आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै
काठमाडौं। मुस्लिम सामुदायहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) आज धुमधामका साथ देशभर मनाइँदै छ।
इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिनाको १० तारिख अर्थात आजबाट यो पर्व मनाइने गरिन्छ। बकर इदको दिन आज नमाजका लागि स्थानीय मस्जिदहरुमा समय तोकिएको छ।
इदुल फित्र (इद) पर्वको ठिक ७० दिनपछि सुरु हुने बकर इद पर्व ३ दिनसम्म मनाउने गरिन्छ। आजको दिन बिहानै नुहाइधुवाई गरेर सफा लुगा लगाएर इदगाह (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा सामूहिक रुपमा नमाज पढिन्छ। सो पश्चात् एकआपसमा अंगालो हालेर बकर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरिन्छ।
बकर इदको नमाजपछि पशुचौपायाको बलि (कुर्बानी) दिने गरिन्छ। कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ। एक भाग आफ्ना घर परिवारका लागि अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एवम् असक्षम मानिस लागि छुट्याउनु पर्ने धार्मिक किम्वदन्ती छ। यो पर्वमा कोही पनि मासु खानबाट वन्चित नहुन् भन्ने सामाजिक परम्परा रहिआएको छ।
अल्लाहको आदेशमा इब्राहिमले आफ्नो प्यारो छोरा इस्माइलको बलि दिन तयार भएको सम्झनामा यो पर्व मनाईन्छ। अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो को हो, त्यसको कुर्बानी दिनुपर्छ भनेपछि उनले आफ्नो छोरा इस्माइल अलैहस्लामलाई कुर्बानी दिन तयार भएका थिए।
इब्राहिमले आँखामा पट्टी बाँधेर आफ्नो छोरा इस्माइलको कुर्बानी दिने क्रममा अकस्मात छोराको ठाउँमा दुम्बा (मरुभुमिमा पाइने भेडा) कुर्बानी भएको थियो। पछि आँखा खोल्दा कुर्बानी छोराको नभएर भेडाको भएको थियो। सोही घटनाको सम्झनामा यो पर्व मनाइने गरेको मुस्लिम धर्मगुरु बताउँछन्।
पर्वको अवसरमा आज ३ वटा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिदा दिनेमा ७ वटा प्रदेशमध्ये प्रदेश नम्बर एक, दुई र पाँच रहेका छन्।
बकर इदको अवसरमा देशभर बिदा दिनुपर्ने मुस्लिम संघसंस्थाले माग गर्दै आएपनि केन्द्र सरकारले त्यसको कुनै सुनुवाइ नगर्दा प्रदेश सरकारले मागलाई सम्बोधन गर्दै बिदा दिएका हुन्।
मुस्लिम सामुदाय