व्यापार अर्थ कर्पोरेट मुख्य समाचार समाज प्रदेश ३

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने 

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने 

काठमाडौं । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ ।

 

नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनकाअनुसार बढेको शुल्कअनुसार नै सेवाहरुमा शुल्क वृद्धि गरिनेछ । इन्टरनेट सेवामा प्रदायक (आईएसपी)हरुले पनि साउन १ गतेबाट इन्टरनेट सेवाका शुल्कमा वृद्धि गर्ने तयारी गरेका छन् ।  

 

सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको यो दस्तुर इन्टरनेट सेवामा पनि विस्तार गरेको छ । टेलिफोनमा ११ प्रतिशत रहेको दस्तुर १३ प्रतिशत पुर्‍याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । अब सबै सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्नेछ । टेलिफोन सेवामा करिब ३ प्रतिशत मुल्य बढ्ने अनुमान छ ।

 

सुविसुका संस्थापक सुधीर पराजुलीले इन्टरनेट सेवाको मूल्य १४ दशमलव ३ प्रतिशतले महंगिने बताए । सरकारले लगाएको नयाँ करको भार आफूहरुले नबोक्ने उनले बताए । पराजुली अनुसार उपभोक्तासँग नै थप लगाइएको कर असुलिनेछ ।

 

सरकारले बजेटमार्फत इन्टरनेट सेवामा पनि पनि दूरसञ्चार सेवा दस्तुर लगाउन सुरु गरेको छ । यसअघि नलिइने यस्तो दस्तुर एकैपटक १३ प्रतिशत पुर्‍याएपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले विरोध गर्दै आएका छन् । तर, सरकारले नसुनेपछि अब त्यसको भार उपभोक्तामाथि नै थोपर्ने योजना सेवा प्रदायकले बनाएका छन् ।

 

राजस्व सचिव शिशिर ढुंगाना इन्टरनेटको प्रयोगले टेलिफोनको ‘भ्वाइस सेवा’को प्रयोग घटाउँदै लगेकाले इन्टरनेटमा पनि दूरसञ्चार दस्तुर लगाइएको बताउँछन् ।सुविसुका संस्थापक पराजुली भने त्यस्ता ओटीटीहरु नेपालमा प्रतिवन्ध गरे यस्तो समस्या नै नआउने बताउँछन् ।

 

उनले ब्रोडब्यान्ड नीतिको विपरीत हुने गरी सरिकारले इन्टरनेटमा दूरसञ्चार दस्तुर लगाएको आरोप लगाउँछन् । इन्टरनेट सेवामा दस्तुर लगाएमा करिब २ अर्ब राजस्व थपिने अनुमान सरकारको छ ।

टेलिफोन शुल्क

विशेष