घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नपाले
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग छिन् । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उनी खुशी भएकी हुन् । अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उनले सकिनसकी गएर भोट हालेकी हुन् । भोट हालेर फर्कने बित्तिकै उहाँलाई उच्च रक्तचापले ढाल्यो । निको बनाउन अस्पताल राखिए तर, व्यथा झन् बल्झियो ।
“लौ अब बाँचिंदैन झै लाग्या’थ्यो, अस्पतालले पनि अब सकिन्न, घरै लैजानू भनेर पठाए,” बुहारी भवानीले घटना सम्झँदै भने, “घरमै राखेर औषधिमुलो गर्यौं । अहिले शरीर फि¥यो ।” खड्गकुमारीले अर्को जुनी पाएकामा खुशी भएको ढुंगानाको परिवार आज अकस्मात् घरमै सरकार स्थानीय तहका जनप्रतिनिधि आइपुग्दा रोमाञ्चित नै भए । औषधिसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको थियो ।
“पोहर भोट हालेको हो, आज घरमै सांसद–मेयर आए, घरमै आएर सोधखोज गर्ला भन्ने त सुइँको थिएन,” वृद्धा खड्गकुमारीले दङ्ग पर्दै भने । भोट हालेकाले जितेको अनुभव समेत उनले सुनाइन् । आफ्नै स्वास्थ्यको ख्याल गर्न आएको देखेर उनी गद्गद् भइन् ।
“तपाईंहरु आउनुभयो, गजब भो बाबु, अब ओल्लार–पल्लार हिंड्न पाए हुन्थ्यो,” प्रदेश नं ३ की सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडीसामु आशावादी देखिएकी खड्गकुमारीले भनिन् ।
उनी यसो भनिरहँदा वडाध्यक्ष कृष्ण महतो उपचारको बन्दोबस्तमा थिए भने रत्ननगरका स्वास्थ्य सहायक शिवप्रसाद पौडेल र प्रयोगशाला सहायक सरोज देवकोटा चिनी र रक्तचाप जाँच्दै थिए ।
अहिले खड्गकुमारीका खुट्टा लुला भएका छन् । हिँड्डुल गर्न गा¥हो हुन्छ । रक्तचापको औषधि नियमित खान्छिन् । ह्वीलचियरको प्रतीक्षामा छिन् उनी । यताउता जाँदा परिवारले समाइदिनुपर्छ । उनलाई अस्पताल लान र लैजान बडो समस्या हुन्छ । अशक्त वृद्धवृद्धाले यसरी घरघरै उपचार पाउने हो भने सामान्य जनता धेरै खुशी हुनेछन् । यस्तो उदाहरणीय प्रयाश रत्ननगर नगरपालिकाले शुरु गरेको छ ।
रत्ननगर ५ झुवानीकै छिमेकी ९१ वर्षीय टंककुमारी रिजाल पनि बिरामी छिन् । चाउरिएका गाला उज्यालो पार्न उनलाई सकस हुन्छ । लठ्ठीको सहाराले हिँड्डुल गर्छिन् । “के हुन्छ आमा रु” स्वास्थ्यकर्मी शिवप्रसाद पौडेलले सोधे। “पेट, छाती यसै भतभत हुन्छ,” साउतीको स्वरमा उनले जवाफ दिइन् ।
नापजाँच गर्दा उहाँमा रक्तचाप र चिनीको मात्रा सामान्य देखियो । उनलाई पनि नियमित रक्तचापकै औषधि खुवाउने गरिएको बुहारी नीलकुमारी रिजाल बताउछिन् । बिरामीले थला परेकाले उहाँलाई बच्चालाई खुवाउने जस्तो लिटो बनाएर, अनि भात तरकारी मिची नरम पारेर खुवाउने गरिएको छ ।
सन्तानब्बे वर्षका वृद्ध विष्णुप्रसाद रिजाल अझै ठमठम्ती हिँड्छन् । “बेलाबेलामा रिंगटा लाग्ने भाउन्न हुने हुन्छ, दिसापिसाब सबै राम्रो छ, त्यही पनि पिसाब चाहीँ पोल्छ,” रिजालले स्थास्थ्यकर्मीसामु आफ्नो समस्या बताइदिए ।