यौन खुला गरिदिनु पर्छ, ९० प्रतिशत बलात्कार कम हुन्छ (भिडियोसहित)
काठमाडौं । नयाँ शक्ति पार्टीका नेता, कृषि वैज्ञानिक मदन राईका सम्बन्धमा अब धेरै परिचित छन् । राईको विज्ञता कृषिमा मात्रै होइन, समाज, दर्शन र यौन मनोविज्ञानमा पनि छ । उनी सेक्समा संकीर्ण मान्छेले जीवनमा जति ठूलो प्रगति गरे पनि उ अपूर्ण हुने धारणा राख्छन् । सेक्स र राजनीतिको सम्बन्ध पनि उनी देख्छन् । मन मिलेको मान्छेसँग प्रस्ताव राखेर सेक्स गर्नु अपराध होइन भन्छन् । प्रस्ताव राख्दा गलत ठान्ने तर बलात्कार गर्न पछि नपर्ने धारणा विकास हुँदै गएकोले राई चिन्तित छन् । उनले राजनीति, समाज र यौनबारे चर्चा गर्दै यसपटक नेपाल आजसँगको कुराकानीमा निम्नानुसार धारणा व्यक्त गरेका छन् :
राजनीति भनेको मान्छे परिचालन गर्ने माध्यम हो । राजनीति भएन भने मानिसहरुको भिडलाई व्यवस्थित गर्न सकिदैन । सहर गाउँमा मानिसहरु थुप्रिएर बस्छन् । थुप्रिएर बस्दा समाज गञ्जागोल हुन्छ । मान्छे जन्मले नै स्वार्थी प्राणी हो । तर मान्छे एक्लैले सबै कुरा कब्जा नगरोस भनेर राजनीति चाहिएको हो । राजनीतिले समानुपातिक, समान व्यवहार गरेर समाज मिलाएर राखोस् भन्नका लागि हो राजनीति ।
आँटिलो, प्रष्ट वक्ता, सबै कुरा मिलेको व्यक्ति नेता बन्छ । सबै कुरा मिलेको व्यक्तिसँग महिला आकर्षित हुने नै भए । महिला त्यस्तो सुन्दरी छिन भने पुरुषहरु आकर्षित हुन्छन् । नेताहरु त्यस्तो गुणले भरिएका हुन्छन् भने उनीहरुले धेरैसँग सम्बन्ध राख्नु पर्छ । सम्बन्ध भन्नाले यौन मात्रै होइन । धेरैजनासँग सम्बन्ध बनाउनेले सफलता पाएको देखेको छु ।
महिला नेतृका लागि पुरुष कार्यकर्ता पनि मर्न मार्न तयार हुने, पुरुष नेताका लागि महिला कार्यकर्ता पनि उत्तिकै समर्पित हुने हुन्छ । यसअर्थमा हेर्दा यौन र राजनीतिको सम्बन्ध छ ।
नेपालमा यौन र राजनीति जोडिएको त छ तर धेरै छैन । किनभने नेपाली समाज धर्मअनुसार निर्देशित छ । धर्मले यौनलाई अपराध जस्तो गरि परिभाषित गरेको छ । नेपालमा राजनीति गर्नेहरु यौनमा धेरै सतर्क हुन्छन् । विदेशमा महिलालाई साथ लिएर सँगै हिँडने बस्ने सम्बन्ध बनाउने गर्छन् । किसुनजीले अलि अलि महिलासँग त्यस्तो गर्नु भयो । अविवाहित भएर पनि उहाँले एक जना महिलालाई फर्स्ट लेडी बनाएर विदेश लैजानु भयो । तर नेपालमा सशंकित भएर गर्छन् । शेरबहादुर तामाङकै कुरा ल्याउनुस न । उनले राजीनामा नै दिनु पर्यो । मैले बोल्दा मलाई कति आलोचना गर्छन् ।
