शुक्रबारबाट धुवाँ फाल्ने गाडी चलाउन राेक
काठमाडौं । शुक्रबारबाट देशभरका महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने सवारी साधान चलाउन निषेध गरिएको छ । गत फागुन १० मा सरकारले गरेको निर्णयअनुसार शुक्रबार (आज) बाट प्रदूषण मापदण्डभित्र नपर्ने सवारी सञ्चालनमा रोक लगाउन लागिएको हो ।
सरकारले २०७५ बैशाख १ गतेबाटै यो नियम लागु गर्ने निर्णय गरेपनि प्रदूषण परीक्षण गर्ने मेसिन आपूर्तिमा ढिलाइ भएपछि भदौ १ गतेबाट यो नियम लागू गरिएको हो ।
डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि देशभरका सहरमा शुक्रबारदेखि कडाइ गरेको यातायात व्यवस्था विभागले जनाएको छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले धुवाँ फाल्ने सवारीसाधनलाई शुक्रबारदेखि सडकमै जफत गरी कारवाही गर्ने जनाइएको छ ।
उपत्यकाको नागढुंगा, बल्खु, टेकु, एकान्तकुना ठूलो भर्याङ र सल्लाघारीमा प्रदूषण मापन गरिँदै आएको छ । विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण जाँच तीव्र गतिमा थालेको छ ।