भारतमा २९ जना छन् नक्कली शंकराचार्य
विवाहिता ‘शंकराचार्य’ हेमा कसरी सुश्री ?
काठमाडौं । मोरङको पथरी–शनिश्चरे नगरपालिकामा गएको वर्ष भएको स्थानीय तहको निर्वाचनमा कमल थापाको राप्रपाबाट मेयरमा उठेकी थिइन् – हेमा ढुंगाना । तीन चार सय मत ल्याएर मेयरमा हारिन् । त्यसअघि हेमा विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा थिइन् । त्यसअघि नेपाली कांग्रेसमा । नेपाल प्रहरीका सई कृष्णप्रसाद ढकालसँग २०६७ सालमा पारपाचुके गरेपछि उनी ‘सिंगल’ जीवन व्यतित गरिरहेकी छन् ।
पछिल्लो समय उनी एकाएक शंकराचार्यका रुपमा नेपालमा चर्चित भएकी छन् । आदिकालदेखि चलिआएको परम्पराअनुसार विश्वमा चार वटा पीठ छन्, जहाँ चार शंकराचार्य रहने गर्छन् । भारतको अखिल भारत विद्वत् परिषद्ले हालै पशुपतिनाथलाई पनि पीठ मानेर पाँचौं शंकराचार्यको रुपमा हेमा ढुंगाना (हालको परिवर्तित नाम हेमानन्द गिरी) लाई अगाडि सारेको छ । हेमालाई आउँदो भदौं ८ गते पशुपति क्षेत्रमा शंकराचार्यको पदवी ग्रहण गराईदैछ । उनी विवाहिता भएर पनि आफूलाई ‘सुश्री’ लेख्ने गर्छिन् ।
उत्तराखण्डको ज्योर्तिमठका लागि शंकराचार्य पदमा हेमाको नाम सिफारिस भएको थियो । तर उनलाई सो पदमा नियुक्त गरिएन । एउटा धार्मिक संस्थाले अस्वीकार गरिसकेपछि अखिल भारतीय विद्वत् परिषद् नामक अर्को संस्थाले हेमालाई पशुपतिनाथको शंकराचार्य बनाउन खोजेको हो ।
पशुपतिनाथमा शंकराचार्य रहने व्यवस्था भने छैन । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेती भन्छन्, ‘पशुपतिनाथ पीठ होइन । यहाँ शंकराचार्य रहने परम्परा पनि छैन । बाटोमा हिँड्दै गर्दा मलाई भारतको कुनै संस्थाले नेपालका राष्ट्रपति घोषणा गरिदिए जस्तै हो, पशुपतिमा शंकराचार्य राख्ने भनेको पनि ।’
हाल चर्चामा आएकी हेमा ढुंगानालाई शंकराचार्यको उपाधि दिने संस्थाबारे निर्देशक उप्रेतीले भने, ‘विद्वत् परिषद्’ नामधारी ७० वटा संस्था भारतमा छन् । ती मध्ये एउटालाई त्यहाँको सरकारले पनि मान्यता दिएको छ । बाँकी संस्थाले यसैगरी कसैलाई शंकराचार्य, कसैलाई जगतगुरु जस्ता उपाधि बाँड्दै हिँडछन् । कर्नाटक, पुरी, बद्री केदार, द्वारकामा भएका शंकराचार्य मात्रै आधिकारिक हुन् । बाँकी बग्रेल्ती संस्थाले घोषण गरेका शंकराचार्य भारतमै पनि २९ जना छन् । जसलाई नक्कली शंकराचार्यको रुपमा बुझ्ने गरिन्छ ।’
भारतमा भगवान शिवका १२ ज्योतिर्लिङ्ग छन् । ती १२ भन्दा माथि पशुपतिनाथको ज्योतिर्लिङ्गको स्थान छ । निर्देशक उप्रेती भन्छन्, ‘पशुपतिनाको आदि ज्योतिर्लिङ्ग हो । पशुपतिनाको शंकराचार्य स्वयं पशुपतिनाथ नै हुन् । पशुपतिनाथको मन्दिर परम्परा र सरकारी कानुन अनुसार सञ्चालन हुन्छ ।’
