‘अब चाहिँ निजी कम्पनीका जासुसलाई टेलिकमको प्रबन्ध निर्देशक नबनाइयोस्’
कामिनीका कारण १५ अर्ब गुमायो टेलिकमले
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा आम्दानी र खुद नाफा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको भनेर गरेको दाबी यथार्थपरक नभएको खुलासा भएको छ ।
टेलिकमको प्रबन्ध निर्देशक पदमा कामिनी राजभण्डारी नियुक्त भए यता समग्रमा टेलिकम ओरालो लागेको स्वयं टेलिकमका वरिष्ठ अधिकारीहरू बताउँछन् ।
प्रबन्ध निर्देशक राजभण्डारीले टेलिकमको खुद नाफा अघिल्लो आवको वर्षको तुलनामा २.१९ प्रतिशतले वृद्धि भएको अर्थात् टेलिकमले गत आवको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणमा ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ पुगेको उल्लेख गरेता पनि यथार्थमा वार्षिक लक्ष्य र उपलब्धिका स्रोत र साधनका आधारमा भन्ने हो भने टेलिकमको काम र गुणवत्ताअनुसार करिब पन्ध्र अर्ब २२ करोड जत्ति हुनुपर्ने नाफा गुमाएको देखिन्छ ।
प्रबन्ध निर्देशक राजभण्डारीद्वारा प्रस्तुत आव ०७४–०७५ आय–व्यय विवरणको इबिटिडिए शीर्षकमा आय शुन्य दशमलव ४८ प्रतिशतले घटेको स्पष्ट छ । इबिटिडिए भन्नाले कर, ब्याज, डिप्रिसियसनभन्दा अगाडिको आय हो । यस्तो आयको दर आव ७३÷७४ मा ५७ दशमलव ७७ प्रतिशत थियो । त्यसलाई बढाएर कामिनिले ६७ दशमलव ३२ प्रतिशत पुर्याउने घोषणा गरिन् । तर गत आवमा प्राप्त भयो ५७ दशमलव २९ प्रतिशत । अर्थात अघिल्लो आवमा जति पनि यो शीर्षकमा आय बढ्न सकेन । लक्ष्यको त कुरै भएन ।
कम्पनीहरुमा अपरेटिङ र ननअपरेटिङ आय भन्ने हुन्छ । टेलिकममा अपरेटिङ आय भन्नाले टेलिकम सेवा उपलब्ध गराएबापत हुने अाम्दानी हाे । उदारण दिनु पर्दा रिचार्ज बेचेको पैसा, ल्यान्डलाइनकाे बिल अादि हो । ननअपरेटिङ भनेको अन्य शीर्षकबाट हुने अाय हाे । उदाहरणका लागि भाडा, ब्याज, अन्य कम्पनीमा गरिएकाे लगानीकाे प्रतिफल अादि हाे ।
कामिनीको असक्षमताका कारण टेलिकमले अघिल्लो आवमा भन्दा गत आवको अपरेटिङ आय घटेको छ । यो आय १० प्रतिशतले वृद्धि गर्ने कामिनीकै लक्ष्य हो । त्यो लक्ष्य पूरा भएको भए टेलिकमले गत आवमा ४५ अर्ब भन्दा केही बढी आय गर्नु पथ्र्यो । अघिल्लो आवको जति मात्रै कमाई भएको भए पनि ४० अर्ब भन्दा केही बढी हुनै पथ्र्यो । तर भयो ३९ अर्ब ३२ करोड आय । ४५ अर्बको लक्ष्य पाउन केही गाह्रो थिएन । केही योजनाहरु लागू गरिदिएको भए सजिलै आय बढ्ने थियो । तर कामिनीले त्यसो गरिनन् । प्रतिस्पर्धी कम्पनीहरुलाई बजार ओगट्ने अवसर दिँदा लक्ष्य धराप भयो । यो शीर्षकमा मात्रै पनि टेलिकमले ५ अर्ब ७१ करोड जति आय गुमाएको छ ।
