विचार

ब्यंग्य- वाह ! कुखुरीको भाले ? अब कर तिर काले 

ब्यंग्य- वाह ! कुखुरीको भाले ? अब कर तिर काले 

स्कुलकाे गृहकार्य सकाएर केही केटाकेटीहरु चटपट खानकाे लागि सडकमा गएछन् । सडक छेउमा चटपट बेच्ने व्यापारी अरु दिनभन्दा कालाे निन्याउराे अनुहारमा थिए ।

 

केटाकेटीहरले चटपट खाएर पैसा दिने तयारी गरे । साेधे कति भयाे दार्इ ? चटपटेवालाले भने जम्मा १०० रुपैयाँमा मात्र। एउटा केटीले भनिन् । ल दार्इ ! अस्ति ५० रुपैँया मात्र थियाे अाज १०० कसरी ? चटपटेवालाले भन्याे के गर्नु बहिनी सरकारले चटपट बेचे बाफत हामीबाट कर उठाउने रे । हामीले अब अाफ्नाे खर्च धान्ने कि कर तिर्ने ? त्यसैले बढाएकाे ।

 

केटाकेटीहरु जम्मा ५० रुपैँया मात्र बाेकेर त्यहाँ गएका थिए । चटपटेवालाले १०० रुपैँया मागेपछि उनीहरु अलमलमा परे । सबैले मुखामुख गरे तर काेहीसँग नभएपछि बाँकी पैसा घर गएर ल्याउने सहमति भएपछि सबै जना घर गए । घरमा बुबालार्इ पैसा माग्दा अगाडि दिएकाे पैसा खै भन्दै हप्काए ।

 

चटपटेमा कर लगाएकाे भन्दै चटपटेवालाले बढी पैसा लिएकाे बताएपछि केटाकेटीका बुबा छक्क परे । पछिल्लाे दिन गाउँभरी सहरभरी करैकरकाे हल्ला फैलियाे। 

 

याे देशमा केही समय अगाडी खुब मार्सी भातको बास्ना र मन्त्रीहरुकाे गन्ध मिसिएकाे अनाैंठाे फैलावट थियाे । फेरी करकाे बास्ना हाे कि गन्ध भन्दै गर्मीले अत्तालिएका गाउँशहरबासीहरु फुत्त फुत्त घरभित्रबाट बाहिर निस्कन थाले । चटपटवाला, कुखुरा पालक, खाेला तर्दै घाँस दाउरा गर्ने, कर्मचारी, उद्याेगी सबै एक ठाउँमा भेला भए ।  

 

गाउँ टाेलमा चर्चा करकै हुन थाल्याे । भेलाभएका सबैले यसकाे जवाफ प्रधानमन्त्रीलार्इ माग्ने भन्दै बालुवाटार पस्ने तयारी गरे । प्रधानमन्त्रीसँग वार्ताका लागि समय मागे । प्रधानमन्त्री वार्ताका लागि सहमत भए । वार्ता सुरु भयाे । करकाे दायरा ठूलाे भएकाे भन्दै ज्ञापनपत्र बुझाए ।  केहीबेर जनताकाे प्रश्न प्रधानमन्त्रीकाे जवाफ ।

 

जनता: प्रधानमन्त्री ज्यू ! याे कस्ताे सिंहदरबार अाएकाे हाम्राे गाउँ शहरमा ?  जताततै अण्डा, चट्पट, खाेलामा करै कर उठाउँछु भन्दै हिड्या छ त ?

प्रधानमन्त्री: हिजाे संघियता चाहियाे भन्दै सडक र सदन तताए ।  अाज संघियताकाे अभ्यास गर्न एक खुड्किलाे पार के पार गरेकाे थिएँ सबै कर कर भन्दै कराउन थाले । तिमीहरुले संघियता भन्ने कहिले बुझ्या थियौ र भ्यागुत्ता जस्तो क्यार क्यार गरेको ? याे देशमा गरिखान नसकिने भाे बा ! हिजाे देशभर घुमेँ । जहाँ जे बढी देखेँ त्यसैमा कर लगाएँ । धनगढीमा पुँगे त्यहाँ अण्डा र डुङ्गाकाे कर लगाएँ, डडेल्धुरा पुगेँ खसी, बाेका, राँगामा कर लगाएँ, अछाम गएँ  माछामा कर लगाएँ । बुटवल पुँगे त्यहाँ जमिन खरिद बिक्री बढी हुँदाे रहेछ त्यहाँ नक्सा बनाएर कर लिने निर्णय गरेँ । विरगञ्ज गएँ उद्याेग देखेँ । गाडी चलाउने बढी देखेँ त्यसैमा कर लगाएँ । नेपालीहरु सामाजिक सञ्जालमा बढी देखेँ त्यहीँ कर लगाएँ । उद्याेग, सडक जहाँ जहाँ लगानी त्यहाँ कर लाग्छ। अझैं पुगेकाे छैन । यस्ताे गरिब देशमा त्यसै ५ वर्षभित्र कसरी रेल कुद्छ ? कसरी पानी जहाज अाउँछ ? कसरी हाम्रा नेताकाे भुँडी भरिन्छ ? यी यावत कर संघियताकाे लागि स-साना अभ्यास मात्र भएका हुन् । 

