व्यापार अर्थ कर्पोरेट मुख्य समाचार समाज प्रदेश ३

साउन १ देखि श्रमिकको न्यूनतम तलब साढे १३ हजार 

साउन १ देखि श्रमिकको न्यूनतम तलब साढे १३ हजार 

काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। सरोकारवाला निकाय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको वार्तामा विद्यमान ९ हजार ७ सय रुपैयाँमा ३ हजार ७ सय ५० रुपैयाँ थप गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सहमति जुटेको हो।

 

चरणबद्ध रुपमा भएका वार्ता सहमतिमा पुग्न नसक्दा न्यूनतम पारिश्रमिक निर्धारण हुन सकेको थिएन। सरकारी निकाय तथा श्रमिकका प्रतिनिधिले १५ हजार रुपैयाँभन्दा कम तलब हुन नहुने अडान राखेका थिए भने व्यवसायीका प्रतिनिधिहरु साढे १२ हजार रुपैयाँसम्म दिन तयार भएका थिए।

 

पटकपटकको छलफलपछि साढे ३७ सय रुपैयाँ थप गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्ने सहमति जुटेको वार्ता टोलीमा श्रमिकको पक्षबाट प्रतिनिधित्व गरिरहेका मजदूर नेता दीपक पौडेलले बताए। थपिएको मध्ये ६० प्रतिशत अर्थात २२५० रुपैयाँ तलब र १५ सय रुपैयाँ भत्ता हुने उनले जानकारी दिए ।

 

सरकारी पक्ष र अन्य सरोकारवाला निकायबीच आइतबार नै न्यूनतम पारिश्रमिक  निर्धाण गर्ने तयारी भएको थियो। तर, आइतबार बसेको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उद्योगीका प्रतिनिधिले अधिकतम १३ हजार ३ सय दिन सकिने बताएका थिए भने श्रमिकका पक्षमा रहेका सदस्यले १४ हजार भन्दा कम हुन नहुने अडान राखेका थिए।

 

दुवै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि बैठक सोमबार विहानका लागि सारिएको थियो। सोमबारको पक्षमा दुवै पक्ष सहमत देखिएपछि सहमति जुटेको हो। न्यूनतम पारिश्रमिक निर्धारण समितिले तय गरेको यो पारिश्रमिक साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

तलब श्रमिक

विशेष