क्रान्तिले जन्माएको भ्रान्ति
संकेत कोइराला
बीपी कोइराला पत्नी सुशीलासाथ भारतबाट रेलमा घर फर्कदै थिए । मुसलधारे पानी दर्किएको थियो । लुगाको धरोका नाममा एउटा कट्टु मात्र लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश गर्यो । उ मुसो झैं लुथ्रुक्क भिजेको थियो ।
अपरिचित बालक विदेशी भूमिमा त्यसरी प्रकट भएको देखेपछि बीपी दम्पति सचेत भए । पहिले त यात्रु लुट्न बालक प्रयोग गरिएको हुन सक्ने ठानेर उनीहरु सतर्क भए । केहीबेर बुढाबुढी मुखामुख गरे ।
त्यो केटो थर्रर्रर काँपिरहेको थियो । बीपी दम्पति न त्यो केटालाई प्रेम दर्शाउन सक्थे न नजरबाट उसलाई अदृश्य बनाउन नै । तर अपरिचित बालकको आशामुखी नजर बीपी दम्पतिमाथि परिरह्यो ।
यो दृश्यले सुशीलाको बात्सल्य उम्लेर आयो र त्यो बच्चालाई आफू नजिक बोलाइन् । खानेकुरा दिइन् । न्यानो लुगाले शरीर ढाकिदिइन् । त्यो फकिर केटाको न जाने गन्तव्य थियो, न कुनै परिचय नै । बीपीले त्यो बालकलाई सोधे– ‘म संग जान्छौ ?’ उसले पहिलो सोधाइमै स्वीकृतिको मुन्टो हल्लायो । त्यो केटो विराटनगरको कोइराला निवासमा प्रवेश गर्यो ।
उमेरले तारिणीप्रसाद कोइरालाको समवयी त्यो बालकले घरमा सहोदर भाइकै दर्जा पायो । त्यहीँ हुक्र्यो, त्यहीँ बढ्यो । राजनीतिक क्रान्तिका हरेक मोडमा झण्डा बोक्यो । स्वदेशमा होस या प्रवासमा बीपीको असली भाइ बनेर घर र राजनीतिको मोर्चा सम्हाल्यो । साहित्यमा कलम चलायो । भारतमा नामी लेखकको ख्याती पायो । बीपीका अधिकांश कृति हिन्दीमा अनुवाद गर्यो । जसको नाम थियो– फणिश्वरनाथ रेणु ।
नेता कस्तो हुनुपर्छ ? त्यसको सपाट उत्तर संसारको कुनै पनि विधि तथा शास्त्रले दिन नसक्ला । तर व्यक्तित्वको निर्माण हुन उ भित्रको मानव धर्मको दीयो कहिल्यै निभ्नु हुन्न भन्नेमा दुइमत छैन् । संसारमा कसैले वस्तु आविष्कार गर्ने होइन् । न नयाँ माटो बनाउने नै हो । भगवान शिवको आराधना गरेर हिमालय पर्वतबाट हिमचट्टान फोरेर पानी झार्ने होइन् ।
अझ पानी त त्यस्तो चीज हो, जुन एक थोपो पनि कसैले बनाउन सक्दैन । यो त रिचार्ज हुने मात्र हो । हिन्दी फिल्मको हिरो झैं असम्भव पुरुषार्थ देखाउने होइन् । काम गर्नु भनेको इमान्दारीको संस्थागत विकास हो । राज्य सञ्चालन प्रक्रियामा जनतालाई कम गुनासोको अवसर दिनु हो । दुख कहिले पो थिएन ? चोरी, हत्या, बलात्कार, दुराचार, पापाचारका घटना भर्खर शुरु भएका हुन् र ?
