कभर स्टोरी भिडियो

१० वर्षमा उपचार भनेर नेताहरुले ५ अर्ब सके, राजसंस्थाले २५० वर्षमा आठ करोड भन्दा बढी खर्च गरेन 

बराक ओबामा आफ्नो छाता आफै बोक्छन्, बलिष्ठ रवीन्द्र अधिकारीको कोट अंगरक्षकले बोकि दिनु पर्छ

१० वर्षमा उपचार भनेर नेताहरुले ५ अर्ब सके, राजसंस्थाले २५० वर्षमा आठ करोड भन्दा बढी खर्च गरेन 

काठमाडौं । नेपालआजका नियमित भिडियो स्तम्भकार प्रा. डा. सुरेन्द्र केसीले केन्द्र सरकारले राम्रो नियमन व्यवस्थापन गर्न नसक्दा स्थानीय तहरुले लागू गरेको करहरु विवादमा परेको बताएका छन् । ‘इतिहास र अनुभूति’ भिडियो स्तम्भमा उनले यस्तो धारणा राखेका हुन् । उनले कुराकानीका क्रममा भने, ‘एक जना पहिलेका माओवादीका मन्त्रीले भन्दै थिए कि संघीयता खर्चिलो हुन्छ, कर जनताले तिर्ने हो । अनि संघीयता सफल पार्ने हो  । यस्तो बुझाइ सरकारको भएपछि जनतामाथि कर त थोपरिने नै भयो नी  ।’

 

सरकारले खर्च कम गर्ने नीति भन्दा पनि कर बढाउने नीति लिएको डा. केसीको आरोप छ । अनावश्यक विदेश भ्रमण, महंगा मोटरगाडी खरिद आदिका कारण समस्या सिर्जना भएको छ । औषधि उपचारका नाममा पैसाको खोलो बगाउने नेताहरुले जनताका लागि सिटामोलको पनि प्रबन्ध नगरेको उनको तर्क छ ।

 

काठमाडौं भनेको कचौरा जत्रो सानो जिल्ला छ । यो जिल्लाको महानगर झन सानो छ । यति सानो महानगरमा गुड्न पनि मेयरहरुले २ करोडको गाडी चढ्छन् । गतवर्ष राष्ट्रपतिले चढ्ने गाडीका विषयमा विवाद भयो । प्रचण्डकी छोरीले चढेको गाडीको पनि विरोध भयो । केसी भन्छन्, ‘गत वर्ष नै गाडी किन्ने प्रक्रिया सुरु भएको हो । मेयर आएपछि गाडी आइपुगेको मात्रै हो । मेयरज्यूले महंँगो गाडी चढ्न खोज्नु भएको होइन जस्ता भाषा मिलाइन्छ । जसरी भए पनि राज्यको दोहोनमै सबैको ध्यान गएको छ । किसानले बाख्रा बेच्दा पनि कर उठाइएको छ । त्यो करले कार किनिएको छ ।’ 

 

जताततै कर लाग्न थालेपछि आम मानिसले संघीयताको श्रापको रुपमा पनि यसलाई बुझेको पाइयो । 

 

‘हिजो यिनै नेताहरुले सिंहदरबार घर घरमा पुग्छन् भनेका थिए । अवसर र सुविधा स्थानीय तहमै प्राप्त हुने भनिएको थियो । स्रोत साधनको बाँडफाँड हुन्छ भनेर हौस्याइयो । अहिले हातमा त उल्टो परिणाम आइपरेको छ । जनताले राम्रो दिन आउला भनेर पर्खि बस्छन् । तर अहिलेसम्म त्यस्तो भएन । हिजोसम्म जनप्रतिनिधि छैनन अनि विकास भएन भनियो । तर अहिले त जनप्रतिनिधिले नै सामाजिक सुरक्षाभत्ता हजम गरेको सुनिएको छ । सरकारी पैसा आफ्नो खातामा राख्ने चलन पनि बढेको छ ।’ 

 

 केसी भन्छन्, ‘यो शैली र करको तादाम्यता मिलेको छैन । नेताहरु ढलिमली गर्ने, रुघा लाग्दा पनि विदेश जाने, उपचारका लागि विदेश जाँदा गौरब बढ्ने महशुस गरेका छन् । वीर अस्पतालमा भिआइपीका लागि बेग्लै कक्ष बनाइएको छ । त्यहाँ पाँच वर्षदेखि कोही पनि पुगेको छैन । तर प्रचण्डले पत्नीलाई वाटर थेरापीका लागि सिंगापुर लगे, कुनै क्यान्सर नै नभई रामवरण जापान गए, सुशील अमेरिका जान्थे । यस्तो त भइरहेको छ । जताततै ।’ 
 



 