जनता: अनि प्रधानमन्त्री ज्यू ! ५ वर्षसम्म सबै नेपाली जनता रित्ताएरै रेल, पानी जहाज मात्रै ल्याउन लाग्नुभएकाे हाे त ?
प्रधानमन्त्री: कस्ताे कुरा नबुझ्या ? त्यसैले त नेपाली जनतालार्इ भेडा भन्छन् । प्रतिपक्ष हाम्राे विरुद्वमा छ । हाम्राे ५ वर्षे अायुमा हामीले जे जसरी हुन्छ मुख्य एजेन्डा त पुरा गर्न पर्‍याे नी । हामीले कमाउने ठाउँ कहाँ छ र अब ? विदेशीले दिएकाे सक्किसक्याे । ढुकुटी देउवा जीले चलाएछन् । काम देखिएन भने प्रतिपक्षले हाम्राे मेहिनेतकाे फार्इदा उठाउँछ । अर्काे कुरा हाम्राे मूल नारा 'सुखी नेपाली समृद्व नेपाल' पुरा गर्नु छ । अघिल्लाे सरकार रित्ताएकाे ढुकुटी भर्नुपर्याे। तब मात्र देश विकासले गति लिन्छ । 

केही समयपछि बजारमा वार्ताबारे खासखुस सुनिन्छ । केहि पत्रकारले थाहा पाउँछन् । त्यसपछि एक पत्रकारले एक इमेल ग्रुपमा एक सन्देश छाेड्छन् । लेखिएकाे हुन्छ हाम्राे प्रेस स्वतन्त्रतामा अंकुश लगाउने एेन अाउँदैछ । बालुवाटारमा सबै मिडियाबाट प्रतिनिधी अाइदिनुहाेला । सबैले सन्देश पछ्याउँदै एकएक जना मिडियाकर्मी बालुवाटार पठाउँछन् । बालुवाटार जनता र प्रधानमन्त्री वार्ता चलिरहेकाे हुन्छ । एक पत्रकार हतार हतार वार्ताकाे तस्वीर खिच्ने तयारीमा हुन्छन् । ती पत्रकारकाे क्यामेरा खाेसिन्छ । अनि अरु पत्रकारहरु छक्क पर्छन् । प्रधानमन्त्री एक सुरक्षा गार्डले भन्छन् । अब क्यामेरा खाेसिएकाे समाचार बनाउनेलार्इ पनि कारबाही गरिनेछ । त्यसपछि पत्रकारहरुले अाक्राेसित हुँदै प्रधानमन्त्रिसँग भेटवार्ताका लागि कुरा अगाडी बढाउँछन् । 

वार्तामा बसेका जनताहरु फेरी विकास र समृद्विकाे सपना देख्दै घर फर्कन्छन् । प्रधानमन्त्रीले पत्रकारसँग वार्ता सुरु गर्छन् । 

एक पत्रकार: प्रधानमन्त्री ज्यू ! प्रेस स्वतन्त्रतामाथि यसरी अंकुश किन ?
प्रधानमन्त्री: हामी संघियताकाे अभ्यासमा छाैं । संघियतामा मुलुक गइरहेका बेला सरकार विराेधी तत्व हामी हावी हुँन दिदैनाै ।  पत्रकार हुँ भन्दैमा मन परेकाे नेताकाे बढाइँ चढाइँ  गर्न र मन नपरेकाे नेताकाे खाेजी खाेजी खाेइराे खन्न पार्इन्छ ? अहिलेका मिडियाहरु त झन् समाचार बिकाउन हाम्राे भनेकाे कुराभन्दा बाहिरकाे समाचार लेख्छन् । यसरी मिडियाले जे पायाे त्यही,जे मन लाग्याे त्यही लेख्न थालेपछि देश विकास र शान्ती स्थापना कसरी हुन्छ ?

पत्रकारहरु एक छिन केही निहुरिन्छन् ।
केही समयपछि अर्का पत्रकार अकमक्किएर प्रश्न गर्छन् : अनि प्रधानमन्त्री ज्यू हामीले विना अनुमति फाेटाे खिच्न नपाउनु ?
प्रधानमन्त्री: मिडिया बिकाउन भन्दै सबै चिजकाे फाेटाे खिच्न पार्इन्छ त ? पत्रकार भयाे भन्दैमा व्यक्तिगत कुरा अाेकल्ने अधिकार कसैलार्इ हुँदैन । 

प्रधानमन्त्रीका जवाफ सुनेपछि पत्रकारहरु पनि निराश हुँदै अा-अाफ्नाे बाटाे लाग्छन् । सबैले साेच्न बाध्य हुन्छन् । संघियता भनेकाे त यस्ताे पाे रहेछ । 'संघीयता ! संघीयता ! भनेर उफ्रिने बेलामा आँखा नदेख्ने, अहिले कर बढ्यो रे ! संघीय प्रणाली नेपाललाई मुस्किलको विषय बन्न सक्छ भन्दा त पश्चगमनकारी नै भन्थ्यौ त मित्र ! अब जीविका जोगाउने कि संघीयता जोगाएर थप संकट निम्त्याउने ?' 

फेसबुकमा पत्रकार लाेकराज अधिकारीले लेखेका छन् । 
वाह ! कुखुरीको भाले ?
अब करतिर काले 
ओहो ! लोकल अण्डा ?
ल खा ! करको डण्डा
आहा ! झोर्ले खसी पनि
कर नतिरी सुख छ त नि ?
बारीमा डल्ले खुर्सानी
झालमा फलेको घिरौला
कर नतिरी कसरी खालास्
लु त ! हामी पनि हेरौंला
स्थानीय कर, प्रदेश कर
राष्ट्रिय कर, विरोध नगर
विरोध गर्नेलाई पनि अब
लगाइदिन्छु विरोधकै कर।
जय होस् नयाँ नेपालमा।

संघियता

विशेष