महर्जन कार्यवाहक प्रशिक्षक
काठमाडौं । अखिल नेपाल फूटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ ।
एन्फाको बुधबार बसेको आपत्काली बैठकले नेपाली राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई सो जिम्मेवारी दिइएको प्रवक्ता किरण राईले जानकारी दिए ।
यही भदौ १९ गतेदेखि हुने साफ च्याम्पियनसीप प्रतियोगिताको टोली चयन गर्नुका साथै प्रशिक्षण गराउनुपर्ने भएकाले महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको उनले बताए ।
पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका कोजीलाई सन् २०१८ मा १ सय ५० दिन नेपाल बसिरहेका कोजीलाई अध्यागमन विभागले केही समयअघि २०१८ भर नेपाल प्रवेश गर्न रोक लगाएको थियो । अठारौँ एसियन गेम्समा सहभागी हुन इन्डोनेसिया गएका उनी त्यहीँबाटै जापान गएका छन् ।
साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।