होइन, मानव प्रयास यस्ता कुकृत्य न्यून बनाउने तर्फ केन्द्रित हुनुपर्छ । गाई परापूर्व कालदेखिनै घाँस खान्थ्यो । बाघ अहिले आएर मांसहारी भएको होइन् । लामखुट्टे, उडुस, उपियाँलाई मान्छेले तालिम दिएर रगत चुसेर भाग्न सिकाएको होइन् । मान्छेले बाँदरलाई भन्ने त्यही चकचके स्वभावका कारण प्राकृतिक चक्र चलेको छ ।
जहाँ बाँदरले चाहिने भन्दा बढी तुलफूल झार्छ , त्यो खान मृग हाजिर हुन्छ । जहाँ मृग आफ्नो पेट भर्न आउँछ, तब उ पत्तै नपाई चितुवाको आहार भइसकेको हुन्छ । हात्ती स्वभावतः भीमकाय हुन्छ । उ हिँड्दा मात्रै लाखौं साना जीवनजन्तु मरिरहेका हुन्छन् । अब कमिला, पानीमुनिका माछा, गँड्यौलाको नास हुन्छ भनेर हात्तीले दैनिकी ठप्प गर्यो भने के हुन्छ ?
नेताहरुलाई थाहा भएको तर बक्न नसकेको अज्ञात शक्तिको इन्जिनीयरिङमा बनेको संघीय लाठेरोपाईंले देश चाल्नी बन्दै गएको छ । जनप्रतिनिधि नामका हजारौं भोकाहरुको महत्वाकांक्षी भीडले भाषण परिवर्तनका गरेपनि चासो रासनबाट माथि उठ्न सकेको छैन । प्रधानमन्त्रीभन्दा वडाध्यक्षको हुँकार ठूलो छ । वडाध्यक्षसंग वडा हैन, देश सम्याउने असीमित योजना छ ।
भागशान्ति खाने सल्लाह नमिल्दा एउटै पार्टीका प्रमुख र उपप्रमुख बोलचाल बन्द छ । भ्रष्टाचारको प्रकृति यस्तो छ कि अख्तियारका अनुसान्धानकर्ता नै तिलमिलाउने अवस्था छ । गाउँपालिका अध्यक्षले निजी गाडी किनेर त्यही गाडी आफ्नो सुविधामा उपयोग गरी तेल, मर्मत र भाडाका नाममा लाखौं असुल्दै आएका छन् । पाँच वर्षसम्म यो खेलकूद चल्दा त्यसको हिसाव किताव समृद्ध नेपाल बनाउनेहरुलाई फलामको चिउरा सावित हुने पक्का छ ।
गाउँमा कोदालो, गैंती, ट्याक्टर, मलबीउमा नभएर डोजर किन्ने प्रतिस्पर्धा छ । कतै आफ्नै नेतृत्व विरुद्ध अनसनमा छन् । कोही सोचेको जस्तो हातमा घिउ नलागेपछि बेल्चा चलाउन खाडी भासिएका छन् । महिलालाई माथि उठाउने नाममा हरेक क्षेत्रमा प्रतिनिधित्व गराउँदा संख्या त बढेको छ तर पारिवारिक, सामाजिक सन्तुलनमा त्यसको नकारात्मक बाछिटा पर्न थालेको छ ।
आमाको कोखमा जन्म लिएको बालकले जुनसुकै कारणले पनि मातृवात्सल्य पाउन सकेन भने त्यसको क्षतिपूर्ति भर्ने अर्को शक्ति आजसम्म संसारमा आविष्कार भएको छैन । विकसित देशमा जन्मसिद्ध बालअधिकारको रक्षा गर्न आमाको कामलाई बन्जेज लगाइन्छ । सिंहदरबादेखि ब्रम्हनालसम्मको यात्रा बैठकै बैठकमा सीमित छ ।
