मुख्य समाचार

मुलुकी संहिताका ४ विधेयक राष्ट्रियसभामा पेश, दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

मुलुकी संहिताका ४ विधेयक राष्ट्रियसभामा पेश, दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

काठमाडौं । सरकारले विभिन्न ४ वटा विधेयक राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबारको  बैठकमा सरकारका तर्फबाट सम्बन्धित मन्त्रीहरूले विधेयकलाई बैठकमा पेश गरेका हुन् ।

 

कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ लाई बैठक समक्ष पेश गरेका हुन् ।

 

त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक २०७५लाई बैठक समक्ष पेश गरे ।

 

बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ पेश गरेका हुन् ।

 

माथिका सबै विधेयकमाथि कुनै पनि विरोधको सूचना परेका थिएनन् । 

 

यसैबीच साेमबारको दाेस्राे  राष्ट्रियसभाको दोस्रो बैठकले पूर्वसांसद भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले पारित गरेको हो । वि.सं. २०१५ को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सांसद राणाको ९१ वर्षको उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातका कारण निधन भएको थियो ।

 

पूर्व सांसद राणा नेपालको प्रथम जननिर्वाचित संसदमा प्रमुख प्रतिपक्षी दलका नेता हुनुहुन्थ्यो भने पछि गोर्खा परिषद्बाट नेपाली काङ्ग्रेसमा प्रवेश गरी केन्द्रीय सदस्य बनेका थिए ।

 

बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षरत एक प्रखर व्यक्तित्वको छवि बनाएका स्व. राणाको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गर्‍यो ।

 

राष्ट्रियसभाको अर्को बैठक मङ्गलबार दिउँसो २ बजे बस्नेछ ।

विशेष