारियो फेर्नान्डेजले खेलको ११५औं मिनेटमा हेडर गोल गर्दै रसियालाई २–२ गोलको बराबरीमा पुर्याएका थिए । यसअघि क्रोएसियाले खेलको १०१ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो । क्रोएसिया लागि डामागोज भिडाले गोल गर्दै अग्रता दिलाएका थिए । 

 

रसियाले गोल गरेको ८ मिनेटपछि नै क्रोएसियाले गोल फर्काउँदै बराबरीमा पुर्याएको थियो । डेनिस चेरिशेभले खेलको ३१औं मिनेटमा उत्कृष्ट गोल गर्दै आयोजक रसियालाई १–० गोलको अग्रतामा पुर्याएका थिए । उनले आर्टिम ज्युबाको पासमा शानदार गोल गरेका थिए ।

 

चेरिशेभले प्रहार गरेको बल क्रोएसियाका गोलकिपरले ठम्याउनै सकेनन् । खेलको ३९औं मिनेटमा क्रोएसियाका आन्ड्रेज क्रमारिकले हेडर गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्याएका थिए । पहिलो हाफमा दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । 

 

सोचीस्थित फिष्ट रंगशालामा दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न सकेनन् । गोल गर्ने अवसर एकपछि अर्को दुबै टिमले गुमाएका थिए । निर्धारित ९० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो ।

विश्वकप फुटबल क्रोएसिया

विशेष