खेल मुख्य समाचार

प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जापानी नागरिक ग्यातुकी कोजीलाई  नेपाल प्रवेशमा रोक लगाइएको छ । 
अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागएको हो । 


प्रशिक्षक कोजी नेपाली टोलीसँग एसियन गेम्सको लागि हाल इन्डोनेसियामा छन् । एसियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । 


विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिई नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाइएको हो । अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १ सय ५० दिन नेपाल बसिसकेको र नियमानुसार श्रम स्वीकृित नलिएकाले कोजीलाई सन् २०१८ भर नेपाल प्रवेशमा रोक लगाएको बताए । 


विभागका अनुसार पर्यटन प्रवेशाज्ञामा नेपाल बस्ने पर्यटकले वर्षमा १ सय ५० दिनमात्र यहाँ बस्न पाउँछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले कोजीलाई नेपालमा काम गर्न कानुनी समस्या रहेको बताउँदै नयाँ प्रशिक्षक चयनका लागि गृहकार्य सुरु गरेको बताए । 


सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको करार अवधि आगामी नोभेम्बरसम्म रहेको छ । नेपालले यसै महिना बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । एन्फाले बङ्गलादेशमा हुने साफ च्याम्पियनसिपसम्मका लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । 


कोजीलाई अहिले सहायक प्रशिक्षक बालगोपाल महर्जनले सहयोग गर्दै आएका छन् । साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् । 

फुटबल ग्यातुकी कोजी

विशेष