आफूले गरेको कर्मले अरुलाई हानी नपुगोस भन्ने हो । रमाएर गर्नु पर्छ । नेताहरुका अनेक कहानी नसुनिने होइन सुनिन्छ । झ्यालबाट हाम्फालेर भागेको पनि सुनिन्छ । हर्मोनको सन्तुलन ठीक छ भने महिला होस वा पुरुष एक आपसमा आकर्षित भइरहन्छ ।
मानिसहरु अलि बढी हल्लाखल्ला पनि गर्छन् । नराम्रो कुरा फैल्याउँछन् । विल क्लिन्टनको यौनकाण्ड कति चर्चामा आयो त । क्लिन्टन हेन्डसम थिए, शक्तिशाली थिए, स्वस्थ थिए । अनि उनीसँग मोनिका आकर्षित भइन् । मान्छेका दुई आँखाले प्रेम र घृणा दुवै देख्छ । विल क्लिन्टनसँग यौन सम्बन्ध राख्ने चाहना कति महिलाहरुको हुन्थ्यो होला । तर पपुलर हुन मोनिकाले उपाय रचिन । त्यस्ले मोनिकालाई राम्रो भने गरेन ।
हरके मान्छेमा राक्षसी र भगवानको रुप पनि हुन्छ । एउटै वृक्षमा अमृत पनि हुन्छ, विष पनि हुन्छ । यौन भनेको समानरुपमा सबैले पाउँदैनन् । अनि मानिसहरुले गलत कुराको प्रचार गर्छन् । चार भाले र एक पोथी छ भने चार भाले आपसमा लड्छन पोथीको लागि । तीन भालेलाई परास्त गरेर पोथीमाथि भालेले कब्जा जमाउछ । पोथीसँग समागम गर्न नपाएका तीन भालेले आलोचना गर्न थाल्छन् । मान्छे पनि त्यही हो । कुनै सुन्दर युवतीले प्रेम प्रस्ताव अस्वीकार गरिन् भने त्यो युवकले ती युवती बारे नराम्रो विचार अभिव्यक्त गर्न पछि पर्दैन ।
सबै प्राणीको यौनको मामिलामा यस्तै हो । एउटै पुरषलाई धेरै महिलाले मन पराए भने महिलाहरुबीचमा कुरा काट्ने क्रम हुन्छ । मेरै बारेमा पनि महिलाले कुरा काट्थे । किनभने मलाई धेरै महिलाहरुले मन पराउथे । सबैसँग त म सम्बन्ध राख्न सक्दिन थिएँ ।
संसारको श्रृष्टिलाई निरन्तरताका लागि मान्छे आवश्यक छ । मान्छेको निरन्तरतका लागि यौनको विकास भएको हो । यौन हराउने बित्तिकै मान्छे हराउछ । कुनै पनि कर्मले अरुलाई दुःख दिनु हुँदैन । अरुलाई दुःख दिएर आफ्नो इच्छा पूरा गर्नु हुँदैन ।
परिवेश र परिस्थितिले गर्दा अहिले पति पत्नीको आ–आफ्नो यौनसाथी हुने गर्छन् । पहिले महिलाहरु घरबाहिर निस्किन पाउँदैन थिए । अहिले महिलाहरु पनि बाहिर निस्किन्छन् कामका लागि । कतिपयका पतिपत्नी एकसाथ हुँदैनन् । आफ्नो पति वा पत्नी भए पनि कसैसँग कोही आकर्षित भयो भने ऊसँग मलाई यौन सम्पर्क गर्न मन लाग्यो भनेर सल्लाहले गर्दा हुन्छ । यो भनेको मिलेर पिज्जा खान गएजस्तै हो । भोक लाग्दा पिज्जा खाने, यौन चाहना पूरा गर्न सम्भोग गर्ने हो । बुझ्दा यो कुरा सरल छ ।
