विचार

सांसद बगेको खोलामा पुल कहिले बन्ला ?

सांसद बगेको खोलामा पुल कहिले बन्ला ?

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडी खोड्पे–बझाङ सडकको ठाउँ–ठाउँमा अवरोध भएको छ । विगत केही दिनदेखि परेको वर्षाका कारण राजमार्गको सबैभन्दा बढी बाग्थलादेखि चैनपुर खण्डमा असर पुर्‍याएको छ 


केही समय भयो बझाङका पूर्वसांसद अफिलाल ओखेडा यही राजमार्गअन्तर्गत नारु गौंडा खोलामा एक यात्रुवाहक बस खोला तर्न नसकेपछि आफैँ लुगा फुकालेर खोला तर्न बाध्य भए ।

खोला तरेको केही समयपछि आफ्नो क्षणिक अनुभव सामाजिक सञ्जालमा पोखे, ‘बझाङको नारु गाैंडामा गाडी, पुल अति आवश्यक छ भनेर विभाग, मन्त्रालय संसद्सम्म पहल गरियो । तर सुनुवाइ भएन आज फेरि आफैँले भोग्नु पर्‍यो । आशा छ, छिटो सम्बोधन हुनेछ ।’ 


अहिले त्यही खोलामा पुनः ठूलो बाढी आएपछि गाडी वारपार हुने त कुरै भएन ।  ढुंगा र माटो बगेर आउँदा खोलाको बीच भागमा खोल्सा परेको छ ।


एउटा जनप्रतिनिधिले मन्त्रालयमा हारगुहार गर्दा त नबनेको पुललगायत दुर्गम भेगका त्यस्ता समस्या हजारौं जनताले ज्यान नगुमाएसम्म कसरी बन्न सक्छन् र ? लामो प्रयासपछि बजेट पास हुने त्यही बजेटमा गिद्धे नजर राखेर बचेको बजेटले गरेको विकास निर्माण कसरी गुणस्तरीय होला सोच्नु पनि व्यर्थ हो । 


जयपृथ्वी राजमार्गमा गरिएको कालोपत्रे छोटो समयमै उप्कियो । फेरि बाग्थलादेखि पिच गरिने बताइएको छ । यसका लागि पनि ठाउँ–ठाउँमा जाली, खाल्डाखुल्डी भर्ने, ४ वटा कल्भर्ट सानो पुल, ५ वटा आरसिसी पिच र नाली सफा गर्ने भन्दै सडक डिभिजन कार्यालयले ७ करोड ८० लाखबराबरको बजेट विनियोजन गरेको छ । 

 

यो करिब ७ करोड ८० लाखबराबरको विनियोजित बजेटले बाग्थलादेखि चैनपुरसम्म प्रत्येक खोलामा पुल, आरसिसी ढलान र एवान कालोपत्रे गर्न भ्याउछ । तर अझै पनि यस रकमको सदुपयोग होला र ? भन्नेमा बझाङवासी अझैँ आश्वस्त हुन सकेका छैनन् ।

 

एकल लेनको सडकमा हेभी सवारीसाधन चल्नाले दुर्घटना र क्षयीकरणको त्रास त छँदैछ । त्यसमाथि बझाङमा भइरहेको शाखा सडक विस्तारले झनै राजमार्गलाई नराम्रोसँग क्षतविक्षत बनाएको छ । 

 

अब हुने विकास निर्माणका कार्यमा बझाङलाई सुहाउँदो, पारदर्शी र गुणस्तरीय हुने गरी योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने देखिन्छ । 


 

जयपृथ्वी राजमार्ग बझाङ

विशेष