‘दर्शकको माग हुँदैमा उत्ताउलो गीत गाउनु हुँदैन्’ (भिडियोसहित)
काठमाडौं । लमजुङमा जन्मिएकी गायिका सुनिता अधिकारीमा बाल्य कालदेखि नै गीतसंगीतमा मोह थियो । गाउँघरमा विवाह हुँदा मेरी आमा रत्यौलीमा गीत गाउन जाने हुनाले उनमा पनि संगीतको प्रभाव परेको थियो ।
ठूलो हुँदै जाँदा पनि त्यो मोह उनमा बढ्दै गयो । सुनिताले हातमा ‘आई लभ म्युजिक’ भनेर ट्याटु नै खोपिन् । संगीतमा मात्र होइन उनलाई बाल्य कालदेखि नाच्नमा पनि सोख थियो । त्यस कारण यस वर्ष उनले गाएको ‘क्यारम मायाले’ बोलको तीज गीतमा पनि नृत्य आफैँले प्रस्तुत गरेकी छन् । गीतसंगीतमा लागेको मोहबारे प्रश्न गर्दा अधिकारी भन्छिन्, ‘लमजुङको माटो नै नाच्ने गाउने हो ।’
अधिकारी गायन क्षेत्रमा निरन्तर लागेको करिब ७ वर्षजति भयो । तर, अन्य गायिकाजस्तो चर्चामा भने आउन सकेकी छैनन् । यस सन्दर्भमा उनले भनिन्, ‘सबैकोे आफ्नै किसिमको यात्रा हुन्छ । त्यसैले मलाई केही आपत्ति छैन । राम्रो गर्नेहरूलाई देखेर त्यस्तै हुँ भन्ने लाग्छ । छोटो समयमै चर्चा बटुल्छन् कोही । त्यो पनि उनीहरूमा भएको खुबी हो ।’
लोक गायनको क्षेत्रमा गायिका ज्योति मगरले विकृति ल्याइन् भनेर पनि बेलाबखतमा चर्चा हुने गर्छ । यस विषयमा अधिकारीले भनिन्, ‘ज्योति मगरले विकृति ल्याएको भन्न मिल्दैन । दर्शकहरू नै त्यस्तैै चाहन्छन् भने त्यो सबै कलाकारलाई दोष दिन मिल्दैन । कुनै ठाउँमा सांगीतिक कार्यक्रम हुँदा, अरू गायक गायिका गए भने त्यत्ति घुइँचो लाग्दैन जति ज्योति मगर जाँदा लाग्छ । त्यो त सबै दर्शकहरूले नै गर्दा हो । ज्योति मगरले त केवल समयले जे मागेको त्यही पस्केको मात्र हो ।’
दर्शक, श्रोताको इच्छाअनुसार कलाकारले आफ्नोे कला प्रस्तुत गर्ने भए पनि दर्शकले माग्दैमा उत्ताउलो गीत ल्याउनु हुँदैन भन्ने उनको मान्यता छ । तीज आएसँगै बजारमा सयौं गीत रिलिज हुन्छ । बजारमा धेरै संख्यामा तीज गीत आउँदा प्रतिस्पर्धा कत्तिको हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘तीज गीतमा प्रतिस्पर्धा गर्न गाह्रो नै छ । अहिले तीज गीतहरू गनेर साध्य छैन । त्यसमध्येमा पनि आफू अघि आउन प्रतिस्पर्धा त हुन्छ नै ।’ यसै वर्ष सुनिताको ‘क्यारम मायालाई’ बोलको गीत बजारमा आएको छ ।
बजारमा बेलाबखतमा आउने गीत संगीतसँगै सुनितालाई मनपर्ने गायक गायिका पनि फेरिरहन्छन् । तोकेरै मनपर्छ भन्ने त्यस्तो कुनै गायक गायिका नभएको उनले जिकिर गरिन् ।
अहिले तीजमा महिनौं अघिदेखि दर खाने प्रवृत्ति छ । यसले समाजमा विकृति ल्यायो भन्ने भनाइ कस्तो लाग्दा भन्दा उनले भनिन्, ‘तीज भनेकै महिलाहरूका लागि हो । साथीहरू धेरै हुन्छन् । सबै आफ्नो काममा व्यस्त हुन्छन् । दर कार्यक्रम गर्दा सबैको भेटघाट हुन्छ । त्यो सकारात्मक पाटो हो । तर, जमघट हुने नाममा र दरको निहुँमा जाँडरक्सी खानु भने नराम्रो हो ।’
अधिकारीका अनुसार यस क्षेत्रमा टिक्न र बिक्न पनि गाह्रो छ । एउटा सामान्य गायक गायिकाले दोहोरी साँझमा काम गरेर महिनामा जम्मा गरेको एक डेढ लाख रुपैयाँले एउटा एल्बम निकाल्नुप¥यो भने पनि पुग्दैन । तर आफू आफ्नो आत्म सन्तुष्टिकै लागि पनि यस क्षेत्रमा संघर्षरत रहने उनले बताइन् ।
गायिका सुनिता अधिकारी