महत्वपूर्ण सरकारी अस्पताल वा स्वास्थ्य प्रतिष्ठानको नेतृत्वमा आफ्ना मान्छे राख्न तछाडमछाड हुनुको कारणबारे डा. केसी भन्छन्, ‘मेसिन किन्दा कमिसन, कार्यकर्ता भर्ति, औषधि उपचारमा सेटिङ आदि कारणले त्यस्तो हुन्छ । तर सेवाको गुणस्तर वृद्धि गर्ने मामिलामा कसैलाई मतलव हुँदैन ।’ 

 

 

काठमाडौंमा सेतो छाला भएको (गोराहरु) देखेँ भने म हत्त न पत्त कुनामा लुक्छु । मेरो देशको हालत यस्तो हुँद कसरी विदेशीका अगाडि मुख देखाउनु जस्तो हुन्छ । लज्जाबोध हुन्छ । हेर्नुस त राजधानी कस्तो छ । के काठमाडौंमा स्रोत साधनको कमि भएर यस्तो भएको हो त ? केसी भन्छन्, ‘यतिका वर्ष भइसक्यो खै मेलम्ची ? खै अरुण तेस्रो , खै अपर कर्णाली, खै पश्चिम सेती ? जनतामा आशा देखाउने तर काम केही पनि नगर्ने निकम्माहरु पदमा पुगेपछि यस्तै हो ।’ 

 

विदेशीको नीति भनेको नेपालका स्रोत साधन होल्ड गरेर राख्ने मात्रै हो । यसरी उनीहरुको हातमा नेपालको सम्पदा परेपछि उनीहरुले आफै बनाउँदैनन् । हाम्रो हातबाट पनि खोसिइसकेको हुन्छ । त्यस्तो अवस्थामा नेपालीलाई सधै दुःख मात्रै भइरहन्छ । त्यही उनीहरु चाहन्छन् ।–डा. केसीको दावी छ । 

 

 

‘हामी भारतबाट १८ अर्बको विद्युत, १७८ अर्बको पेट्रोलीयम आयात गर्छौं । ३४ अर्बको धानचामल आयात गरेर उपभोग गर्ने कृषिप्रधान देशका नागरिक हौं हामी ।’ केसीले भने, ‘यहाँका मान्छे आफूलाई हिन्दु भन्छन्, पवित्र नदी बागमतीमा ढल मिसाउँछन् । बुद्धको जन्मस्थल भन्छन् भिक्षुलाई जिउँदै जलाउँछन् ।’

 

 

बीना मगर जस्तो व्यक्तिलाई जनताले जिताए भनेर जनतालाई दोष दिन मिल्दैन । डा. केसीको तर्क छ, ‘त्यस्तो विवादित व्यक्तिलाई टिकट दिनु गल्ति थियो । टिकट दिने जनता होइनन् नेता नै हुन् । यहाँ परिवारवादको विरोध हुन्छ तर प्रचण्डका छोरी, बुहारी ज्वाई सबैले राज्यबाट दोहन गरिरहेका छन् । गिरिजाप्रसाद कोइरालाले छोरीलाई उपप्रधानमन्त्री नै बनाइदिए । संसदमा दर्जनौं जोडी सांसद छन् ।’

 

 

‘बराक ओबामा आफ्नो छाता आफै बोक्छन् । हाम्रा रवीन्द्र अधिकारी युवा भएर पनि उनको कोट सेनाले बोकिदिनु पर्छ । बामपन्थी राष्ट्रपतिको जुत्ता सेनाले बोक्नु पर्छ । अयोग्य र नालायकहरुले फँडा फिजाएर बसेका छन् । ’ केसीले भने । 

 

 

‘अढाइ सय वर्षको इतिहासमा राजसंस्थाले उपचारका नाममा साढे आठ करोड जति खर्च गर्यो । त्यो पनि अनुमान मात्रै हो । राजा वीरेन्द्रले एक पटक साढे चार करोड लिएर गएका थिए । ज्ञानेन्द्रले दुई अढाइ करोड जति लगे । तर केपी ओलीले १८ करोड एक्लैले खर्च गरे । बितेका १० वर्षमा पाँच अर्बभन्दा बढी छोटे राजाहरुले उपचारका नाममा राज्यको ढुकुटी सके । राजा महाराजासँग नेताहरुको तुलना हुँदैन । ’ केसीले भने ।  हामी राणाहरुलाई राष्ट्रघाती भन्छौं । तर जंगबहादुरले नयाँ मुलुक त ल्याए त । आज हाम्रा नेताहरु भारतले सीमा मिच्दा बोल्दैनन् । 
 

Dr surendra KC प्रा. डा. सुरेन्द्र केसी ‘इतिहास र अनुभूति’

विशेष