प्रोफाइल कभर स्टोरी

लाहोरबाट घर फर्किनेहरु नेपालमा ‘लाहुरे’ भनिए (भिडियोसहित)

लाहोरबाट घर फर्किनेहरु नेपालमा ‘लाहुरे’ भनिए (भिडियोसहित)

काठमाडौं । ४७ वर्षअघि पञ्जाबबाट नेपाल आउँदा भाग सिंहका लागि नेपाल धेरै अर्थमा नौलो थियो । उनका लागि नेपालीहरुको भाषा, धर्म रिवाजमा फरक थियो । तर नेपालीहरुका लागि उनले धेरै परिचय दिइरहनु पर्दैन थियो । उनको लगभग सबै पहिचान एउटै पगडीले दिन्थ्यो ।

 

नेपाल र शिखहरुको सम्बन्धको कुरा निकाल्दा उनले इतिहासको त्यो रोचक प्रशंग कोट्याउन खोजे, जुन पञ्जाबका राजा रञ्जित सिंहबाट सुरु हुन्छ । उनकै पालामा नेपाल र पञ्जाब युद्ध भएको थियो । त्यो युद्धलाई अहिले काँगडाको युद्धका रुपमा चिन्ने गरिन्छ ।  १८०९ को काँगडा युद्धमा गोर्खा सेनाको नेतृत्व अमर सिंहले गरेका थिए । शिखहरुको तर्फबाट राजा रञ्जित सिंह नै थिए । गोर्खा भनेपछि एक योद्धा जाति भन्ने बुझिन्छ । शिखहरु पनि युद्धमा निपूर्ण र वीर हुन्छन् । 

 

त्यो बेला गोर्खालीहरुले खुकुरी चलाउँथे । शिखहरुले तरबार । गोर्खाको भन्दा शिखहरुको कद अग्लो हुन्थ्यो । हातहतियारमा पनि गोर्खा भन्दा शिखहरुसँग आधुनिक थिए । जसका कारण त्यो युद्धमा गोर्खाको हार भयो । तर राजा रञ्जित सिंह गोर्खाको बहादुरी देखेर प्रभावित भए । उनले शिखहरुको फौजमा गोर्खाली राख्न सुरु गरे । 

 

गोर्खालीहरु पनि पञ्जाव सेनामा भर्ति हुन थाले । राजधानी लाहोर भएका कारण गोर्खालीको जाउआउ लाहोरमै हुन्थ्यो । त्यही लाहोरबाट नेपाल फर्किएकाहरुलाई नेपालमा ‘लाहुरे’ भन्न थालियो । भाग सिंह भन्छन्, ‘अहिले त जुन देशको सेनामा भर्ति भए पनि लाहुरे नै भन्ने गरिन्छ ।’

...

शिख धर्मका प्रवर्तक गुरु नानक हुन् । नानक र नेपालको सम्बन्ध पनि निकै पुरानो छ । गुरु नानकले एक वर्ष काठमाडौंकै विष्णुमति किनारमा तपस्या गरेका थिए । गुरु नानकले तप गरेको भूमिमा भूमाफियाको चलखेल भएपछि  भाग सिंह अहिले असन्तुष्ट छन् । सन् १५१६ मा गुरु नानक नेपाल आएर एक वर्ष तप गरे, अनि तिब्बततिर लागे । गुरु नानकले तप गरेको भूमिलाई नानक मठका रुपमा नेपाल सरकारले संरक्षण गर्दै आयो । भाग सिंह भन्छन्, ‘नानक मठ भनेको हाम्रो लागि तीर्थस्थल हो । पहिले २ सय रोपनीमा नानक मठ थियो, अहिले ३३ रोपनीमा सिमित भएको छ । त्यसमा पनि भूमाफियाले कब्जा गरेका छन् ।’

 

यो मठ नयाँबजारबाट बालाजु जाने पुल भन्दा अगाडि दायाँ पट्टिको डाँडोमा अवस्थित छ । हावापानी बिना सात दिनसम्म जमिनमुनी बसेको भनेर चर्चामा आएका वैद्य कृष्णदासले कब्जा गरेर बसेको भाग सिंह बताउँछन् ।  नानक मठमाथिको अतिक्रमण रोक्न मुद्धा मामिलामा पनि सिंह गए । तर नेपाली नागरिकता नभएका कारण सबैजसो सरकारी निकायमा हन्डर मात्रै खेप्नु परेको उनको गुनासो छ ।  

