बक्स अफिसबाट नेपाली सिने क्षेत्र उत्साहित
काठमाडौं । नेपाली सिने क्षेत्र बक्स अफिस प्रणाली सुरु गरेपछि उत्साही देखिएको छ ।
बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको हो ।
नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि बहसमा रहेको बक्स अफिसको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपत्यकाका फिल्म हलमा लागू गरेको हो ।
बक्स अफिस लागू भएपछि अनलाइन डाटामार्फत चलचित्रको आयको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ भने त्यसबाट राजस्व संकलनमा राज्यलाई सहयोग पुग्नेछ । बक्स अफिस प्रणालीमा टिकट लिएको करिब आधा घन्टामा चलचित्र विकास बोर्ड, आन्तरिक राजस्व विभाग र हल सञ्चालकलाई जानकारी हुन्छ ।
बक्स अफिस लागू भएसँगै हलको वर्गीकरण हुने र विदेशी विज्ञापन बन्द हुने मन्त्रालयले जनाएको छ । बक्स अफिस कार्यान्वयन समितिको बैठकले ०७५ वैशाख १ देखि परीक्षण गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो । उपत्यका बाहिरका जिल्लामा भने माघ १ गतेदेखि लागू गर्ने सरकारको योजना छ ।
कुन फिल्मि हलमा कति टिकट बिक्री भयो भनेर अनलाइनबाटै आधारित तथ्यांक लिन सकिने ‘इ–टिकेटिङ’ प्रणाली हो बक्स अफिस । हलबाट सफ्टवेयरमार्फत सर्भरमा जोडेर तथ्यांक संकलन गरेपछि हल सञ्चालकले लगानीकर्तालाई छल्न नपाउने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।
बक्स अफिसबारे सर्भरलाई चलचित्र विकास बोर्डमा राखिएको छ । बोर्डले फिल्म वितरण, निर्माता र कर कार्यालयलाई सर्भरको कोड दिएपछि मात्र अनलाइनमार्फत सम्बन्धित फिल्मको व्यापारबारे जानकारी लिन सकिन्छ ।
चलचित्र विकास बोर्डका अनुसार अहिले उपत्यकाका २० वटा चलचित्र हलमा मात्र बक्स अफिस लागू भएको छ ।