विराटनगरमा पाइपबाट ग्यास बाँडियो, जस लिन मेयरदेखि प्रधानमन्त्रीसम्मको हानाथाप
काठमाडौं । विराटनगरको वडा नम्बर १४ मा कृष्ण गौ सदनले बायो ग्यास उत्पादन गर्यो । गाई धेरै भएकाले ग्यास पनि बढी उत्पादन सम्भव भयो । त्यो बायो ग्यासले वरपरका केही घरमा पाइपबाट ग्यास बाँढ्न सम्भव पनि भयो । पाइपबाट ग्यास आएपछि सिलिन्डर चाहिएन ।
प्रधानमन्त्री केपी ओलीले ‘घरघरमा ग्यासको पाइप पुर्याइदिन्छु, सिलिन्डर काँधमा बोकेर हिँड्ने युग समाप्त पारिदिन्छु’ भनेको थिए । त्यो त उनले गरेनन् । तर एउटा गौशालाले आफूसँग भएको स्रोत प्रयोग गरेर ग्यास उत्पादन गर्यो । अहिले त्यो पाइपबाट ग्यास बाँडिएको कार्यक्रमबाट जस लिन मेयरदेखि प्रधानमन्त्रीसम्मको चासो बढेको छ ।
पाइपलाइनबाट ग्यास पुर्याउने काम असम्भव भने रहेनछ । गो सेवा सदनको पहलमा गाईको गोवरवाट ३ सय २० घन मिटर ग्याँस उत्पादन हुन थालेको छ । गौशाला परिसरमा डोम स्थापना गरी ग्यास स्टोर गरिएको छ । स्टोेर गरिएको ग्याँस पाइलाइनवाट घरघरमा पुु¥याइएको छ । पहिलो चरणमा ३२ घरमा त्यसपछि १ सय घरमा ग्याँस पुुर्याइएको हो । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको सहयोगमा ८४ लाख बजेटमा उक्त काम सुरु गरिएको हो । गौसालामा रहेका २ सय ५ वटा गाईवाट दैनिक २ हजार केजि गोवर उत्पादन हुुने र सोही गोवरबाट बायो ग्यास उत्पादन हुन्छ । वायो ग्यास प्लान्टबाट ग्यास वितरण सुुरु पनि भयो । घरघरमा ग्यासको पाइप जडान भएपछि यस क्षेत्रका स्थानिय पनि हर्षित छन् ।
यसरी बनेको थियो उद्घाटनको योजना
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार विराटनगर जाँदैछन् । विराटनगर आगमनको मुख्य कारकतत्व ग्याँस प्लान्ट उद्घाटन भने किमार्थ होइन । उनी कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउने तयारीमा थिए । त्यस कुराको सुईको गो सेवा सदनका सञ्चालकहरुले पाए । प्रधानमन्त्रीलाई ग्याँस प्रोजक्टको अनुगमन गराउने कुरा भयो । जिल्ला पार्टीसँग कुरा गरी प्रधानमन्त्रीको सचिवालयमा सल्लाह गर्दा अनुगमन गर्ने निर्णय भयो ।
प्रधानमन्त्रीको अनुगमनको खाका कसरी बनाउने भन्ने विषयमा गो सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालसहितको समुह जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेलको निवासमा पुग्यो । त्यहाँ बसेको केही समयपछि अनुगमन मात्र होइन, उद्घाटन नै गराउने निर्णय भयो । नरेश पोखरेलले तुरुन्त प्रधानमन्त्री सचिवालयमा फोन लगाए । समयको प्रश्न उठ्दा पोखरेलले भने, ‘अनुगमनमा आधा घण्टा लाग्थ्यो होला, अरु आधा घण्टाको समय मिलाइदिनुपर्यो । हामी एक्दमै अनौपचारिक कार्यक्रम गर्छौ । प्रधानमन्त्री सचिवालयले सकारात्मक जवाफ दिएपछि पाइपलाइनबाट घरघरमा पुगेको ग्याँस प्लान्टको उद्घाटन गर्ने निर्णय भएको थियो ।
योजना कसले ल्यायो, दुःख कसले गर्यो, ग्याँस प्लान्ट निर्माण गर्न कणकण जोड्ने काम कुन मिस्त्रीले गर्यो त्यो आफैं बुझ्नुहोला । तर रोचक प्रशंग, ग्याँस प्लान्ट बनेपछि त्यसको जस लिने प्रतिस्पर्धा चलेको छ । केही स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले विराटनगरको घरघरमा पाइपबाट ग्याँस पुगेको र चुलो बल्न थालेको समाचार बनाए । अत्यन्तै चासोका साथ उक्त समाचार पाठकहरुले पढे, दर्शकहरुले हेरे ।