त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीको लापरबाही देखिएको छ। विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम अगाडि बढने सकेको छैन।
तर, विमानस्थल स्तरोन्नतिका काम अगाडि नबढाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा विमानस्थल सञ्चालन सुरु गरेका छन्। विमानस्थल स्तरोन्नतिको काम गरिरहेको निर्माण कम्पनी सान्जोसेसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्का रद्द गरेपनि अहिलेसम्म स्तरोन्नतिको काम अगाडि बढेको छैन।
प्राधिकरणले लगानी कर्ता र मन्त्रालयको सहकार्यमा स्पेनिस निर्माण कम्पनीले तोकिएको समयमा १७ प्रतिशत पनि काम सम्पन्न गर्न नसकेको भन्दै ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द गर्दै प्राधिकरणले विमानस्थल स्तरोन्नतिको सबै काम एउटा तह र कम्पनीले गर्न नसक्ने ठहर गर्दै कामको वर्गीकरण गर्ने निर्णय गरेको थियो।
कामको वर्गीकरण गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म सबैभन्दा ग्राहो र खर्च बढी लाग्ने कामको बोलपत्र आह्वान गर्न सकेको छैन। विमानस्थल स्तरोन्नतिमा सबैभन्दा गाह्रो काम अन्तर्गत एप्रोन र ट्याक्सी वे निर्माण हो। प्राधिकरणले यो कामलाई एनसीबी ४ अन्तर्गत राखेको छ।
विमानस्थल स्तरोन्नति आयोजनाले एनसीबी ४ अन्तर्गतको कामका लागि आवश्यक माटो कसरी व्यवस्थापन गर्ने भने विषयमा अध्ययन सम्पन्न गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले बताए।
पहिलो पनि सान्जोसेले माटोको समस्या देखाउँदै काममा लापरबाही गरेको थियो। फेरि, निर्माण कम्पनी छनोट पछि माटोको समस्या देखाएर काममा लापरबाही हुने अवस्था आउने नदिने गरी काम भइरहेको उनको भनाइ छ।
‘विमानस्थल स्तरोन्नतिको काममा केही ढिलाइ भएको हो’, प्राधिकरण महानिर्देशक गौतमले भने, ‘सबै प्रक्रिया पुरा गरेर अब सेप्टेम्बर भित्र स्तरोन्नतिका लागि ग्लोबल टेन्डर हुन्छ।’ एनसीबी ४अन्तर्गतको कामका लागि टेन्डर नभएपनि अन्य तीन तहका कामलागि भने लागि भने टेन्डर भएर कम्पनी समेत छनोट भएको गौतम बताउँछन्।
एनसीबी २ अन्तर्गत रहेको इन्टरनेसनल टर्मिनल भवन विस्तारको काम सन् २०१९ अगस्ट भित्र सम्पन्न हुने गौतमको दाबी छ। एनसीबी २ नम्बरको काम नेपाली निर्माण कम्पनी शर्मा प्रेरा आशिष जोयन्ट भेन्चरले गरिरहेको छ। यो कामको कुल लागत भने ७७ करोड रुपैयाँमा रहेको छ।
यसैगरी एनसीबी ३ अन्तर्गतको काम पनि सन् २०१९ का मे भित्र सम्पन्न हुने प्राधिकरणको भनाइ छ। एनसीबी ३ अन्तर्गत वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउसलगायत काम रहेको छ। यो काममा लागि प्राधिकरणले लगभग १।८ मिलियन अमेरिकी डलर खर्च गर्दैछ।
एनसीबी २र ३ अन्तर्गतको काम भइरहे पनि एनसीबी १ का लागि टेन्डर मार्फत छनोट भएको चिनियाँ सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कमै नआएको उनको भनाइ छ।
सम्पर्कमा नआएको चिनियाँ कम्पनीको सम्झौता रद्द गरि पुनः प्राविधिक रुपमा सक्ष्म भएका कम्पनीसँग आर्थिक प्रतिस्पर्धा गरेर कम्पनी छनोट गरिने तयारी भएको गौतमले बताए। एनसीबी १ अन्तर्गतको काममा लागि पनि सेप्टेम्बर भित्रै आर्थिक प्रतिस्पर्धा हुने गौतमले बताए। एनसीबी १ अन्तर्गत तीन सय मिटर धावनमार्ग निर्माणको काम रहेको छ।
प्राधिकरणले चिनियाँ कम्पनीलाई ५६ करोड १८ लाख ७६ हजार रुपैयाँमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो। सम्झौता भएदेखि एकपटक पनि कम्पनी सम्पर्कमा आएको छैन। प्राधिकरणले सम्पर्कमा नआएको कम्पनीको ठेक्का रद्द गर्दै धरौटी रकम जफत गरेको गौतम बताउँछन्।