कभर स्टोरी

‘साइलेन्ट’ बस्दा पनि विवादै विवादमा पर्छिन् खानेपानी मन्त्री  

दशैंसम्म मेलम्ची पनि नआउने भयो, बीना मगरले के काम देखाउछिन् ?

‘साइलेन्ट’ बस्दा पनि विवादै विवादमा पर्छिन् खानेपानी मन्त्री  

काठमाडौं । बीना मगरको प्रमुख योग्यता भन्नु नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुनु हो भन्नेहरु धेरै छन् । त्यही योग्यताको आडमा उनी अहिले खानेपानी तथा सरसफाई मन्त्री छिन् ।

 

उनले आफ्नो मन्त्रालय सम्हाल्नेबित्तिकै भनेकि थिइन्, ‘दशैंसम्ममा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउछु ।’ खासमा त्यो बेलासम्म मेलम्चीको खानेपानी आयोजनाको जिम्मा लिएको इटालियन कम्पनी सिएमसीले अम्बाथान–ग्याल्थुम खण्डको सुरुङ छिचोल्ने अन्तिम तयारीमा थियो । चैत महिनामा सुरुङ वारपार गरियो, जसलाई केहीले ब्रेक थ्रु भने कसैले बोल्न अलि नजानेर ‘ब्रेक थुरु’ पनि भने । 

 

खानेपानी मन्त्री मगरले पनि चैत र वैशाखका हरेक सार्वजनिक कार्यक्रममा ‘मेलम्चीको सुरुङ ‘ब्रेक थ्रु’ भयो, अब दशैंमा काठमाडौंबासीले मेलम्चीकै पानी पिउँछन् भनिरहिन् ।’

 

जेठ महिनामा सिएमसीले सरकारसँग किचलो झिकिहाल्यो । सम्झौतामा उल्लेख भएभन्दा बढी काम गरेको दाबीसहित सिएमसीले सरकारसँग डेढ अर्ब दावी गर्दै एक महिना काम ठप्प पारिदियो । सहि अर्थमा इटालीको ठेकेदार कम्पनीले सम्झौताभन्दा बढी काम किन गथ्र्यो र नेपालमा ‘जे गरे पनि चल्छ’ भन्ने बुझेर किचलो झिकेको थियो । 

 

सिएमसीको त्यो किचलोपछि दशैंमा मेलम्चीको पानी नआउने लगभग तय नै भयो । दशैं र मेलम्चीको किस्सा समाप्त भएपछि अहिले खानेपानी मन्त्री बीना मगर एजेन्डाविहिन सरह भएकी छिन् । ‘दशैंसम्म मेलम्चीको पानी आउँछ’ भन्ने कुरा नै असत्य साबित भइसकेपछि जनता आशावादी बनाउने अर्को कुनै ‘इस्यु’ उनीसँग छैन । 

 

जनबोलीमा ‘बुहारीमन्त्री’को ट्यागसमेत उनलाई लाग्छ । प्रमुख योग्यता भन्नु नै ‘प्रचण्डकी बुहारी’ भएपछि उनलाई केही कुरामा सजिलो हुने नै भयो । तर घरभित्रै भने कसले मार्ने बाजी ? भन्ने स्थिति छ । प्रचण्डकी छोरी रेणु दाहाल भरतपुर महानगरकी मेयर छिन् । बुहारी त मन्त्री नै । ज्वाईलाई समेत मोरङबाट प्रदेश सांसद बनाउन खोजेका थिए प्रचण्डले । जनताले भोट नदिएपछि केही शिप लागेन । 

 

अहिले प्रचण्डको घरमा बुहारी बिना र छोरी रेणुको जहारी छ–स्रोत भन्छ, ‘राजनीतिमा कसले खुट्टा बलियोगरी टेक्ने, कसलाई अध्यक्ष कमरेडको निगाह हुने भन्ने रस्साकस्सीले परिवारमा किचलो छ ।

 

प्रचण्डको उत्तराधिकारीका रुपमा छोरी र बुहारी दुवैले आफूलाई स्थापित गराउन खोजेको चर्चा छ । 


वीना मगरले चर्चामा आउने गरी कुनै काम गरेकी छै्रनन् । तर उनी काम नगरेकै कारण भने चर्चामा छिन् । 


हुँदा हुँदा मन्त्रिपरिषदलाई पेपरलेस बनाउने भनेर सबैको हातहातमा ल्यापटप थमाइयो । बैठक बस्दा सबैले  ल्याटप ‘अन’ गरे । ‘अन’ गर्दा बाहिरपटि लोगो बल्छ । सबैको बल्यो । बीनाले ल्यापटप खोल्नै जानिन् कि के हो, उनी बन्द ल्यापटपमा काम गरिरहेको जस्तो देखिइन् । त्यस्तै फोटो सार्वजनिक भयो । 

 


मन्त्रीहरुलाई ल्यापटप त दिइयो, तर यो ल्यापटपमा काम गर्न जान्ने कति मन्त्री छन्, कतिलाई नेपाली टाइप आउँछ ? भन्ने कुरा थाहा छैन । काम भन्दा फेसबुक, ट्वीटर चलाउन बढी उपयोगी हुने हो कि भन्ने आशंका पनि छ ।  

बीना मगर पुष्पकमल दाहाल प्रचण्ड

विशेष