नन अपरेटिङ आयमा भने टेलिकम फाइदामा गएको छ । नन अपरेटिङ आय भनेको के हो भन्ने कुरा माथि पनि भनिसकिएको छ । ननअपरेटिङ आय बढ्नुलाई नेतृत्वको सफलता मानिदैन । उदाहरणका लागि बैंकले ब्याज बढी दिन थाल्यो भने आय बढ्छ । यसमा प्रबन्ध निर्देशकले जस लिने ठाउँ हुँदैन । अघिल्लो आवमा ४ अर्ब भन्दा बढी आय भयो भने गत आवमा ६ अर्ब भन्दा बढी आय भएको छ । यो शीर्षमा टेलिकमले २ अर्ब १२ करोड बढी कमाएको छ ।
कुल आय पनि १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य कामिनीको थियो । तर त्यस्तो केही भएन । अघिल्लो आवमा ४४ अर्ब भन्दा बढी आय थियो । गत आवका लागि लक्ष्य ४९ अर्ब १५ करोड तोकियो । तर भयो ४५ अर्ब भन्दा अलिकति बढी । लक्ष्यअनुरुप आय नहुँदा टेलिकमले यो शीर्षकमा ३ अर्ब ५९ करोड गुमाएको छ ।
ल्यान्डलाईन टेलिफोनको आयो पनि १० प्रतिशतले वृद्धि गर्ने भनिएको थियो । लक्ष्यअनुरुप ल्यान्डलाईनको आय बढेको भए कमाई गत आवमा ३ अर्ब भन्दा बढी पुग्नु पथ्र्यो । तर भयो २ अर्ब ५ करोडको हाराहारीमा मात्रै ।
ननअपरेटिङ आयमा भएको वृद्धिका कारण टेलिकमले अघिल्लो आवभन्दा झिनो अंकले बढी आय गरेको छ । बाँकी कुनै शीर्षकमा पनि आय सन्तोषजनक छैन । आय वृद्धि हुनै पर्ने शीर्षकमा पनि हुन सकेकाे छैन । कामिनीलाई सरकारले बर्खास्त गर्नु अघि उनले एक प्रगति विवरण सार्वजनिक गरिन् । जसलाई गोरखापत्रसहित केही मिडियोले ‘आम्दानी र नाफा दुवै बढ्यो टेलिकमको’ भनेर प्रकाशित गरे । खासमा आय नबढेको होइन, तर कसरी बढ्यो भनेर कसैले पनि खोजी गरेनन् ।
कामिनीको किस्सा लगभग समाप्त भइसकेको छ । उनको असक्षमताले नेपाल टेलिकमले आर्जन गर्न सक्ने १५ अर्ब जति आय गुमाएको छ । १५ अर्ब आय बढेको भए टेलिकम अहिले कति मजबुत हुन्थ्यो होला, विचारणीय छ ।
नेकपाका अध्यक्ष तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू जनजाति र महिला हकअधिकारका लागि लडेका योद्धा भएकाले नेपाल टेलिकममा कामिनी राजभण्डारीले आफ्नो प्रतिभा देखाउन सकून भनी महिला वर्गबाट टेलिकमको कार्यकारी पदमा उनलाई नियुक्त गरेको गर्वको बखान यहाँनेर कसैले बिर्सेका छैनन् । राजभण्डारीले प्रचण्डको सदाशयताको कुरा त छाडौं त्यसपछिका सरकारका निर्देशन पनि सक्षमतापूर्वक बहन गर्न सकिनन् । हुन त राजनीतिक दलहरूले नेपाल टेलिकमलाई दुहुनु गाई नै सम्झेका छन् । तर टेलिकमप्रति जिम्मेवार र वफादार व्यक्ति भएको खण्डमा प्रशासन सञ्चालन गर्ने तौरतरिकामा भिन्नता आउँछ । नेपाल टेलिकमको नाजुक इतिहासमा आफूलाई सक्षम प्रमाणित गर्न धेरै इमान्दार अधिकारीहरूले आफूलाई बलिवेदीमा चढाएका छन् । तर टेलिकमलाई डुब्नबाट जोगाएका छन् ।
अब को बन्ला प्रबन्ध निर्देशक ?
