मुख्य समाचार

नेपालको उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने

नेपालको उर्जा क्षेत्रमा बंगलादेशले लगानी गर्ने

काठमाडौं । बंगलादेशले नेपालको ऊर्जा क्षेत्रमा काम गर्न सहमति भएको छ । नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएपछि ऊर्जा क्षेत्रमा काम गर्ने निश्चित भएको हो । लामो समयदेखि नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले काम गर्ने चासो देखाएको थियो ।

 

सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, उर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ ।

 

आगामी दुई महिनाभित्रै ती समितिको बैठक बसेर भावी कार्यदिशा तय गरिनेछ । बंगलादेश सरकार–सरकार र निजीस्तरमा लगानीका लागिसमेत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले जानकारी दिए । ‘नेपालको ऊर्जा र जलस्रोतका क्षेत्रमा सहकार्यका लागि एउटा महत्वपूर्ण अवसर आएको छ । त्यसको लागि हामीले मार्ग प्रशस्त गरेका छौँ ।

 

‘आज सोही सिलसिलामा महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ’, मन्त्री पुनले भने । यस्तै समझदारी पत्रअनुसार बंगलादेश सरकार तत्काल नै नेपालबाट ५ सय मेगावाट विद्युत् खरिदका लागि समेत तयार भएको उनले जानकारी दिए । भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरिद गर्न बंगलादेश यसअघि नै तयार भएको थियो ।

 

आजको सहमतिपछि थप मार्ग प्रशस्त भएको छ । दुबै देशमा संयुक्त लगानी गर्ने, बंगलादेशले नेपालको विद्युत् खरिद गर्ने र सरकारी तहमा उच्चस्तरीय संयन्त्र बनाएर काम गर्नेलगायत विषय समझदारी पत्रमा समेटिएको छ । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेश स्वयंले नै लगानी गर्ने वा संयुक्त कम्पनी बनाएर लगानी गर्ने वा अरू कुनै उपाय अपनाउने भन्ने विषयमा द्विपक्षीय छलफलमा महत्वपूर्ण सहमति भएको मन्त्री पुनको भनाइ छ ।

 

बंगलादेशले नेपालबाट करिब पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा यसअघि नै भारत र चीनसँग हस्ताक्षर भइसकेको छ । बंगलादेशसँग भएको यो तेस्रो सम्झौता हो । नेपालको विद्युत् क्षेत्रीय बजारमा समेत लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बंगलादेशसँग द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

 

बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले बंगलादेशी जनताको सपना पूरा गर्ने र ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ आफ्नो देशले ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपालसँग हात बढाएको बताए । नेपालमा जलस्रोतको अपार सम्भावना भएकाले दुई देशका सरकारी वा निजी क्षेत्रले मिलेर काम गर्ने जानकारी दिँदै उनले समझदारी पत्र ऐतिहासिक महत्वको रहेको उल्लेख गरे ।

 

आफ्नो देशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको जानकारी दिँदै उनले त्यसका लागि करिब ६० हजार मेगावाट विद्युत् जरुरी रहेको र नेपाल मात्रै उपयुक्त विकल्प रहेको बताए । 
 

ऊर्जा क्षेत्र

विशेष