दैलेख सदरमुकाममा पाँच स्थानमा पहिरो
दैलेख । गत वर्ष वर्षातसँग आएको पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोवास गर्दै आएका नमुना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमुना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षात्ले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा पर्न थालेको भन्दै समुदायका सबै चिन्तित भएको पव वादीले बताए ।
अहिले सिन्की गाजलीको घर पहिरोले पुरिएको छ । अन्य २४ घरका वादी समुदाय घरभित्रको सामान आफन्तको सारेका छन् । विगत तीन वर्षदेखि हरेक वर्षात्मा पहिरोको जोखिममा पर्दै आएको समुदायको लागि दिगो व्यवस्थापन अझै हुनसकेको छैन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएका कारण बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए ।
वर्षात्मा दैलेख सदरमुकामको गणेशचोकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ, घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाको पहलमा उद्धार गरिएको छ । पसलमा करिब १० लाखबराबरको क्षति भएको छ ।
नारायण नगरपालिका–१ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ । घरभित्रका सबै सामान पुरिएका छन् । घरमा कोही व्यक्ति नभएकाले सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । लगातारको वर्षात्सँगै दैलेखका विभिन्न स्थानमा पहिरो खसेपछि यातायातका साधन अवरुद्ध भएका छन् । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।
दैलेख सदरमुकाममा पाँच स्थानमा पहिरो