मुख्य समाचार

काठमाडाैंमा विद्युतिय यातायात खाेर्इ ?

वाम (नेकपा) को चुनावी घोषणापत्र कार्यान्वयन र अनुगमन – भाग १

काठमाडाैंमा विद्युतिय यातायात खाेर्इ ?

काठमाडौं । ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराका साथ पाँच वर्षमा देश विकास गर्नेे लक्ष्य बोकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावअघि आकर्षक घोषणापत्र सार्वजनिक गरेको थियो ।  


घोषणापत्रमा समावेश गरिएका बुँदा उसले आफ्नो सरकार छँदा नै पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । तर ०७५-०७६ को बजेट भाषणमा घोषणापत्रमा आधारित भएर कमै कार्ययोजना प्रस्तुत भए । 


तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको संयुक्त चुनावी घोषणापत्र तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले सार्वजनिक गरेका थिए ।

 

घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजनमा सेयर’ जस्तानारा र वाम एकताले गर्दा बहुमत प्राप्त गरी वर्तमान नेकपा अहिले दुई तिहाइको आडमा सत्तासीन छ   ।


आगामी दस वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३ सय ५० किमी रेलमार्ग निर्माण तथा अन्य भौतिकपूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।


यसैक्रममा नेपाल आजले नेकपाको घोषणापत्र र बजेट भाषणबीच भिन्नता, यसको कार्यान्वयनको दिशातर्फ के–कस्तो भइरहेको छ भन्नेबारे फलोअप गर्ने प्रयत्न गरेको छ  प्रस्तुत छ यसै सन्दर्भको :– भाग–१ अंश ।


वाम गठबन्धनले जारी गरेको संयुक्त घोषणापत्रको समृद्विका कार्यक्रमअन्तर्गत ६ नं. बुँदाको उपबुँदा ३ मा विद्युत् तथा ऊर्जा वृद्धि : राष्ट्रको आर्थिक समृद्धि शीर्षकमा (क) आगामी तीन वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीसाधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिनेछ भन्ने उल्लेख गरिएको छ । 


यो योजना घोषणापत्रमा मात्र सीमित हुने देखिएको छ । यो योजनाका लागि तीन वर्ष समयावधि छुट्याइएको छ । तर योजनाका लागि यो आर्थिक वर्षमा कुनै अभ्यास नै भएको छैन ।

 

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा विद्युतीय सवारीसाधन भन्ने शब्द प्रस्तुत नै भएन । वाम गठबन्धनले घोषणापत्र र समृद्धिको सपनालाई उपेक्षा गरेको भन्दै सत्तापक्षका सांसदबाटै टिप्पणीपनिभयो । 


सरकारको पछिल्लो गतिविधि र चुनावअघिको चुरीफुरी हेर्दा जनतालाई भ्रम पैदा गर्ने कामबाहेक अरू केही देखिँदैन । यदि घोषणपत्रका कार्ययोजनाहरू बाँकी समयमा गर्छु भनेर यो सरकारले दाबी नै गरेपनि त्यो सम्भव छैन । 


नेपालमा सत्ता परिवर्तन हुनासाथ अघिल्लो सरकारले लागू गरेका योजनाहरू रद्द गरी आफ्नै लयमा जाने प्रवृत्तिले पनि यी योजनाहरू प्रभावित भइरहेका छन् । वाम गठबन्धनको भब्य चुनावी जितसँगै जनतामा व्यापक आशा पनि जागिएकै हो ।


 यो आशा स्वःस्फूर्त जागेको अवश्य पनि थिएन । स्थिर सरकार नभएकै कारण देशको विकास हुन नसकेको भाष्य विगत दुई दशकदेखि जनताको कानमा प्रशस्त सुनाइएको थियो । वाम गठबन्धनले ठीक यही भाष्य पक्रेर चुनावमा स्थिर सरकारको नारा घन्काइरह्यो । 


एमाले र माओवादी केन्द्रले केवल चुनावी गठबन्धन होइन, पार्टी एकता नै गर्ने उद्घोष चुनावअघि नै गरिसकेका थिए । यो घोषणाले स्थिर सरकारको नारालाई थप विश्वसनीय तुल्याइदियो ।


आगामी भागमा हामी कार्यान्वयन हुन बाँकी सामग्री लिएर प्रस्तुत हुनेछौँ ।–सम्पादक 

 
 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणापत्र

विशेष