कामिनीलाई टेलिकममा ल्याउन तत्कालीन सञ्चार सचिव दिनेश थपलिया, सञ्चारमन्त्री राम कार्कीसहितलाई मिलाउन एनसेलले ७ करोड खर्चेको चर्चा छ । यसपटक पनि अब टेलिकमको एमडी कसलाई बनाउँदा फाइदा होला भनेर एनसेल, स्मार्ट टेलिकममा अजयराज सुमार्गी र सिजी टेलिकमका विनोद चौधरीले चासो दिने निश्चित छ । प्रतिस्पर्धी कम्पनीहरुले चाहेजस्तो व्यक्ति नेपाल टेलिकममा एमडी बनेर आउँदा उसले एनटिसी डुबाएर भए पनि अरुलाई सजिलो पारिदिने काम गर्छन् । यो प्रशंगको बलियो उदाहरण हो–कामिनीले फोरजीको बजार एनसेललाई जिम्मा लगाएर आफ्नो फोरजी सेवा सञ्चालन नै नगर्नू ।
जिएसएममा नेपाल टेलिकमलाई उछिनिसकेकाे छ । एनसेलको यस्तो सफलतामा कामिनी जस्ता प्रबन्ध निर्देशकको ठूलो योगदान छ । अहिले पनि तपाई हामीले नेपाल टेलिकमको मोबाइलमा आवाज राम्रो नसुनिने, नेट राम्रो नचल्ने, रिचार्ज कार्ड कोट्याउँदा अंकसहित उप्किने समस्या झेलिरहेका छौं । सामान्य ग्राहकले सोच्दछन् कि प्राविधिक सेवा यस्तै हो । तर होइन, रिचार्ज कार्डको क्वालिटी पटकपटक परिवर्तन हुन्छ । यस्तो हुनुमा ग्राहकलाई सास्ती होस् र उ एनसेल तिर ढल्कियोस भन्ने हो । आवाज नसुनिने पनि प्राविधिक समस्या होइन । किनभने एनटिसीसँग जति आधुनिक प्रविधि कसैसँग पनि छैन । जनशक्ति पनि उत्ति नै सक्षम छन् । नेट नचल्नुमा पनि प्रविधिको दोष होइन ।
टेलिकमका पियनदेखि हाकिमसम्मका कर्मचारीहरुको एउटा विषयमा साझा धारणा छ । त्यो हो– पैसाको चलखेल भयो भने फेरि पनि एनसेलको प्रतिनिधि एमडी भएर आउने हो । जो हेर्दा टेलिकमको हाकिम देखिन्छ तर उसले एनसेलको हित हुने गरी काम गर्छ । जस्तो कि कामिनीले फोर जीको काम अगाडि नबढाएर एनसेलको काम गरिदिइन् । उनले फोरजी सेवा विस्तार रोकेर एनसेलका लागि बजार ओगट्ने अवसर दिइन् ।
कामिनीलाई अघिल्लो सरकारले नै हटाएको भए टेलिकमको अर्बौ रुपैयाँ जोगिने थियो । तर हटाउने हल्ला फैल्याएर अघिल्ला सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पनि ‘सेटिङ’मात्रै गरे भन्ने चर्चा छ ।
अब नेपाल टेलिकमको एमडी को बन्ला त ? कामिनीको एक वर्ष अवधि बाँकी हुँदै उनलाई सरकारले पद मुक्त गरेको छ । आगामी एक वर्षका लागि सरकारले कामिनीसँगै प्रतिस्पर्धामा रहेका प्रबन्धक सुनिल पोख्रेल वा साे प्रतिस्पर्धामा सुनिलसँगै रहेका नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक मदन खरेललाइ पनि प्रबन्ध निर्देशक बनाउन सक्छ । अर्को विकल्प भनेको खुला प्रतिस्पर्धाबाट आफू अनुकूलको एमडी सरकारले ल्याउन सक्छ । तेस्रो विकल्प भनेको टेलिकमको नियमावली खारेज गरेर राजनीतिक नियुक्ति गर्न पनि सक्छ ।
तत्कालका लागि कामु प्रबन्ध निर्देशकको जिम्मेवारी सूर्यभक्त पोख्रेलले पाएका छन् ।
टेलिकमका अधिकांश कर्मचारीले अब पनि पैसा खर्च गरेर अर्को कम्पनीका जासुसलाई टेलिकमको प्रबन्ध निर्देशक बनाउने हो भने यो ‘ठूलो जहाज’लाई डुब्नबाट जोगाउन कसैले सक्दैन भन्ने गरेका छन् ।
राम्रो सेवा सुविधा दिएर सक्षम र टेलिकमको हित चाहने व्यक्तिलाई प्रबन्ध निर्देशक बनाइयोस् भन्ने कर्मचारीको चाहना छ ।