हाम्रो देशका नेताले यौन, समाज, व्यवहारबारे मैले जस्तो स्पष्ट दर्शन समाजलाई दिन सकेनन् । अनि आफै पनि रुमल्लिए । आर्थिक विकासको त कुनै खाका नै छैन । सामाजिक विकासको पनि कुनै दर्शन नभएकोेले हाम्रो मुलुकले दुःख पाएकोछ । उनीहरु आफै पनि दुःखी भएका छन् ।
राजनीति समाजको इच्छा अनुसार चल्नु पर्छ । दर्शन चाहिँ प्रकृतिको नियमअनुसार विकास हुनुपर्छ ।
हाम्रो देशको राजनीतिले मुख्य गरी अर्थतन्त्र बलियो बनाउने गरी नीति बनाउन सकेन । महिलालाई शो पिस जस्तो बनाएर चुलो चौकामा सिमित पार्ने सामाजिक थिती परिवर्तन गर्न सकेन । महिलाहरु चुलो चौकाबाट बाहिर आएर उत्पादनमा जोडिए भने अर्थतन्त्र बलियो हुन्छ । विशाल जनसंख्या भएका भारत र चीन हेर्नुहोस् । भारतमा महिला पछाडि परेका छन् । फलस्वरुप भारत पनि पछाडि छ । चीनमा महिलालाई पुरुषजस्तै अगाडि बढाइएको छ । चीन विश्वको शक्तिशाली भएको छ । भारतमा यौन गर्दा पाप लाग्न, अधर्म हुने, अपवित्र हुने मान्यता छ । चीनमा छैन । यसकारण खराब मान्यताले विकास अवरुद्ध गर्छन् भएको त्यही हो ।
बलात्कार बढी हुनुमा किताबी ज्ञान हावी हुनु हो । काम नगरी बस्ने बानीले यस्तो भएको हो । मीठो मीठो खाने, काम नगर्ने अनि यौन चाहना शरिरमा सञ्चय भएर बस्ने हुन्छ । चार्ज भएको चाहनालाई डिस्चार्ज गरेन भने दुर्घटना त भइहाल्छ । त्यही भएको हो । मन मिल्दा सेक्स गर्दा फरक पर्दैन भनिदिने हो भने मान्छेले यौनसाथी सजिलै भेट्छ । अनि बलात्कार हुँदैन ।
अहिलेको कानुनले बलात्कार कम हुँदैन । एक महिलाले चाहेमा जस्तै मै हुँ भन्ने पुरुषलाई पनि फसाउन सक्छ । माननीय, मन्त्री वा न्यायाधीश नै किन नहुन्, महिलाले चाहेमा सजिलै फसाइदिन सक्छिन् । अहिलेको कानुनले जसलाई पनि नंग्याउन सक्छ । त्यस्तो भयो भने कुनै पनि पुरुष महिला भएको ठाउँमा काम गर्न डराउँछ । त्यसले उत्पादनमा असर पार्छ । यसकारण यौन के हो ? कसरी उपभोग गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने नीति हुनु पर्छ । यौनलाई अपराध जसरी परिभाषित गर्नु हुँदैन । आपसमा मन मिल्छ भने सेक्स गरे हुन्छ भनेर सबैले सबैलाई भनिदिए हुन्छ । फरक पर्दैन । नचाहिने कुरा धेरै छोप्ने, छोप्नु पर्ने कुरा नछोप्ने गर्दा समस्या भएको हो ।
१६ वर्षदेखि यौनसाथी आवश्यक हुन्छ । आवश्यक भएपछि यौनसाथी बनाउनु पर्छ । यौन गर्न नपाएपछि मानिसहरुले मिलेर सामूहिक बलात्कार गर्छन् । विकृति बढी आउँछ । यौन खुला गर्ने तर बलात्कार गर्न नपाईने बनाउनु पर्छ । त्यसो गर्ने वित्तिकै ९० प्रतिशत बलात्कार घट्छ । त्यति गर्दा पनि कसैले कसैलाई बलात्कार गर्छ भने त्यसलाई मृत्युदण्ड दिनु पर्छ ।