ब्वायफ्रेन्ड त थिए तर अब के भन्नु ! (भिडियोसहित)
काठमाडौं । पूर्णकला बिसी नेपाली सांगीतिक क्षेत्रका लागि नौलो नाम रहेन । उनी अहिलेकी व्यस्त र चर्चित गायिका हुन् । महिलाहरुको महान् चाड तीज नजिकिदै छ । यसपटक मात्रै पनि उनले २०–२५ वटा तीजका गीतमा आफ्नो आवाज दिइसकेकी छन् । तीजका गीत गाउने अवसर त पूर्णकलाले पाउँछिन् तर नेपालमै बसेर तीज सेलेब्रेट गर्ने मौका अलि जुर्दैन । उनले भनिन्, ‘तीजको बेला प्रायः विदेशतिरै हुन्छु । यसपटक पनि अष्ट्रेलिया, भारत, जापानमा कार्यक्रम छ । उतै हुन्छु ।’
पूर्णकला तीज पर्वप्रति आश्था राख्छिन् । तर भोकै बसेर उनी तीज मनाउँदिनन् । उनले भनिन्, ‘अचेल चाहि तीजमा भोकै बस्दिनँ । पहिले पहिले बसेँ । प्रायः बाहिर नै हुन्छु । हेल्थका कारण पनि भोकै बस्न मिल्दैन ।’
बर्दियामा जन्मेकी पूर्णकला विद्यालय पढ्दैदेखि गीत संगीतामा समर्पित भइन् । उनको बाल्यकाल त्यति सुखद रहेन । उनी भन्छिन्, ‘मेरो बाल्यकाल बिरामी भएर नै बित्यो । जब म बिसेक भएँ अनि मेरो जीवनको नयाँ पाटो खुल्यो ।’
‘२०६५ सालमा काठमाडौं प्रवेश गरेपछि उनी दोहोरीसाँझमा गाउन थालिन् । त्यहाँ आवाज राम्रो मात्रै भएर हुँदैन । गायिकाहरुलाई हेर्न र गीत सुन्नका लागि दर्शकहरु आउनु पर्छ । नत्र काम छैन ।’ विगत सम्झिदै पूर्णकला भन्छिन्, ‘दोहोरी साँझमा म सिनियरहरुबाट हेपिएँ ।’
पूर्णकलालाई अलि अघि आफ्नै शरिरले साथ दिएन । उनकै शब्दमा भन्ने हो भने उमेर वयस्क थियो । तर कदकाँठी सानो थियो । जसका कारण उनी बालिका जस्ती देखिन्थिन् । मनमा केटाहरुले हेरिदिऊन् भन्ने लाग्दो रहेछ । तर ज्यान सानो भएकोले नजरमा परिनन् । तर उनको ध्यान करिअरमै गयो ।
माया र प्रेमबारे पूर्णकला स्पष्ट छन् । विवाह भन्दा अगाडि पनि उनका ब्वायफ्रेन्ड भए । तर उनी भन्छिन्, ‘नहुने कुरा भएन । तर अब के भन्नु ?’
पूर्णकलालाई पारिवारिक सहयोग राम्रो थियो । अहिले श्रीमानको साथ पनि उस्तै राम्रो छ । एक बच्चाकी आमा पनि भएकी छिन् पूर्णकला । आफ्नो ब्यायफ्रेन्डसँग विवाह भएन भने अरुको ब्यायफ्रेन्डसँग विवाह हुन्छ भन्ने गरिन्छ । तर पूर्णकलाले आफ्नैसँग गरिन् । ५ हजार जति गीत पनि गाइसकिन् । व्यस्त मध्येकै एक गायिका हुन् उनी ।