अनुत्पादक जनशक्तिको फैलावट छ । कुनै विचार, वाद, भिजनभन्दा पनि आफू अनुकूलको स्वार्थ बोकेर राजनीतिक खपतमा हिँड्नेहरुको भीड बढ्दो छ । स्वभावतः मानिस आलोचना रुचाउँदैन । त्यसमाथि सत्ता र शक्तिको रथ हाँक्नेहरुका लागि आलोचक त कालो अरिंगाल नै प्रमाणित हुन्छ ।
नेपालमा राणाशासन १०४ वर्ष टिक्यो । पञ्चायतले तीन दशक राज गर्यो । बहुदल डेढ दशकमै नासियो । गणतन्त्रले देशलाई शिर, पुच्छर छुट्याउन नमिल्ने अमिवा बनायो । संघीयताले त सुनामी नै ल्यायो । बेथितिको श्रृंखला बढ्दै जाने हो भने भविष्य अनुमानलायक पनि छैन । संसारमा चलेका सफल शासन व्यवस्था हाम्रोमा भुत्ते भए । नीति अब्बल भएपनि नियत कालो हुँदा कागजमा लेखेको शासकीय संयन्त्र नै अफाप हुने रहेछ ।
अब पढेलेखेका विद्वानहरुले विना पूर्वाग्रही राजहाँस भएर भन्नुपर्यो– यो देशमा भएका हरेक राजनीतिक परिवर्तन किन असफल हुन्छ ? यो देशको माटो सुहाउँदो शासन व्यवस्था कस्तो हुनुपर्छ ?
चुनावले मुलुकको कायापलट भइदिने भएको भए नेपाल संसारको त्यस्तो मुलुक हुनेछ, जहाँ वर्षका ३६५ दिन कसै न कसैको चुनाव भएकै हुन्छ । तर दुर्भाग्य त्यो चुनाव पद्दति, विधि र देश विकासका लागि नभएर शासक जन्माउन हुने गरेको छ ।
एउटा सामान्य संस्थाको सदस्य चुन्न गरिने चुनावमा पनि लाखौंको सौदावाजी देखिन्छ । बाक्लै हुने चुनाव र पैसाको भल बगाउनुपर्ने अघोषित मान्यता स्थापित हुँदै जाँदा करोडौं, अरबौंको यो अदृश्य अंकले देशको अर्थतन्त्रमा कस्तो दुष्परिणाम ल्याउँछ ? संस्थाका नाममा चुनाव लड्ने, संस्था धराशायी बन्दै जाने तर चुनिने व्यक्तिको आर्थिक श्रीबृद्धि हुने यो कस्तो प्रजातान्त्रिक पद्दति हो ?
जुनसुकै तह र तप्काका उम्मेद्वारलाई सहयोग गर्ने दाताको खाँचो छैन् । ईमान र पसिनामा बाँच्नेले कसैलाई चन्दा दिन सक्दैन् । अपराधीले कसैमाथि लगानी किन गर्छ ? उत्तर खुल्ला कितावजस्तै छ । सेना, प्रहरी, न्याय, कर्मचारीको सरुवा बढुवामा पैसामार्फत हुने स्वस्ति शान्तिको त हिसाव किताव नै छैन । त्यो त झन् अविराम चल्ने चुनाव हो । त्यहाँभित्रका यस्ता गतिविधि बरु माछाले पानी खाएको देखिएला तर कर्मचारीले कर्मचारीबाट छिनेको दृश्य नै अदृश्य छ ।
जुनियर डग र सिनियर गडको लक्ष्मणरेखालाई जुनसुकै परिवर्तनले पनि छुट्याउने छाँटकाँट देखिदैन् । राजनीतिमा भित्रिएको वर्णशंकर खेतीले कर्मचारीतन्त्रमा चिनेको हुँदै अब किनेको चाहिँ पक्का दरिँदै गएको छ । चुनावका नाममा हुने बहुरुपियाँले लुट, झुटट र फुटलाई प्रश्रय दिँदै आएको छ । वर्षेनी दर्जनौं चुनाव हुन्छन् । चुनाव लोकतान्त्रिक व्यवस्थाको सामान्य प्रक्रिया हो । तर यो कुनै पर्वभन्दा कम हुँदैन ।
