'म जोगी हुँ, जोगीलाई कमाउने धन्दा हुँदैन'
गौरादह (झापा) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राजनीतिक जोगी भएको बताएका छन्। गृह जिल्ला झापाको गौरादह नगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले आफूलाई कमाउने कुनै मनसाय नरहेको बताए।
उनले भने, ‘मलाई कमाउनु छैन। मौका पाएको छु काम गरेर देखाउँछु। जोगीलाई कमाउने धन्दा हुँदैन। म पनि राजनीतिक जोगी हुँ।’
आफ्नो नेतृत्वको सरकार विकासको भिजन बोकेको सरकार भएको उनले दाबी गरे। उनले भने, ‘नेपाललाई समृद्ध बनाउने अभियानमा म लागिपरेको छु। मैले ढाँट छलको राजनीति गर्नु परेको छैन, गर्दिन।’
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीबाट काम गर्नका लागि भरपूर सहयोग रहेको बताए। उनले आधुनिक कृषि प्रणालीमा जोड दिए। प्रम ओलीले भने, ‘अब बाँझा खेत जोतिनुपर्छ। आधुनिक कृषि प्रणाली अवलम्बन गरिनु पर्छ।’
विदेशमा नेपालले जैविक उत्पादन पठाओस् भनेर मानिसहरु पर्खेर बसिरहेको उनले बताए। ओलीले भने, ‘अब हाम्रा उत्पादन जैविक हुनुपर्छ।’
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवक कर्मचारीलाई जनतालाई दु:ख नदिन आग्रह गरे। बुधबार नै ओलीले झापाको कमल गाउँपालिकामा ५० शैयाको आयुर्वेद अस्पतालको पनि शिलान्यास गरे।
केपी शर्मा ओली झापा जोगी