कभर स्टोरी भिडियो

गढवालीहरु अंग्रेजसँग मिल्न जाँदा गोर्खालीको हार भयो (भिडियाेसहित)

गढवालीहरु अंग्रेजसँग मिल्न जाँदा गोर्खालीको हार भयो (भिडियाेसहित)

काठमाडौं । नेपाली इतिहास निकै लामो छ । अंग्रेजसँग युद्धका बेला नेपालीले गरेको योगदान अहिले निकै रोचक छन् । यसबारेमा नेपाली सेनाका पूर्वसहायक रथि एवं सैन्य इतिहासविद् डा.प्रेमसिंह बस्न्यात लामो अध्ययन र केही अनुभवसहित शृङ्खलाबद्ध रुपमा नेपाल आजसँग प्रस्तुत हुँदै आएका छन् ।

 

 विक्रम सम्वत् १८७१ र ७३ मा नेपाल र अंग्रेजबीच भएको युद्धमा नेपालीले हार बेहोरेपछि नेपालीले भोग्नुपरेका चुनौती र परिणामबारे यस भागमा डा. बस्न्यातले चर्चा गरेका छन् ।

 

त्यो समयमा नेपाली शासकले भारतीय राजाहरुसँग पनि सहयोग लिएका थिए । हातहतियार, फौज, रासनपानी ओसारपसार गर्न हात्ती, घोडा खच्चड प्रयोग हुने गरेको बस्न्यातले जानकारी दिए । 



बलभद्र कुँवरलाई नेपाली भूमि बचाएको भन्दै राष्ट्रिय विभूति बनाए पनि युद्ध हारेको तथ्य स्विकार्नु पर्ने उनको तर्क छ । हार्नुको मुख्य कारण नेपालीको एकता नभएको उनी बताउँछन् । भिमसेन थापाले बालक राजाको आड लिए । भतिजी रानीको आड लिए । भाइभारदारहरुको नाइनास्ती हुँदा हुँदै युद्धको घोषणा गरे । 

 

बस्न्यात भन्छन्, ‘पहिलो चरणमा राप्तीदेखि बिजयपुरसम्म गोर्खाली सेनाले जितेको थियो । त्यो नेपाल एकिकरणको महत्वपूर्ण घटना थियो । नलडौं भनेर निन्याउरो अनुहार लगाउँदै महाकालीतर्फ युद्ध लड्न निस्केका भक्ति थापा, चौतारिया बम शाह, बडाकाजी अमरसिंह लगायतहरुमाथि केही शंका गर्ने ठाउँ छन् ।’

 

अमरसिंह थापाले १८१५ मा षड्यन्त्र गरेर नेपाल हार्न बाध्य भएको र यसमा लजाउन पनि नहुने उनको तर्क छ । त्यस्तै त्यो भन्दाअगाडि कुमाउको अल्मोडामा बम शाह भन्ने त्यहाँको कमान्डरले षड्यन्त्र गरेको उनी दाबी गर्छन् । त्यो षड्यन्त्र गरेको शिलालेख अझैं पनि त्यहाँ टाँसेको उनी बताउँछन् ।

 

महाकाली पश्चिमका  सबै नयाँ नेपाली (कुमाउ,गढवाली) रहेको र उनीहरुमा नेपालप्रतिको माया, नेपाली भाषा र चासो नभएको हुनाले हार्नुको अर्को कारण भएको उनी बताउँछन् । त्यस्तै नेपाल सरकारले कुमाउ, गढवालीहरुलाई कर लगाउँदा उनीहरु सरकारप्रति रुष्ट बनेर अंग्रेजसँग मिलेको हुनाले गोर्खाली सेनाले हार व्यहोर्यो । त्यतिबेला पश्चिम नेपालका कुमाउ गढुवालीहरु नेपाल सरकारको गोपनीयता भङ्ग गर्दा नेपाली इलाकामा अंग्रेज प्रवेश गरेको बताउँछन् । 

 

त्यतिबेला गोर्खाली सेना अंग्रेजभन्दा हजार गुना कमजोर भएको तर हामीसँग इमान, साहस भएकाले मात्र लडाईमा होमिएको बस्न्यातले उल्लेख गरे । 

 

बेलायतीहरुले नेपालका डकुमेन्ट लिएको र हाम्रा खरदार, सुब्बाहरुलाई घुस खुवाएर सबै नेपाली इतिहास किनेको उनले बताए । 

 

नेपालीहरु पहिलेदेखि नै बिदेशी दलाल रहेको बस्न्यात स्वीकार गर्छन् । भिमसेन थापाभन्दा अगाडिका राजामा नेपालमा राष्ट्रघातीलाई काट्ने नियम भए पनि ब्रिटिस राजदूत हट्सनलाई नेपालका भएभरका इतिहास बेचेपछि राष्ट्रघाती मौलाएको उनको ठम्याई छ । नेपालको इतिहास अहिले ब्रिटिसको पुस्तकालयमा रहेको बताउँछन् । 

 

सडकका मान्छेहरु ‘कङ्गालको छोरी धनीकहाँ परी भकारी देखेर दङ्ग परी’ भनेको जस्तै हुने भएकाले देशको शासन बिग्रिएको उनको भनाइ छ । अहिलेका नेताहरु एकाएक पदमा पुग्दा उनीहरुले आफूलाई सम्हाल्न नसकेको बस्न्यात तर्क गर्छन् । 

 

युद्ध भन्दाअगाडि नेपालमा सेनालाई पेटभरी खानदिने अर्थात उसका आधारभूतआवश्यकता पूरा गरिन्थ्यो । तर भ्रष्टाचार गर्न दिने भन्ने होइन । केही हिसाबले नेपालको त्यो विगत अनुकरणीय थियो तर अहिले त्यो इतिहास पढ्ने मान्छे पनि छैनन्–बस्न्यातले भने । 

 

नेपालका शासक भनाउँदाहरुको रवैया हेर्दा फेरि गोर्खालीहरुले खुँडा खुकुरी झिक्ने बेला आइसकेको उनले बताए । 

 

घरभित्र सफा नभए आँगन सफा गरेर घरको शोभा नबढ्ने उनको दाबी छ । अहिले नेपालमा राष्ट्रघातीका लागि मृत्युदण्ड चाहिएको छ । पश्चिमाहरुले एनजिओ, आइएनजिओको नाममा नेपालको यत्रो विधि कानुन भित्रभित्रैबाट रोगले समातेजस्तै गरी कार्यान्वयन हुन नदिएको बस्न्यात ठोकुवा गर्छन् । 

 

हाम्रा न्यायाधीश, वकिलहरु त्यसपछि राजनीतिमा पश्चिमा रगत रहेको र यीनीहरुलाई छानीछानी पत्ता लगाउनपर्ने उनको बुझाइ छ ।  अहिले गृहमन्त्री रामबहादुर थापा बादल थच्चिनुको कारण भ्रष्टाचारीकै सञ्जाल हो भन्ने उनको मत छ । 

विशेष