 

गुरु नानक मठलाई शिखहरुको एक पवित्र धार्मिक स्थलका रुपमा विकास गर्न सकिनेमा सिंह विश्वस्त छन् । भारतका धेरै  शिखहरु पाकिस्तानका मठहरुमा पनि पुग्ने गर्छन् भने नेपाल नआउने कुरै छैन– उनको भनाइ छ ।  

 

एक भारतीय शिखकालागि नेपालमा बसेर व्यापार व्यवसाय गर्नु कति सजिलो छ ? भन्ने प्रश्नमा भाग सिंह भन्छन्, ‘नेपालीहरु सरल छन् । केही बेइमानहरु त जुनसुकै समाजमा हुन्छन् । मलाई नेपालमा नेपालीले होइन नेपाल बस्ने शिखहरुले नै धेरै दुःख दिए ।’ 

...

सन् १९६० मा जन्मेका भाग सिंह सन १९७१ मा नेपाल आए । १९८७ सम्म उनले काठमाडौंमा भक्स वागनको सर्भिस सेन्टर सञ्चालन गरे । ८७ पछि २००८ सम्म निजी गाडीहरुको वर्क्ससप सञ्चालन गरे । पछि त्यो काम पनि छाडेर २००८ सम्म ट्रान्सपोर्टमा लागे । अहिले उनी श्रीशक्ति उद्योगका सिइयो र एसएस इञ्जिनियरिङ एन्ड ट्रेडमा पार्टनरका रुपमा कार्यरत छन् । उनको श्रीशक्तिले पिभिसी, नाइलन, अटो पार्टसको उत्पादन गर्छ । 

....

भाग (अर्थ भाग्य) को जन्म भारत, कर्म नेपालमा कायम भयो । तीन छोरा जन्मे । कान्छा अहिले नेपालमै बाबुसँग व्यवसाय गरिरहेका छन् । नेपालमै जन्मे, हुर्केका कान्छा हर्षिम्रन भन्छन्, ‘मेरो लागि त धेरैकुरा नेपालमै छ । पञ्जावमा आफन्तहरु बस्नु हुन्छ । बेला बेला जाँदा भेट हुन्छ । धेरै कुरा नेपालमै हुँदाहुँदै पनि आफ्नो पूर्खाको भूमिप्रति सम्मान छ । यदि म कुनै तेस्रो मुलुक पुगेँ भने पञ्जाव (भारत) र नेपाल मध्ये बढी याद नेपालकै आउनेछ ।’ 

....

सत्तरीको छेउछाउ पुगिसकेका भाग सिंहलाई भारतको नागरिकता त्यागेर नेपाली नागरिकता लिने चाहना छ । कानुनबमोजिम अंगीकृत नागरिकता उनले पाउन सक्छन् । तर नेपालको झन्झटिलो कानुनी प्रक्रिया पूरा गर्न निकै गाह्रो छ । 

...

सिंहको आबद्धता केही सामाजिक संस्थाहरुमा पनि छ । उनी हालै रोटरी क्लब अफ पाटनको प्रेसिडेन्ट भए । २०१९ सम्म उनको कार्यकाल रहनेछ । नेपालमा रोटरीको पहिलो शिख अध्यक्ष भन्दा पनि हुन्छ उनलाई । बालबालिकालाई पोलियो थोपा खुवाउन सरकारपछि रोटरीले सबैभन्दा बढी जिम्मेवारी वहन गरेको छ भन्दा फरक पर्दैन ।  

 

बालविकास, सरसफाई, महिला सशक्तिकरण, भौतिक पूर्वाधार निर्माण, शिपमुलक तालिम आदि कार्यक्रम रोटरीले सञ्चालन गर्दै आएएको छ । हालै सोलुखुम्बमा मानिसहरुले चिसोका कारण नुहाउन नसकेको देखेपछि रोटरीले सोलार जडान गरेर तातो पानी आउने बाथरुमको प्रबन्ध गरिदियो । यो बाथरुप स्थानीय र पर्यटकहरुका लागि पनि उपयोगी भएको छ । तातोपानीमा नुहाउन पाउँदा स्थानीयहरु त दङ्गै छन् । 
 

 

विशेष