भनिन्छ– नयाँ पात पुरानो पातसंग झर्न बनेको हुँदैन् । तर नेपालको राजनीतिको हाँगामा सुकेको पात झर्न नमान्दा नयाँ मुनाहरु असमयमै ओइल्याएका छन् । टुक्रिएको माओवादी अध्यक्ष वैद्यले नै पदवी छोडेनन् । अरु दुईचार कार्यकालका लागि प्रचण्डले बैना मार्दै आएका छन् । मट्याङ्ग्रा अरुको प्रयोग गर्ने अन्त्यमा शिकार दाउ लाउने केपी ओलीको चलाखी प्रष्टै छ ।
घृणाको त्यो तहमा पुगेर पनि काँग्रेसमा देउवाको विकल्प अरु देखिएन । नेपालका कुनै राजनीतिक दलको मुखिया हुनका लागि त्यहाँभित्रका हजारौंलाई तलब दिन सक्ने सामथ्र्य त्यो व्यक्तिमा हुनुपर्छ भन्ने त नफेरिएका व्यक्तिको अनुहारले प्रष्ट पारेकै छ । पहिला पहिलाका राजा, महाराजा र राजनेताहरुमा प्रताप हुन्थ्यो । त्यसैले तिनीहरु प्रतापी कहलाउँथे । प्रताप भनेको नाममा जोडिएको फुँदो नभएर नैतिकताको अर्को नाम हो ।
अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैं नालायक देख्छ रे ! तर सत्य चाहिँ के हो भने नयाँ पुस्ता जतिसुकै नाकाम भएपनि समय चाहिँ उसैको हो । मानिसको बुढ्यौली लागेपछि उ संग रहेको वस्तु भनेको फगतः अनुभव र अनुभूति मात्र हो । मानिसका जीवनमा दुख सुख त सिक्काको गाई र त्रिशुल हो ।
थालको भात दुख हो भने अचार सुख हो । कोही त्यही अचारको भरमा भात मिठो मानेर बुत्याउँछन् त कोही अचार रित्याएर भातरुपी दुखको पसल खोलेर बस्छन् । सुख र दुखको प्रारब्ध दृष्टिकोणबाट शुरु हुन्छ । मृत्युका अगाडि आपूm मात्र एक्लो ठिंग उभिन्छु भन्ने सोच नै दुखको खाडल खन्ने औजार हो ।
पैसाको महत्व बुझाउन आफ्ना साना नानीलाई जागिर खोजेका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा स्वयं आइसक्रिम पार्लरमा काम गर्थे । अमेरिकी राष्ट्रपतिसंग नारिएर फोटो खिच्न रौसिने हाम्रा प्रधानमन्त्रीहरुले त्यहाँका राष्ट्रपतिको साख ह्वाईट हाउसमा नभएर नैतिकतामा छ भन्ने सत्य किन बिर्सन्छन् ? तर सानो हैसियत पाएका हाम्रो देशका ठूला मान्छेहरु आफ्ना सन्तानलाई भाँडा मोल्न ओबामा देश पठाउँदा छातीको आयतन बढेको सम्झन्छन् ।
प्रकृतिमा मान्छेभन्दा अगाडि जन्मिएको प्राणी साङ्लो हो । जुन प्राणी चार अरब वर्षअघि पृथ्वीमा आएको विश्वास गरिन्छ । यो जति पुरानो छ यसले बोकेको सत्य उति घतलाग्दो छ । तपाईं पत्याउनुहुन्छ ? साङ्लो एकमात्र त्यस्तो प्राणी हो, जसको रगत सेतो हुन्छ । परीक्षण त भएको छैन तर जति परिपक्व हुँदै गयो, उति असहिष्णु हुने हाम्रा नेताहरुमा बढ्दो चरित्र कतै सेतो रगतको करामत त हैन ?