मुख्य समाचार

गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : आधा नबन्दै आयोजना प्रमुखको सरुवा

गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : आधा नबन्दै आयोजना प्रमुखको सरुवा

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुखका इन्जिनियर ओम शर्माको सरुवा भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना प्रमुख शर्मालाई गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थलमा आयोजनाबाट बाराको निजगढ विमानस्थल आयोजनामा सरुवा गरेको हो। आयोजना प्रमुख सरुवाको स्थानीय सर्वसाधरणदेखि उद्योगी, व्यवसायी, राजनितिक दलका नेतासम्मले विरोध गरेका छन्।

 

आधाभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा आयोजना प्रमुखको सरुवा गर्दा सन् २०१९ को जुलाईदेखि सञ्चालनमा आउने भनिएको विमानस्थलमा अन्योलता देखिएको स्थानीयहरूले बताएका छन्। प्राधिकरणको नियामवलीमा २ वर्ष अवधिमा सरुवा गर्ने भए पनि शिलान्यासदेखि नै कार्यरत रहेका प्रमुखको विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको अवस्थामा सरुवा गरिएको छ। जसको चौतर्फी विरोध भइरहेको छ।

 

स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) सञ्जिव गौतमले केही समयअघि नै आयोजना प्रमुखलाई सरुवा गर्ने चलखेल गरेका थिए। तर विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा डीजीले रोकेर प्राधिकरणमै राखेपछि स्थानीयले डीजी गौतमविरुद्ध आन्दोलन गरेका थिए। स्थानीयको आन्दोलनका बीच प्रमुखको सरुवा गरिए डीजी थप विवादित हुन सक्ने अवस्था देखिएकाले उनको सरुवा तत्कालका लागि रोकिएको थियो।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदीप अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थलमा आयोजना प्रमुखको नियमित प्रक्रियाअनुसार सरुवा भएको बताए। उनले आयोजना प्रमुख शर्माको सरुवा हुँदैमा विमानस्थल निर्माण कार्यमा कुनै प्रभाव नपर्ने र विमानस्थल तोकिएको समयमा बन्ने दाबी गरे।

 

रूपन्देही क्षेत्र नं ३ भैरहवाबाट निर्वाचित प्रदेश सांसद सन्तोष पाण्डेले आयोजना प्रमुखको सरुवाले विमानस्थल निर्माणको कार्य प्रभावित हुने बताए। उनले हालसम्मको प्रगतिलगायत सबै बुझेका प्रमुख हटाएर नयाँ आयोजना प्रमुख ल्याइँदा विमानस्थल निर्माण कार्य, मुआब्जा वितरणलगायत सबै बुझ्न महिनौं लाग्ने हुनाले तोकिएको समयभित्र कुनै पनि हालतमा विमानस्थल सञ्चालनमा नआउने दाबी गरे। - अन्नपूर्णपाेष्ट दैनिकबाट ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ओम शर्मा

विशेष