कमला नदीमा यस वर्षकै ठूलो बाढी
सिन्धुली । कमला नदीको बढ्दो जलस्तरसँगै किनारका बस्ती जोखिममा परेका छन् ।
नदीको बढ्दो जलस्तरसँगै तल्लो क्षेत्र सिरहा र धनुषामा जोखिम बढेको छ । भेल बढेपछि त्यस भेगका नदी किनारका बासिन्दा डरले निदाउन सकेका छैनन् । केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुलीस्थित कमला, चदाँहा, मरिण, ग्वाङलगायत खोलामा पानीको बहाव अत्यधिक बढेको छ ।
पानीको बहाव वढेपछि सबैभन्दा बढी तीर्थयात्री समस्यामा परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगङ्गा महादेव मन्दिरमा दर्शन गर्न आएका तीर्थयात्री कमला नदीमा पानीको बहाव बढेपछि समस्यामा परेका हुन् ।
वर्षात्का कारण कमला नदीमा पानीको बहाव बढेपछि प्रहरीले उनीहरूलाई सुरक्षित राख्दै कमला नदी तर्न दिएको छैन । मन्दिरमा दर्शन गरी फर्किएका दुई हजार तीन सयभन्दा बढी दर्शनार्थीलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।
चन्दनपुरबाट कमला खोला तरी मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न गएका तीर्थयात्रीलाई अहिले अन्यन्त्रैबाट गन्तव्यमा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए ।
यस वर्षकै सबैभन्दा ठूलो बाढी कमला नदीमा आएकाले तीर्थयात्रीलाई नदी तर्न नदिइएको र फर्कन चाहने तीर्थयात्रीलाई दुधौली नगरपालिकाको हर्षाही–जगाडी हँुदै चन्दनपुरतर्फ पठाइने उनले बताए ।