शंकराचार्य पद प्राप्त गर्नका लागि बाल ब्रम्हचारी पुरुष हुनु पर्छ । दण्डस्वामी पद प्राप्त गरिसकेकाहरुबाट उत्कृष्टले सो पद पाउँछन् । शंकराचार्य हुन सन्यास लिएको हुनु पर्छ । तर दशनामी सन्यासीलाई शंकराचार्य बनाउन मिल्दैन । उप्रेती भन्छन्, ‘लगाएको जनै फुकालेर दण्डीमा बाँधेर सन्यास लिने हो । त्यसपछि दण्ड स्वामी हुने र शंकराचार्य बन्ने प्रक्रिया सुरु हुन्छ ।’
हेमा ढुंगानाले सन्यास लिएर आफू दशनामी भएको उल्लेख गर्दै थरमा गिरी लेख्न थालेकी छन् । हेमाको हालसम्म औपचारिक उपाधि भनेको जुना अखडाकी महामण्डलेश्वर हुन् । जुना अखडा भनेको नागा बाबाहरुको आश्रयस्थल हो ।
शंकराचार्य हेमानन्द गिरीको विषयमा उठेका प्रश्नहरुबारे हामीले उनलाई सोधका छौं । जसको जवाफ उनले यसरी दिइन्ः
‘पत्रकारहरुले उल्टासीधा छाप्ने गरेको पाएँ । मैले एक कुरा भन्दा अर्को छापियो । यसकारण पत्रकारहरु सुरुमा इमान्दार हुनु पर्छ । जसले महिलाहरु शंकराचार्य बन्न सक्दैनन्, चार मठमा मात्रै शंकराचार्य हुन्छन् भन्छन् तिनीहरु राष्ट्रविरोधीहरु हुन् । उनीहरुले नेपाली राष्ट्रियतामाथि प्रहार गरेको हो । नेपालीको शान उच्च बनाउने गरी पहिलो पटक नेपालमा मलाई शंकराचार्यको सम्मानबाट विभूषित गर्न लागिएको छ । यस्तो कुरामा प्रशंसा सम्मान प्रकट गर्नु पर्नेमा केही मानिसहरुविरुद्धमा लागेका छन् । म पशुपतिनाथ पीठको शंकराचार्य हो । तर यसको मतलव मैले पशुपतिसँग आश्रम मागेको छैन । नाम मात्र पशुपनिताथको शंकराचार्य हो ।
अहिले मैले पाएको सम्मान भनेको जंगलमा बाटो खने जस्तो हो । मपछि मेरा उत्तराधिकारीले यो पद पाउने छन् ।
नेपालका केही धार्मिक संघ संगठनले विरोध गर्दैमा केही फरक पर्दैन । कर्ममा विश्वास गर्छु, डंका पिट्नेहरुको काम नै त्यही हो । त्यसले मलाई छुँदैन । कसैलाई अरुको सम्मान गर्न आउँदैन भने उसले उसलाई अपमान गर्ने अधिकार पनि छैन ।
भारतमा धेरैवटा विद्वत् परिषद छैन । अखिल भारतीय विद्वत् परिषद् छ त्यो नै आधिरिक र वृहत हो । त्यही संस्थाले शंकाराचार्यको उपाधि दिएको हो । दशनामी सन्यासी शंकराचार्य हुन मिल्दैन भन्नेहरु अज्ञानी हुन् । जोसँग ज्ञान छैन उसले विरोध गर्नु स्वभाविक हो । मैले दण्ड स्वामीको विधान पूरा गरेर शंकराचार्य उपाधि प्राप्त गरेको हो ।
घरमा बसेर पुरेत्याई गर्ने, पुराणवाचन गर्ने, पैसा कमाउनेहरुले हामीजस्तो सन्यासीको विरोध गर्न सुहाउँदैन । मेरो विरोध गर्ने हो भने कम्तिमा मेरो स्थानसम्म आइपुग्नु पर्छ ।
अहिले मलाई प्राप्त भएको सफलतामा नेपालका महिलाहरु बढी खुसी भएका छन् । पदस्थापनाका बेला डोलेश्वर महादेवमा हेर्न आउनु होला, नेपालका दिदीबहिनीहरु कति खुसी हुनु भएको छ ।’